• ६ चैत २०८०, मङ्गलबार

भलिबल संघको अध्यक्षमा चन्दको उम्मेदवारी

blog

जितेन्द्रबहादुर चन्द ।

काठमाडौं, भदौ १९ गते । नेपाल भलिबल संघको अध्यक्ष पदका लागि जितेन्द्रबहादुर चन्दले उम्मेदवारी घोषणा गर्नुभएको छ । संघको महासचिव समेत रहनुभएका चन्दले आइतबार संघको यही भदौ २२ गते हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको हो ।

एक दशकदेखि संघको महासचिव रहनुभएका चन्दले भलिबल खेलको विकासका लागि १४ वटा एजेन्डा समेत अगाडि सार्नुभएको छ । चन्दको एजेन्डामा स्थानीय तह, जिल्ला, प्रदेशदेखि केन्द्रसम्म रहेका संघलाई व्यवस्थित गर्ने, भौतिक पूर्वाधार, ग्रास रुट कार्यक्रम, विद्यालय भलिबल कमिसनलाई सक्रिय बनाउने, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र आयोजना, वार्षिक क्यालेन्डर सहितको कार्यक्रम जस्ता विषय समावेश छ ।


घोषणा सभामा चन्दले आफुले इमान्दारी पूर्वक भलिबल खेलको विकासमा लागिपर्ने प्रतिबद्धता समेत जनाउनुभयो । उहाँले आफुले अगाडि सारेको एजेन्डा पूरा गरेर छाड्ने पनि बताउनुभयो । पूर्व खेलाडी समेत रहनुभएका चन्द सन् १९९५ देखि २००६ सम्म राष्ट्रिय भलिबल टोलीमा हुनुहुन्थ्यो ।

उहाँ २०६८ सालमा महासचिवमा निर्वाचित हुनुभएको थियो । चन्दको उम्मेदवारी घोषणा कार्यक्रममा संघका ३३ सदस्यीय कार्यसमिति सदस्यमध्ये १७ जना सदस्यहरु उपस्थित थिए । चन्दको समूहबाट आइतबार नै महासचिवमा रोशन श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । 

संघको अध्यक्ष पदमा यसअघि उपाध्यक्ष निरोज मास्केले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । मास्केको समूहबाट सचिव मनवीर छन्त्यालले यसअघिनै महासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको थियो । यसैगरी यसअघि सामाजिक सञ्जालमार्फत अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएकी इन्दिरा निरौलाले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ ।