• ६ चैत २०८०, मङ्गलबार

मिटरब्याजीविरुद्ध कार्यदल

blog

गोपी ज्ञवाली 

नवलपरासी, भदौ १७ गते । मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि बनेको ‘एक्सन टिम’ (कार्यदल)ले छानबिन तथा आवश्यक कारबाहीको काम सुरु गरेको छ। नवलपरासीका पीडितहरूले राजधानी काठमाडाैँ पुगेर धर्ना दिने उद्घोष गरेपछि सरकारले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि जिल्लामा कार्यदल गठन गर्न निर्देशन दिएको थियो। 

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नेतृत्वमा गठित पाँच सदस्यीय कार्यदलले आवश्यक कारबाहीका लागि काम सुरु गरेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो। 

सो कार्यदल प्रहरीबाट तीन जना र जिल्ला प्रशासन कार्यालयका दुई जना गरी पाँच सदस्यीय छ। सो टोलीले मिटरब्याजसँग सम्बन्धित उजुरीलाई तीन भागमा वर्गीकरण गरी छानबिन गर्ने जनाएको छ। 

पहिलो चरणमा पीडित पक्ष र पीडक भनिएका दुवै पक्षलाई संयुक्त रूपमा छलफल गराई समाधान हुने प्रकारका उजुरीहरू, अदालतमा विचाराधीन रहेका मुद्दासँग सम्बन्धित उजुरीहरू र बाँकी उजुरीहरू गरी जिल्ला प्रशासनमा परेका उजुरीहरूलाई वर्गीकृत गरिने छ। 

उजुरीहरूको वर्गीकरण गरी अदालतमा विचाराधीन अवस्थामा रहेकालाई अदालततर्फ नै पठाइने छ भने अन्य उजुरीलाई जिल्लामा बनेको कारबाही टोलीले दुवै पक्षलाई सँगै राखेर छलफल गराई समस्याको समाधान गरिने बताइएको छ। 

उक्त छलफलबाट पनि समस्या समाधान नभए दोषीउपर कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई सिफारिस गरिने कार्यदल संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो। 

मिटरब्याजीविरुद्ध नवलपरासीमा १२५ जनाले उजुरी दिएका छन्। सोही उजुरीका आधारमा प्रहरीले एक जना मिटरब्याजी (साहु) नियन्त्रणमा लिएको छ। अन्य तीन जना फरार छन्। 

नवलपरासीका केही मिटरब्याज पीडितहरू अहिले पनि राजधानीको माइतीघर मण्डलामा धर्नामा बसेका छन्। देशभर मौलाउँदो मिटरब्याज विकृतिविरुद्ध गृह मन्त्रालयका सहसचिव भीष्म भुसालको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भइसकेको छ। 

संयोजक भुसालसहितको टोलीले गत आइतबार नवलपरासी जिल्लामै पुगेर मिटरब्याजसँग सम्बन्धित समस्या र पीडितहरूको अवस्थाका विषयमा जानकारी लिएको थियो।