• १३ वैशाख २०८१, बिहिबार

भरतपुरको विद्युत वितरण भूमिगत गर्ने कार्य शुरु

blog

भरतपुरमा विद्युत वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको शिलान्यास गर्दै पूर्वप्रधानमन्त्री प्रचण्ड । तस्विर – शान्ता अधिकारी

शान्ता अधिकारी

चितवन, भदौ १८ गते । चितवनको भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको विद्युत वितरण प्रणाली भूमिगत गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले शनिबार चितवनको भरतपुरमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गैंची चलाएर शिलान्यास गर्नुभयो ।

शिलान्यास कार्यक्रममा बोल्दै उहाँले विद्युत प्रणालीको गुणस्तर वृद्धि गर्नुको साथै प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउनु मात्र नभएर सहरको सौन्दर्यकरणको लागि उक्त परियोजना शुरु गरिएको बताउनुभयो । उहाँले भरतपुरको विकास समग्र देशका अन्य सहरको लागि नमूना बनाउन सकिने दाबी गर्दै विद्युत वितरणमा गरिने उक्त कार्यले समृद्ध भरतपुरको योजनालाई थप मद्दत पुग्ने बताउनुभयो । 

उहाँले विकास र सुरक्षासँग सम्बन्धित रहेको उक्त परियोजना युटिलिटी कोरिडोर अर्थात् विद्युतसँगै अन्य केबुलहरुलाई पनि भूमिगत गर्ने परियोजना रहेको आफूले जानकारी पाएको बताउनुभयो । केही दिन भित्र नै नारायणी नदीमा निर्माण हुने सिग्नेचर ब्रिजको पनि औपचारिक शुरुआत गरिने बताउँदै प्रचण्डले भरतपुरको विकास मोडेल नेपालका अन्य सहरले पछ्याउनु  प्रकृतिको बन्ने दाबी गर्नुभयो ।

भरतपुर र पोखरा महानगरपालिकाका मुख्य सडक क्षेत्रका लागि नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी र एसियाली विकास बैंकको ऋण सहयोगमा उक्त परियोजना शुरु भएको हो ।

परियोजनाको लागत नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको तर्फबाट ४९ करोड ६८ लाख ३१ हजार र एसियाली विकास बैंकको एक करोड ६७ लाख २० हजार अमेरिकी डलर गरी झण्डै दुई अर्ब ६० करोड नेपाली रुपियाँ रहेको छ । परियोजना भारतको टाटा प्रोजेक्टले स्न २०२४ को जनवरी १९ मा सक्नेगरी  २०२२ जनवरी २० मा ठेक्का सम्झौता गरिसकेको छ ।

कार्यक्रममा परियोजनाबारे जानकारी दिँदै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भरतपुर नयाँ विकास हुँदै गरेको सहर भएका कारण यसलाई नमूनायोग्य सहर बनाउन सहज रहेको बताउनुभयो । उहाँले आफू कार्यकारी निर्देशक बन्दादेखि हालसम्म आउँदा नेपालको विद्युत विकासबारे जानकारी गराउनुभयो । 

कुनै बेला कर्मचारीलाई तलब खुवाउन ऋण खोज्नुपर्ने अवस्थामा रहेको प्राधिकरण यतिबेला १६ अर्ब नाफामा रहेको ५० अर्ब भन्दा बढी आफैँले लगानी गर्न सक्ने अवस्थामा रहेको जानकारी गराउनुभयो । उहाँले सवारीसाधन, र घरायसी प्रयोगमा विद्युतको उपभोग बढाउन आवश्यक रहेको र यसमा ४० अर्बको लगानीले वार्षिक पाँभच खर्ब रुपियाँको आयात विस्थापन गर्न सकिने अवस्था विद्यमान रहेको पनि औँल्याउनुभयो ।

 कार्यकारी निर्देशक घिसिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र परियोजनाबारे आयोेजना प्रमुख वीरेन्द्रकुमार झाले जानकारी दिनु भएको थियो ।