• ६ चैत २०८०, मङ्गलबार

कांग्रेसले आलमलाई उम्मेदवार नबनाउने महामन्त्री थापाको दाबी

blog

पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेस महामन्त्री गगन थापा । तस्बिर : केशब गुरुङ

 काठमाडौं, भदौ १७ गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका काँग्रेस नेता अफताव आलमलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सांसदको उम्मेदवार नबनाउने दाबी गर्नुभएको छ।

शुक्रबार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले कुनै ठाउँबाट आगामी निर्वाचनका लागि आलम सिफारिस भएपनि कांग्रेसले उम्मेदवार नबनाउनेमा विश्वस्त रहन आग्रह गर्नुभयो। 

महामन्त्री थापाले आफूहरु पार्टीमा रहुन्जेल छाती ठोकेर मैले निर्णय गरेको हुँ भन्ने हैसियत नभएका कुरा पार्टीबाट नहुने बताउनु भयो। उहाँले संविधानले बर्जित गरेको काम पार्टीबाट नहुने दाबी पनि गर्नुभयो। 

‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा पनि हामीले कथा लेख्ने दिन आउँदैछ’ भन्ने साहित्यकार नयनराज पाण्डेको अभिव्यक्तिपछि महामन्त्री थापाले नैतिकताको कसीमा  हुँदासम्म पार्टीबाट यो निर्णय नहुने बताउनु भयो।

उहाँले भन्नुभयो, ‘‘नायनराज दाइले गगन थापाको पार्टीले भन्नुभयो, उहाँ पनि यही पार्टीमा काम गर्नुभएको हो पहिला। संविधानले, विधानले बर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा छाती ठोकेर मैले गरेको हो यो निर्णय, हामीले गरेको हो भनेर भन्न नसक्ने कुनैपनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन, यत्ति कुरा म तपाईंलाई आवश्वस्त पार्दछु।’

महामन्त्री थापाले नियम र कानुनले मात्रै समाज नचल्ने र समाज चल्नका लागि प्रेम र करुणा चाहिने पनि बताउनुभयो।