• ६ चैत २०८०, मङ्गलबार

सेती प्रादेशिक अस्पतालमै मिर्गौला प्रत्यारोपण हुने

blog

प्रकाशविक्रम शाह

धनगढी, भदौ १९ गते । सेती प्रादेशिक अस्पताल धनगढीमा आगामी एक वर्षभित्र मिर्गौला प्रत्यारोपण सेवा सुचारु हुनेभएको छ । एक बर्षभित्र मिर्गौला प्रत्यारोपण हुने व्यवस्था मिलाउन आइतबार एक कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र सेती प्रादेशिक अस्पतालबीच सम्झौता भएको हो ।

सेती प्रादेशिक अस्पताल धनगढीबाटै मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाउन गरिएको सम्झौतापत्रमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको तर्फबाट कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र सेती प्रादेशिक अस्पतालका तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले हस्ताक्षर गर्नुभएको छ ।  

धनगढीमा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आयोजना र सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहकार्यमा आयोजित मस्तिष्क मृत्यु (ब्रेन डेथ) बाट हुने अङ्गदान र प्रत्यारोपणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो सम्झौता गरिएको हो । 

हस्ताक्षर कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा प्रदेश सभा सदस्य पूर्णा जोशी, सङ्घीय सरकारका पूर्व मन्त्री रमेश लेखक लगायतको उपस्थिति थियो । 

सो अवसरमा बोल्दै सामाजिक विकासमन्त्री बोहराले सेती अस्पतालमा अङ्गदान र प्रत्यारोपणको व्यवस्था गर्न प्रदेश सरकारले विशेष योजना सहितको बजेट उपलब्ध गराउने बताउनुभयो । 

महिलाले मात्र मिर्गौला दान गर्ने परम्परा तोड्न विशेष चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने उहाँको भनाइ छ ।  

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अहिलेसम्म भएको मिर्गौला प्रत्यारोपणमा ८० प्रतिशत मिर्गौला महिलाले दिएको र ८० प्रतिशत मिर्गौला ग्रहणकर्ता पुरुष भएको चर्चा गर्दै मिर्गौला दानमा एकतर्फी लैङ्गिक शोषण भएको बताउनुभयो । 

नेपालको कानुनमा अंगदान वा मिर्गौला दानमा कुनै समस्या छैन तर पुरुषले आफ्नै श्रीमती, छोरी, आमालाई समेत मिर्गौला दिन नमानेको तथ्याङ्कले देखाएको उहाँले बताउनुभयो । “मान्छेको मृत्यु हुँदा उसका दुई मिर्गौला, दुई फोक्सो, मुटु, कलेजो, सानो आन्द्रा, प्याङ्क्रियाज गरेर आठ वटा अङ्ग काम लाग्ने भएकाले ती अङ्ग खेर जान नदिनतर्फ पनि सचेत हुनुपर्छ” उहाँले भन्नुभयो ।  

सो अवसरमा डा. कल्पना श्रेष्ठ  र डा. आरती राईले मिर्गौला रोग कसरी लाग्छ र रोग लागिसकेपछि सरकारले दिने सेवा सुविधाबारे जानकारी दिनुभयो । कार्यक्रममा मन्त्री बोहरा, प्रदेश सभा सदस्य जोशी लगायतले मृत्युपछि अङ्गदान गर्ने घोषणा गर्नुभयो ।