नेपालको विपद व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहयोग हुने

redcross

काठमाडौं, १५ माघ । अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेण्टीजहरुको महासंघका अध्यक्ष टाडाटेरु कोनोइले नेपालको विपद व्यवस्थापनमा थप सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नुभएको छ । तीन दिने नेपाल भ्रमणको क्रममा बिहीबार राजधानी आइपुग्नु भएका कोनोइले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो प्रतिबद्दता व्यक्त गर्नुभएको हो । ‘भुकम्पीय जोखिमका दृष्टिले काठमाडौं उपत्यका विश्वकै उच्च जोखिमयुक्त शहरका रुपमा रहेकोले हामी जोखिम न्युनीकरणका लागि सहयोग गर्न नेपाल रेडक्रस तथा नेपाल सरकारलाई प्रतिबद्धता ब्यक्त गर्दछौं ।’ कोनोइले भन्नुभयो । काठमाडौंमा आगमनपछि अध्यक्ष कोनोइले ललितपुरको खुमलटारस्थित करिब १० हजारका लागि तत्काल राहत दिन सकिने गरी नेपाल रेडक्रसद्धारा निर्मित गैह्र खाद्यवस्तुहरुको भण्डारण गरिएका गोदामघरहरुको अवलोकन समेत गर्नुभएको छ । अवलोकनका क्रममा कोनोइले उपत्यकाको जोखिमलाई मध्यनजर गर्दै थप यस्ता भण्डारण गृहहरु निर्माण गर्न अन्तर्राष्ट्रिय सहयोग गरिने जानकारी दिनुभएको छ ।

विश्वभरका १ सय ८९ राष्ट्रका रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको छाता संगठन अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेण्ट महासंघका अध्यक्ष कोनोइ नेपाल रेडक्रस सोसाइटीको निमन्त्रणामा नेपाल आउनु भएको हो । नेपाल रेडक्रसका अध्यक्ष सञ्जिव थापाले अन्तर्राष्ट्रिय अध्यक्ष कोनोइको भ्रमणले रेडक्रस अभियान सञ्चालनमा थप प्रोत्साहन मिलेको र विपद व्यवस्थापनका कार्यक्रमलाई बढावा दिइने योजना लागु गरिने बताउनु भएको छ । विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि राष्ट्यि रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीजहरुको क्षमता अभिबृद्धि गर्ने कार्यमा अन्तराष्ट्रिय महासंघले काम गर्दै आइरहेको छ । अन्तर्राष्ट्रिय महासंघले संकटासन्न समुदायमा विविध प्रकारका सेवा एवं विकासमूलक कार्यहरूका लागि उल्लेख्य आर्थिक, प्राविधिक एवं मानवीय सहयोग उपलब्ध गराउँदै आइरहेको छ ।

अध्यक्ष कोनोइले राष्ट्रपति डा. रामवरण यादवसँग शुक्रबार बिहान भेटघाट तथा विपद व्यवस्थापनमा छलफल गर्ने कार्यक्रम तय गरिएको रेडक्रसले जनाएको छ । कोनोइले अन्य सरकारी तथा गैरसरकारी संस्थाका उच्चपदस्थ व्यक्तित्वहरुसँग सद्भावना भेटघाट गर्नुहुने भएको छ । नेपाल भ्रमणकै क्रममा कोनोइले विपद् पूर्वतयारी तथा प्रतिकार्य क्षमतालाई अझ बृद्धि गर्न सहयोगका लागि नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गर्ने कार्यक्रम समेत रहेको छ । विपद्का दृष्टिले नेपाल अत्यन्तै जोखिमयुक्त मुलुकको सूचीमा रहेकाले पनि अध्यक्ष कोनोइले नेपाल रेडक्रसको विपद् व्यवस्थापन रणनीति, पूर्वतयारी तथा प्रभावकारी प्रतिकार्यका लागि आवश्यक स्रोत, साधन, जनशक्तिहरूको निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना