हत्याको पुनः अनुसन्धान गर्न माग

अविनाश चौधरी
धनगढी, वैशाख १४ गते । धनगढीका ओमप्रकाश पन्त हत्या घटनाको पुनः छानविन गर्न मृतकका आफन्तले माग गरेका छन् ।
हत्या भएको तीन वर्ष बित्दा समेत प्रहरीले हत्यारा पक्राउ गर्न नसकेको गुनासो गर्दै सुक्ष्म तरिकाले पुनः अनुसन्धान गर्न माग गरेका हुन । २०६९ मङ्सिर २५ गते राति उत्तरबेहडीमा घाँटी रेटेर पन्तको हत्या भएको थियो ।
प्रहरीले घटनाको फितलो अनुसन्धान गरेका कारण दोषीलाई पत्ता लगाउन नसकेको मङ्गलबार पत्रकार सम्मेलन गरेर मृतकका बुवा श्रीकृष्ण पन्तले बताउनुभयो । उहाँले दोषी पक्राउ नपर्दा आफूहरुको ज्यान जोखिममा परेपछि उत्तरबेहडीको घरबार बिक्री गरेर अन्यत्र बसाई सर्न बाध्य भएको जनाउनुभयो ।
प्रहरीले घटना लगत्तै र पछि समेत अनुसन्धान गरे पनि मृतकलाई नै दोषी बनाउने गरी अनुसन्धान भएको पीडित परिवारको गुनासो छ । घाँटीमा रोपिएको फलामे डण्डी, घटना स्थलमा भेटिएको हाते पञ्जा र त्यहाँ छोडिएका जुत्ता, चप्पलको सुक्ष्म अध्ययन नगरी प्रहरीले अनुसन्धानको फरक मुचुल्का बनाएको पीडित परिवारको आरोप छ ।
‘त्यो बेला घटना स्थलमा भएका बस्तुहरुको सुक्ष्म अध्ययन गरेको भए प्रहरी दोषीसम्म सजिलै पुग्न सक्थ्यौं’, कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक समेत रहनु भएका पन्तले भन्नुभयो–‘तर, सबुत, प्रमाण नष्ट भइसकेको बेला हत्या नभई ओमप्रकाशले आत्महत्या गरेको भन्ने संकेततर्फ प्रहरी अनुसन्धान केन्द्रित भएको देखियो ।’
उहाँले प्रहरीको प्रारम्भिक अनुसन्धान ठोस रुपमा नहुँदा दोषी छेउछाउमै घुमफिर गरिरहेको उल्लेख गर्नुभयो । पोष्टमार्टम रिपोर्टमा समेत मृतकको घाँटीमा धारिलो हतियार प्रयोग गरिएको उल्लेख भए पनि प्रहरीले झारो टार्ने गरी अनुसन्धान गरेर घटनालाई सामसुम पार्न खोजेको पीडित परिवारको आरोप छ ।
सुदूरपश्चिममा आउने सबै प्रहरी प्रमुखहरुलाई घटनाको सुक्ष्म अध्ययनका लागि आग्रह गर्दा आश्वसन मात्रै पाएको तर अनुसन्धान नभएको पीडित परिवारको गुनासो छ । उनीहरुले वैज्ञानिक र सुक्ष्म तरिकाले घटनाको अनुसन्धान गर्न माग गरेका छन् ।
घटना हुनु भन्दा अगाडि छिमेकीसंग जग्गाको सीमानामा तारबार लगाइएको विषयमा विवाद भएकाले सोही रिसइबी हत्याको कारण हुन सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘छिमेकीले हाम्रो जग्गा मिचेर तारबार लगाएपछि छोरा ओमप्रकाशले त्यो फालेको थियो । त्यहि घटनालाई लिएर २०÷२५ को समूहमा आएकाहरुले मेरो श्रीमतीलाई कुटपिट समेत गरे ।’
हत्या गर्ने व्यक्तिलाई सबै छिमेकीले चिनेको तर, डरले कसैले पनि भन्न नसकेको पन्तले दावी गर्नुभयो । उहाँले शङ्कास्पद व्यक्तिलाई आफूले चिनाउँदा समेत प्रहरीले पक्राउ गर्नमा आनाकानी गरेको आरोप लगाउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना