नेपालगञ्जबासीले गर्मीमा राहत पाउने भए, पाँच मेगावाट विद्युत थप



गोबिन्द शर्मा

बाँके, बैशाख १५ गते । नेपाल सरकारले नेपालगञ्जस्थित नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रलाई राष्ट्रिय प्रशारण लाईनबाट पाँच मेगावाट विद्युत उपलब्ध गराउने निर्णय गरेको छ ।

नेपालकै सबैभन्दा बढि गर्मी हुने शहरहरु मध्येको नेपालगञ्जमा राष्ट्रिय प्रशारण लाईनबाट विद्युत प्राप्त नभएपछि नेपालगञ्जबासी आन्दोलनमा रहेको अवस्थामा सरकारले पाँच मेगावाट विद्युत उपलब्ध गराउने निर्णय बुधबार गरेको हो ।

नेपालगञ्जमा भारतको नानपाराबाट पाँच मेगावाट विद्युत प्राप्त हुने गरी ४० बर्ष पुरानो सम्झौता छ । हाल नेपालगञ्ज क्षेत्रको माग करिब २० मेगावाट रहेकोमा भारतबाट करिब १० मेगावाट मात्र विद्युत प्राप्त हँुदै आएको छ ।

नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख उमेश झाले  
संरचना व्यवस्थापन गरी बिहिवारबाट राष्ट्रिय प्रशारणबाट प्राप्त हुने विद्युत जोडिने बताउनुभयो । वितरण केन्द्र प्रमुख झाले भने तीन मेगावट मात्रै विद्युत प्राप्त हुने जानकारी आएको बताउनुभयो । तर नेपालगञ्जमा थप विद्युतका लागि आन्दोलनरत अन्तर पार्टी सञ्जालका तर्फबाट नेकपा एमाले बाँकेका सचिव रत्न खत्रीले नेपालगञ्जलाई राष्ट्रिय प्रशारणबाट पाँच मेगावाट विद्युत प्राप्त हुने निर्णय भएको बताउनुभयो । उहाँले वितरण केन्द्र प्रमुख झाले कार्यालयमा तीन र ७.५ मेगावाट विद्युत जोड्नका लागि मात्रै उपकरण भएको बताएपछि आफुहरु थप परामर्शमा रहेको बताउनुभयो । गतबर्ष पाँच मेगावाट जोडिएकोमा यसबर्ष पनि पाँच मेगावाट जोड्न समस्या नहुने उहाँको तर्क छ ।

यसअघि सांसद दलबहादुर सुनारसहित नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ सहितको टोलीले बुधबार नै उर्जामन्त्री टोपबहादुर रायमाझीलाई भेट गरी राष्ट्रिय प्रशारणबाट विद्युत उपलब्ध
गराउन माग गरेको थियो । यसैबीच वितरण केन्द्र प्रमुख झाले तीन मेगावाट विद्युत थप भएपछि अहिलेको लोड रहेको अवस्स्थामा मध्यरातीको लोडसेडिङ हटाइने बताउनुभएको
छ । हाल नेपालगञ्जमा दैनिक नौं घण्टाको लोडसेडिङ छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना