• ६ चैत २०८०, मङ्गलबार

छरितो र सहज सेवा प्रवाह गर्न निर्देशन

blog

अनुगमनका क्रममा घरेलु कार्यालयका कर्मचारीलगायतसँग छलफल गर्नुहुँदै प्रदेशमन्त्री हाङ्गाम । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ १७ गते । प्रदेश १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले उद्योगसँग सम्बन्धित सेवाग्राहीलाई छिटो, छरितो र सहज सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।

शुक्रबार गृह जिल्ला ताप्लेजुङस्थित घरेलु तथा साना उद्योग कार्यालयको अनुगमन गर्नु हुँदै हाङ्गामले उक्त निर्देशन दिनुभएको हो ।

प्रदेश मन्त्री हाङ्गामले उद्योग अधिकृत युवराज घोर्साइँ लगायत घरेलु कार्यालयका कर्मचारीहरूलाई सेवाग्राही सन्तुष्ट हुने गरी सहज रूपमा सेवा प्रदान गर्न सुझावसहित निर्देशन दिनुभयो । जिल्लामा घरेलु उद्योग र उत्पादनसँग जोडिएका किसान तथा उद्यमीलाई सहयोग पुग्ने गरी र अन्य उद्यम गर्न इच्छुकलाई प्रोत्साहित गर्नेगरी घरेलु कार्यालयले सेवा प्रवाह गर्नुपर्नेमा हाङ्गामले जोड दिनुभयो ।

उहाँले ढाका कपडा, अल्लोको कपडा, दुग्धजन्य उत्पादन, भेडाको ऊनबाट बन्ने राडीपाखी, गलैँचा लगायत हाल जिल्लामा रहेका घरेलु उद्योग र उत्पादनहरूको   प्रवर्द्धनमा टेवा पुग्नेगरी रचनात्मक भूमिकासहित सेवा गर्न पनि घरेलु कार्यालयलाई सुझाव दिनुभयो । 

जिल्लामा स्थानीय उत्पादनको प्रवर्द्धन गर्न र उद्योगमा संलग्न तथा उद्यम गर्न चाहानेहरुको आम्दानी बढाउनमा सहयोग पुग्नेगरी सेवा प्रदायकले सेवा प्रवाह गर्नुपर्ने उहाँको भनाइ थियो । 

ताप्लेजुङ प्रशस्तै सम्भावना रहेको जिल्ला भएकाले घरेलु उद्योग सञ्चालन गर्न र उद्यमी बन्न चाहाने सामान्य नागरिकलाई प्रोत्साहित गर्नेगरी सरकारी तथा सेवा प्रदायक निकायले सेवा प्रवाह गर्नुपर्ने उहाँको जोड थियो । 

उहाँले प्रदेश सरकार र विभागीय मन्त्रीको हैसियतले जिल्लाका किसानलाई प्रत्यक्ष लाभ पुग्ने गरी घरेलु तथा साना उद्योग कार्यालयमार्फत आफूले सक्दो सहयोग गर्ने पनि आश्वासन दिनुभयो । 

यता अनुगमनकै क्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत घोर्साइँले कार्यालयबाट हुँदै आएको सेवा प्रवाह र अन्य क्रियाकलापबारे मन्त्री हाङ्गामलाई अवगत गराउनुभएको थियो । 

यस्तै, घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङका पदाधिकारीको टोलीले पनि उद्योग कार्यालयमा नै हाङ्गामलाई भेटेर आफ्ना विषयहरू राखेका मन्त्रीका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीले जानकारी दिनुभयो ।