• ६ चैत २०८०, मङ्गलबार

विद्यार्थीको झोला कति किलो होला ?

blog

हामी सामान्य अड्कल गरौँ त ? एउटा सानो विद्यालय जाने बच्चाले बोकेको किताबको झोला कति किलोसम्मको वजनको होला ? हामीलाई लाग्ला दुई÷चार किलो तर होइन, अहिले बालबालिकाले बोक्ने झोलाको वजन नौ केजीसम्म भएको पाइएको छ । उमेरअनुसार झोलाको तौल कति हुनुपर्ने भन्ने नेपालका कुनै पनि विद्यालयको मापदण्ड नहुँदा सानै उमेरमा बालबालिका विभिन्न खाले मनोरोगको समस्यासँगै स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट समेत पीडित हुने देखिएको छ ।

यस्तो विषयको सबैतिरबाट विरोध पनि भइरहेको छ । विशेष गरी गाउँघरतिरका दुर्गम भेगका बालबालिका बिहानै गह्रँगो भोला बोकेर लामो बाटो विद्यालय जाने गर्छन् । उनीहरूको अवस्था विद्यालय पुग्दा र घर फर्किंदा ज्यादै नै पीडादायी हुने गर्छ । 

हामी सूचना प्रविधिको युगमा छौँ तर त्यसको व्यावहारिक पालना कसरी गरिरहेका छौँ भन्नेमा अहिले विशेष गरी अभिभावक र शिक्षकले ध्यान दिनुपर्ने बेला आएको छ । कुरा हो, बालबालिकाले  शिक्षा हासिल गर्ने क्रममा भोगेका पीडा र समस्याको बारेमा । 

अहिले ससाना हाम्रा भविष्यका कर्णदार बालबालिका स्कुल जाने भन्नासाथ नै हच्किन्छन् । सकभर केही न केही बहाना बनाएर स्कुल जान नपरे हुन्थ्यो कि जस्तो गर्छन् । आखिर बालबालिका किन स्कुल जान चाहँदैनन् त भन्नेबारे अभिभावकका साथै शिक्षा क्षेत्रका मानिसले नै बुझ्नु आवश्यक छ । जुन बालबालिका कोरोनाका समयमा घरमै अनलाइनबाट पढ्न बरु रुचि देखाए ति बालबालिका अब स्कुल खुलेपछि जान नै हिच्किचाए । उनीहरूको धेरै मनोविज्ञान बुझ्दा आफूभन्दा गह्रौँ भारीका  किताब कपी बोकेर  स्कुल जानु पर्ने बाध्यता  रहेछ । 

आफूभन्दा गह्रौँ भारी बोकेर स्कुल जाँदा जाँदा नै बालबालिका थकित भइसकेका हुन्छन् । अनि थकान शरीर लिएर पढ्नुपर्ने बाध्यता एकातिर छ । बालबालिकाले बोक्ने विद्यालयको झोलाको  तौल नै नौ–१० केजीसम्मको हुन्छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार बालबालिकाको झोलाको तौल बच्चाको तौलको १० प्रतिशत मात्र हुनुपर्ने मान्यता छ तर नेपालमा कहीँ कतै पनि यो मान्यता लागू भएको पाइँदैन । यस्ता भारी बोकर हिँड्नु पर्दा बालबालिकाको मानसिक स्वास्थ्यमा समेत असर पर्ने चिकित्सक बताउँछन् । 

वरिष्ठ बाल मनोचिकित्सक डा. राजु काफ्लेका अनुसार ससाना बालबालिकालाई यसरी किताबको भारी बोकाउँदा उनीहरूको शरीरको बनावट बिग्रन सक्ने, गर्धनको समस्या, ढाड दुख्ने समस्या आउने र बालबालिकालाई मनोवैज्ञानिक असर परेर पढ्नप्रति फोबिया हुनेजस्ता समस्या देखिन सक्ने बताउँछन् । 

अहिले केही निजी विद्यालयले ससाना बालबालिकालाई मानसिक तनाव नभई पढाइप्रति आकर्षण गर्नका लागि भए पनि स्कुलमै किताब कपी राख्ने, खेलेर नै पढ्न सिकाउने । कम्प्युटरबाट पढ्न सिकाउने प्रयास सुरु गरेका छन् तर त्यस्ता विद्यालय औँलामा गन्न सकिने मात्र छन् । नेपालजस्तो भौगोलिक विकटता भएका ठाउँमा त झन् बालबालिका घन्टौँ हिँडेर स्कुल जानुपर्ने हुन सक्छ । यस्तो अवस्थामा १० केजीसम्ममा गह्रौँ झोला बोकेर बालबालिका स्कुल जान बाध्य छन् । शरीर हल्का भए पो पढाइमा ध्यान जान्छ त । शरीर नै थकित भएपछि कसरी पढ्न मन लाग्छ र । कतिपय बालबालिकाका अभिभावक आफैँले नै बच्चा नथाकून् भनेर कति भ्याइनभाइ आफैँ विद्यालय पु¥याउँछन् । सरकारले कक्षा १ देखि ५ सम्म पाठ्यक्रममा अनिवार्य पाँच विषय छुट्याएको छ । 

निजीमा अतिरिक्त क्रियाकलापले विषय थप हुन्छ । जसले विद्यार्थीलाई किताब कापीको बोझ थपिएको छ । हाम्रो शैक्षिक सिकाइ पुरानै शैलीको भएकाले पनि यसमा सुधार हुनु आवश्यक छ । अहिलेको विज्ञान र प्रविधिको यो युगमा  प्रविधिलाई नै  किताबको विकल्प  बनाउनेतर्फ अब सोच्नै पर्ने बेला आएको छ । यो कुरामा सुधार नहुँदा बालबालिकालाई पढाइप्रति वितृष्णा हुन सक्छ । त्यसको असर बालबालिकाको पढाइमा पर्छ र नतिजा पनि राम्रो आउन सक्दैन । यसको लागि विशेष मापदण्ड बनाएर बालबालिकालाई सहज हुने वातावरण बनाउनुपर्छ ।