• ६ चैत २०८०, मङ्गलबार

खेलकुद पूर्वाधार निर्माण सरकारको प्रमुख प्राथमिकता–मन्त्री अथक

blog

क्याम्पसको दुई तले भवनको उद्घाटनमा बोल्दै मन्त्री महेश्वर गहतराज अथक । तस्बिर: सिराज खान

नेपालगन्ज, भदौ १७ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सरकारले खेलकुदका पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ । 

उहाँले सोही अभियान अन्तर्गत अहिले एक पालिका एक खेल पूर्वाधार कार्यक्रम अन्तर्गत खेल पूर्वाधारको निर्माणलाई तीव्र पारिएको बताउनुभयो । बाँकेको राप्तीसोनारी– ६ स्थित जनसिद्धेश्वर बहुमुखी पब्लिक क्याम्पसको दुई तले पक्की भवनको उद्घाटन गर्दै मन्त्री अथकले खेल पूर्वाधार र सामाग्रीको अभावमा खेलाडीले आफ्नो प्रतिभा देखाउन नसकेको र राम्ररी अभ्याससङै प्रतियोगिता पनि नहुन सकेकोले पूर्वाधार निर्माणलाई विशेष ध्यान दिइएको बताउनुभयो ।

उहाँले नेपालकै इतिहासमा पहिलो पटक वर्तमान सरकारले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई एक करोडसम्म नगद पुरस्कार दिने व्यवस्था गरेको जनाउँदै सो निर्णयबाट खेलाडीमा एक प्रकारको नयाँ जोस र उत्साह थपिएको बताउनुभयो । 
खेलाडी राष्ट्रका गौरव र गहना भएकोले उनिहरुलाई पदक जित्नका लागि सहज वातावरण बनाउनु पर्ने कुरामा यो सरकार गम्भीर भएर लागेको मन्त्री अथकले बताउनुभयो । ठुलो राशि नगद पुरस्कार दिने निर्णयले खेलाडीमा जित्नै पर्ने जोस सञ्चार गरेको जनाउँदै उहाँले यसको परिणाम केही समयमा देखिने बताउनुभयो । 

नवौँ राष्ट्रिय खेलकुदलाई समयमै गर्ने निर्णय र प्रयासले अहिले देश खेलमय भएको प्रस्ट पार्दै उहाँले सबै ठाउँमा छनोट खेलहरू भैरेकोले खेल क्षेत्र तरङ्गित बनेको बताउनुभयो । 
Author

सिराज खान