हेलम्बु र शेर्माथाङमा पुनःनिर्माण अन्योलमा, पर्यटकमा कमी

मेलम्ची, वैशाख ९ गते । सिन्धुपाल्चोकको रमणीय पर्यटकीयस्थल भनेर हेलम्बुलाई चिनिन्छ । समुद्र सतहबाट सात हजार ५०० फिट उचाइमा रहेको हेलम्बु ह्योल्मो जातिको मुख्य बासस्थान रहेको बस्ती हो । त्यस्तै, किउल गाविसमा पर्ने ह्योल्मो जातिको मुख्य बासस्थान रहेको बस्ती शेर्माथाङ पनि उत्तिकै मनमोहक थियो तर २०७२ वैशाखको भूकम्पले भने हेलम्बु र शेर्माथाङको अस्तित्व नै सखाप पा¥यो । सयौँको ज्यान गयो भने हजारौँ घाइते भए । बाह्रैमास चिसो हावा चल्ने उक्त बस्तीका भूकम्पपीडित भने अझै टहरामा नै आफ्नो जीवन गुजारा चलाउन बाध्य छन् । भूकम्प गएको एक वर्ष भित्रमा बर्षा, हिउँ, हावाहुरी, पहिरो, शीतसँगको कठिन तथा टिनको छाप्रो मुनिको अत्यन्तै कष्टप्रद क्षण सरकारले पुनःनिर्माणको गति अगाडि बढाउन नसकेकाले २०७३ साल पनि कष्टका साथ बिताउनुपर्ने निश्चित देखिएको शेर्माथाङका स्थानीयवासी कर्मतोप्य ह्योल्मोले बताउनुभयो ।

हिमालको काखमा रहेको शेर्माथाङ हिमालको नजिक भए तापनी पहिलेको तुलनामा पछिल्लो समय यहाँ आन्तरिक तथा बाह्य पर्यटक भने त्यति आकर्षित भएको देखिँदैन । भूकम्पपछि यहाँका धेरैजसो गुम्बा खण्डखरमा परिणत भए । यो हिमाली गाँउमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित नभएपछि स्थानीयवासीमा चिन्ता बढेको छ । पर्यटकीय पदयात्राका लागि पनि शेर्माथाङ र हेलम्बु् चर्चित छन् । गाउँमा एक दर्जनजति होटल र रेस्टुराँ छन् । भूकम्पका कारण भत्किएका भए पनि अधिकांश होटल पुनःनिर्माणपछि सञ्चालनमा आएको हेलम्बुका पूर्वगाविस अध्यक्ष पासाङ ह्योल्मोले बताउनुभयो ।

गत भदौदेखि पुससम्ममा स्वदेशी÷विदेशी गरी एकै दिन यहाँ डेढ सयसम्म पदयात्री आउने गर्दथे । पर्यटकको बसाइलाई अविस्मरणीय बनाउन थप होटल, रेस्टुराँ र बौद्ध गुम्बा निर्माण गरे पनि भूकम्पले सखाप बनायो, गुम्बा बनाउन र पुनःनिर्माणको कार्य अगाडि बढाउनुपर्नेमा सम्पूर्ण हेलम्बुवासीको माग छ । भूकम्पपछि शेर्माथाङ, मेलम्ची घ्याङ, तार्केघ्याङलगायत गुम्बा, माने र घ्याङको अवलोकन गर्न सकिने मनै लोभ्याउने संस्कृति र परम्पराको केन्द्र रहेपनि यहाँ हाल पर्यटनको विकास निकै निरासापूर्ण छ ।

भूकम्पले यहाँका ऐतिहासिक सम्पदामा निकै क्षति पु¥यायो, गुम्बाको अस्तित्व नै मेटायो । पर्यटकीयस्थलका गुम्बाको पुनःनिर्माणमा सरकारले छिट्टै ध्यान नपु¥याउने हो भने पर्यटकीय सम्भावनासमेत घट््ने निश्चित छ । भूकम्पपछि वर्षा र आँधीको सामना गरिरहनु परेको र यस्तो दयनीय अवस्थामा सरकारको ढिलासुस्तीले भूकम्पपीडितलाई समस्यामाथि समस्या थपिँदै गएकाले छिट्टै पुनःनिर्माणको काम सकेर पीडितको स्थायी घरमा बस्ने सपना पूरा गर्न सरकारले छिटो गति लिनुपर्ने मेलम्चीका स्थानीयवासी धिरेन गुरुङले बताउनुभयो ।

भूकम्पले सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति पु¥याएको सिन्धुपाल्चोकमा नै पुनःनिर्माणको कामले गति लिन नसक्नु जस्तो सरकारका लागि लज्जास्पद कुरा अरू केही नहुने मेलम्ची नगर विकास समितिका अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना