पूर्व प्रधानमन्त्री अधिकारीकोे सत्रौँ स्मृति दिवस

काठमाडौँ,  वैशाख १३ गते  । प्रथम जननिर्वाचित वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको १७ औँ स्मृति दिवसमा आज स्वर्गीय अधिकारीको योगदानको स्मरण गरिएको छ । सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अधिकारीको सालिकमा माल्यार्पण गर्नुभयो भने विभिन्न वामपन्थी नेताले उहाँले वाम प्रजातान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको योगदानको चर्चा गर्नु भयो ।

प्रधानमन्त्री ओलीले नेता अधिकारीले सदैव नेपाल र नेपालीको भलोका लागि काम गरेको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलन यहाँसम्म आइपुग्नुमा उहाँको भूमिका अविस्मरणीय रहेको बताउनुभयो । ओलीले भन्नुभयो, “देशको इतिहासमा अधिकारीको नाम छुट्नु हुँदैन । छुट्न सक्दैन ।”

एमालेका नेता माधवकुमार नेपालले अधिकारीको नेतृत्वमा तत्कालीन माक्र्सवादी र माले एकीकृत भई आजको एमाले बनेको र उहाँको योगदान कसैले भुल्न नसक्ने बताउनुभयो । यस्तै एमालेका उपाध्यक्ष वामदेव गौतम, एमाओवादीका नेता अमिक शेरचन, प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारीलगायतले पनि स्वर्गीय अधिकारीको योगदानबारे बोल्दै उहाँको सम्मानका लागि सबै कम्युनिस्ट एक भई संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

विसं १९७७ मा जन्मनुभएका पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का पूर्व अध्यक्ष अधिकारीको २०५६ वैशाख १३ गते निधन भएको थियो । उहाँ २०४७ मा पार्टी एकीकृत भएपछिको पहिलो अध्यक्ष हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा एमालेले २०५१ सालको मध्यावधि निर्वाचनमा संसद्मा ठूलो दलको हैसियत पाएपछि बनेको नौ महिने सरकार आफ्नो गाउँ आफैँ बनाउँ जस्ता कार्यक्रमबाट लोकप्रिय बनेको थियो ।

उहाँको स्मृतिमा आजै प्रतिष्ठानले प्रमुख दलका शीर्ष नेताको उपस्थितिमा नयाँ संविधान कार्यान्वयन र चुनौती विषयक विचारगोष्ठीको पनि आयोजना गरेको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना