आगलागीले दर्जनभन्दा बढी पसलमा क्षति

अविनाश चौधरी
धनगढी, वैशाख १२ गते । कैलालीको टीकापुरमा आइतबार दिउँसो आगलागी भएको छ । अस्पताल लाईनको खड्क चौकमा रहेको बाजुरा कटेजमा लागेको आगो हावाका कारण थप अरु पसलमा सल्केको थियो ।
    आगलागीबाट बाजुरा कटेज, ठकुल्ला ट्रेडर्स, सन्तोष सेकुवा, न्यू भिजन कटेज, न्यू कमल बाकस उद्योग, बजगाइँ होटल लगायत एक दर्जन भन्दा बढी पसलमा क्षति पुगेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ । बाजुरा कटेजमा विद्युत सट भएर आगो लागेको हुन सक्ने प्रहरी अनुमान छ । यद्यपि, आगलागीको कारण खुल्न सकेको छैन । बाजुरा र न्यू भिजन कटेज पूर्ण रुपमा जलेको प्रहरीले जानकारी दिएको छ ।
    आगोलाई स्थानीबासी, टीकापुर नगरपालिकाको दमकल, सुरक्षाकर्मी लगायतको प्रयासमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट पीडितहरुले दावी गरे अनुसार आठ लाख ५५ हजार रुपिया बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
    केहि दिन अगाडि कैलालीकै अत्तरियामा बजारमा पनि आगलागी हुँदा तीन करोड भन्दा बढी रुपिया बराबरको क्षति भएको थियो । गर्मी याममा आगलागीका घटना बढी हुने गरेकाले सजगता अपनाउन सरोकारवालाले आग्रह गर्दै आएका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना