• ६ चैत २०८०, मङ्गलबार

एनसेललाई ‘फास्ट नेटवर्क’ अवार्ड

blog

काठमाडौँ, भदौ १७ गते  । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले ‘फास्ट मोबाइल नेटवर्क’ अवार्ड प्राप्त गरेको छ । 

मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी उक्लाले जनवरी–जुन २०२२ का लागि एनसेललाई उक्त अवार्ड प्रदान गरेको हो । मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको ‘स्पिड स्कोर’ यो सम्मान प्राप्त भएको एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

उक्लाका अनुसार एनसेलले डाउनलोडमा १७.३१ एमबीपीएस र अपलोडमा ९.२६ एमबीपीएस गतिका साथ कुल १७.१६ स्पिड स्कोर प्राप्त गरी नेपालको सबैभन्दा बढी गति भएको दूरसञ्चार सेवा प्रदायक बन्न सफल भएको हो । 

उक्लाले जनवरीदेखि जुन २०२२ को अवधिमा इन्टरनेटको गति मापन गर्ने आफ्नो एप स्पिड टेस्ट आईओएस र एन्ड्रोइडमा नेपालका सबै मुख्य मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कमा आबद्ध रहेका ग्राहकले गरेका कुल १६ हजार ९२९ स्पिड टेस्टलाई तुलना गरेको थियो । 

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले नेपाललाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डका साथ आमउपभोक्तासँग जोडिने प्रयासस्वरूप अवार्ड प्राप्त गर्न सफल भएको बताउनुभयो । एनसेलले जुन २०१७ बाट सञ्चालनमा ल्याएको फोरजी सेवा हाल ७० भन्दा बढी जिल्ला उपलब्ध छ ।