• ६ चैत २०८०, मङ्गलबार

बिरामीलाई चर्को पार्किङ शुल्क

blog

काठमाडौँ, भदौ १७ गते । रामेछापकी लक्ष्मी केसीलाई उपचार गराउन वीर अस्पताल पुग्नुभएका विनोद केसीले दिनभरिको सवारी पार्किङबापत २७५ रुपियाँ तिर्नुप-यो । वीर अस्पतालको आकस्मिक कक्षको सामुन्नेको सडकमा मोटरसाइकल पार्किङ गरेबापत सो रुपियाँ मागेपछि सुरुमा त उहाँ अक्मकिनुभयो तर त्यति शुल्क नबुझाएर उम्किनै पाउनुभएन ।

सवारीसाधन लिएर स्वास्थ्य उपचार गराउन वीर अस्पताल पुगेका बिरामी र कुरुवा पार्किङबापत चर्काे शुल्क तिर्न बाध्य छन् । पार्किङबापत प्रतिघण्टा २५ रुपियाँ तिर्नुपर्छ । 

युनिफाइड कोभिड–१९ केन्द्रीय अस्पताल (वीर)का प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्र बस्नेतले पार्किङ शुल्क नलिइदिन पटक–पटक काठमाडौँ महानगरपालिकालाई पत्रमार्फत अनुरोध गरेको तर 

सुनुवाइ नगरिएको गुनासो गर्दै भन्नुभयो, “अस्पताल अगाडि चर्काे शुल्क उठाउनु गलत हो तर हाम्रो कुरा सुन्न पालिका तयार छैन ।”

उहाँले कतिपय बिरामीको दुई–तीन सय रुपियाँ पनि नभएकाले निःशुल्क उपचारका लागि सिफारिसको माग गर्न आउने गरेको बताउँदै थप्नुभयो, “तर उनीहरू अस्पतालबाहिर पुगेपछि सवारी पार्किङबापत उपचार खर्चभन्दा बढी शुल्क तिर्न बाध्य छन् ।”

वीर अस्पतालभित्र पनि पार्किङको व्यवस्था छ तर अस्पतालका कर्मचारीका सवारीसाधनले भरिने हुँदा अपराह्न ४ देखि बिहान ७ बजेसम्म उपचार गराउन आउनेका लागि खुला गर्ने गरिएको छ । उपचार गराउने प्रायः सबैजसो बिहान ७ बजेपछि अस्पताल पुग्ने गरेका छन् । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डमा ५० शøयाभन्दा माथिका प्रत्येक अस्पतालमा अनिवार्य पार्किङको व्यवस्था हुनुपर्ने प्रावधान छ । काठमाडौँ महानगरपालिकाका पदाधिकारीले सो स्थानमा पार्किङ व्यवस्थापन गर्न 

योजना बनाइरहेको  बताएका छन् ।

समस्या जतासुकै

सवारीसाधनको पार्किङको समस्या वीर अस्पतालमा मात्र रहेको छैन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय  केन्द्र, कान्ति बाल अस्पताल, परोपकार प्रसूति गृह अस्पताल, भक्तपुर अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, राष्ट्रिय ट्रमा सेन्टरलगायतका सरकारी अस्पतालमा समेत पार्किङको समस्या छ । 

त्रिवि शिक्षण अस्पतालमा दैनिक दुई हजारभन्दा बढी व्यक्ति उपचारका लागि जान्छन् । त्यहाँ पनि आकस्मिक कक्षभन्दा केही पर केही साधन राख्न मिल्ने स्थान त छ तर त्यो पनि प्रायःजसो भरिभराउ हुन्छ । शिक्षण अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले बिरामी, कुरुवा र बिरामीलाई हेर्न आउनेभन्दा बाहिरका मानिसका सवारीसाधनले पार्किङ भरिने गरेको बताउनुभयो । “भवन निर्माण गर्दा अन्डरग्राउन्ड पार्किङ बनाउनुपर्छ भन्ने सोच नपुगेको देखिन्छ,” उहाँले भन्नुभयो, “अब ठेक्कामार्फत शुल्क लिने नीति अस्पतालले लिँदैछ ।” 

महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टरमा पनि सवारीसाधन पार्किङको असुविधा छ । ट्रमा सेन्टरमा पार्किङका लागि अन्डरग्राउन्डको छुट्टै व्यवस्था भए पनि कर्मचारीबाहेकका सवारीसाधन राख्न पाइँदैन । सेन्टरका सूचना अधिकारी अर्जुन भेटुवालले कर्मचारीका साधनले नै पार्किङ भरिने हुँदा समस्या भइरहेको बताउनुभयो ।

कान्ति बाल अस्पतालमा पनि पार्किङको उस्तै समस्या छ । अस्पतालको अगाडिको पार्किङ बिहान ७ बजे भरिइसक्छ । पार्किङका लागि स्थान अभाव हुँदा बाहिर राख्न लगाउने गरिएको छ । बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय  केन्द्रमा बिहान ८ बज्दा नबज्दै भरिन्छ । पाटन अस्पतालमा पार्किङ शुल्क लिने हुँदा धेरैले अस्पतालको सामुन्नेको सडकमा सवारीसाधन राख्दा सडक अवरोध हुँदै आएको छ । भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कर्मचारीबाहेक अन्य व्यक्तिलाई पार्किङ निषेध गरिएको छ । 

   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।