• ६ चैत २०८०, मङ्गलबार

भारत पाँचौँ ठूलो अर्थतन्त्र

blog

नयाँदिल्ली (भारत), भदौ २० गते  । भारत विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बनेको दाबी गरिएको छ । स्टेट बैङ्क अफ इन्डिया (एसबीआई)ले शनिबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले सन् २०२१ डिसेम्बरमै भारतको अर्थतन्त्रको आकार बेलायतको भन्दा ठूलो भएको जनाएको हो । 

यो प्रतिवेदनले सन् २०२९ सम्ममा भारत विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण पनि गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पनि अहिले भारतको अर्थतन्त्र अमेरिका, चीन, जापान र जर्मनीभन्दा पछि रहेको जनाएको छ । “आईएमएफको प्रक्षेपणले डलरमा भारतको अर्थतन्त्र बेलायतको अर्थतन्त्रभन्दा ठूलो भइसकेको छ । जुन अमेरिका, चीन, जापान र जर्मनीको पछाडि छ । एक दशकअघि भारत ठूलो अर्थतन्त्रको सूचीमा ११औँ स्थानमा थियो,” आईएमएफको प्रतिवेदनमा भनिएको छ ।

चीनलगायत अन्य विकसित मुलुकको आर्थिक वृद्धिदरको तुलनामा भारतको अर्थतन्त्रको वृद्धिदर उच्च रहेको विभिन्न प्रतिवेदनले औँल्याएका छन् । अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभ्लप्मेन्ट (ओईसीडी)को त्रैमासिक प्रतिवेदनअनुसार २०२२ अप्रिल–जुनको आर्थिक वृद्धिदर चीनको ०.४ प्रतिशत, जर्मनीको १.७ प्रतिशत, अमेरिकाको १.७ प्रतिशत, फ्रान्सको ४.२ प्रतिशत, इटालीको ४.६ प्रतिशत र क्यानडाको ४.८ प्रतिशत छ । जब कि भारतको आर्थिक वृद्धिदर यो आर्थिक वर्षको पहिलो चौमासिकमा १३.५ प्रतिशत रहेको भारतीय संस्थाहरूको दाबी छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार २०२२–२३ मा भारतको अर्थतन्त्र ७.४ प्रतिशतले बढ्छ । 

भारतीय वित्त सचिव टीभी सोमानाथनले बुधबार यो आर्थिक वर्ष भारतको आर्थिक वृद्धिदर ७–७.५ प्रतिशत रहने दाबी गर्नुभएको थियो । यो वृद्धिदर कायम रहे भारतको अर्थतन्त्रले फड्को मार्ने बताइएको छ ।

७–७.५ प्रतिशतको आर्थिक वृद्धिदरले भारतलाई सन् २०४७ सम्ममा माथिल्लो मध्यम आय भएको मुलुकमा पु-याउनेछ । उच्च आय भएको मुलुकको सूचीमा पु-याउन वार्षिक आर्थिक वृद्धिदर ८–८.५ प्रतिशत हुनुपर्ने भारतीय प्रधानमन्त्रीका आर्थिक सल्लाहकार परिषद्का अध्यक्ष विवेक डेब्रोएले बताउनुभयो । ७–७.५ प्रतिशतकै वृद्धिदरले पनि भारतको प्रतिव्यक्ति आय सन् २०४७ सम्ममा १० हजार डलर पुग्ने उहाँले बताउनुभयो ।   एजेन्सीहरू