• ८ वैशाख २०८१, शनिबार

‘निष्पक्ष निर्वाचनको व्यवस्था मिलाइएको छ’

blog

काठमाडौँ, भदौ १९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस नेतृत्वको सरकारले आगामी निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै व्यवस्था मिलाइसकेको बताउनुुभएको छ । 

सङ्घीय तथा प्रदेशको निर्वाचनमा प्रजातन्त्रवादी चिकित्सकको भूमिका विषयमा शनिबार आयोजित अन्तक्र्रियामा प्रधानमन्त्री देउवाले नेपालको स्वास्थ्य सेवालाई विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्नेगरी अघि बढाउन आगामी निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्व सरकार आवश्यक भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “चिकित्सकको सेवा र पेसालाई थप मर्यादित, गुणस्तरीय तथा व्यवस्थित बनाउन सरोकारवालाबीच सहकार्य एवं संवाद जरुरी छ ।” मुलुकको चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवालाई अघि बढाउने नीति तथा कानुन तर्जुमा गर्दा चिकित्सा क्षेत्रका विज्ञहरूको सल्लाह सुझाव प्राथमिकतामा राखिने बताउँदै प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवालाई आगामी दिनमा थप सहज, गुणस्तरीय र बढीभन्दा बढी जनताको पहुँचमा पु-याई स्वदेशमै सबै किसिमका रोगको निदान तथा उपचार गर्ने प्रणाली विकास गर्न सरकार लागिरहेको बताउनुभयो । 

स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकताको विषय भएको र संविधानले स्वास्थ्यको हकलाई मौलिक हकअन्तर्गत समावेश गरेको हुँदा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता गरेको उहाँले बताउनुभयो ।  उहाँले सर्वसाधारण नागरिकको जीवनरक्षाका निम्ति अहोरात्र खटिने चिकित्सकले समाज परिवर्तन  र विकासका निम्ति पनि ठूलो योगदान पु-याएको बताउनुभयो । 

कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री सशाङ्क कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा चिकित्सकले अहम् भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले चिकित्सकले गरिब र निमुखा व्यक्तिको उपचार गर्नेमात्र नभई, प्रजातान्त्रिक मुलुक निर्माणमा पनि योगदान पु-याउँदै आएको बताउनुभयो । 

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चिकित्सकको काँधमा मुलुकको स्वास्थ्य अवस्थामा सुधारका साथसाथै नागरिक हकको स्थापना र रक्षा गर्न पनि उत्तिकै जिम्मेवारी रहेको बताउनुुभयो । 

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन कार्कीले आसन्न सङ्घीय र प्रदेशको निर्वाचनमा प्रजातान्त्रिक शक्तिलाई विजय गराउने अभियानमा लाग्न सबै चिकित्सकलाई आग्रह गर्नुुभयो ।