• ६ चैत २०८०, मङ्गलबार

सर्लाहीमा कांग्रेस उम्मेदवार सिफारिस

blog

जनार्जन खत्री

सर्लाही, भदौ १६ गते । सर्लाहीमा नेपाली कांग्रेसको प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिले मङ्सिर ४ को निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नं. २ को क्षेत्रीय कार्य समितिले २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्यतर्फ जङ्गीलाल राय, नागेन्द्रकुमार राय र जयहरि श्रेष्ठ (राजु) को नाम सिफारिस गरेको क्षेत्रीय सभापति कौशलकिशोर रायले जानकारी दिनुभयो ।

यस्तै, समानुपातिकतर्फ लक्ष्मण राय र धनमन्ती यादवको नाम सिफारिस भएको छ । निर्वाचन क्षेत्र २ को (क) र (ख) बाट प्रदेशसभा सदस्यमा पनि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका आकांक्षीको नाम सिफारिस गरिएको छ । (क) र (ख) बाट गरी उम्मेदवारको नाम सिफारिस भएको क्षेत्रीय कार्य समितिले जनाएको छ ।

यस्तै, क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यतर्फको उम्मेदवार सिफारिस गर्न बिहीबारबाट छलफल सुरु भएको छ । बयलवासमा भएको छलफलमा क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पाँच जनाले दाबेदारी प्रस्तुत गर्नुभएको छ ।

प्रत्यक्षमा शम्भुलाल श्रेष्ठ, रामचन्द्र चौधरी, शिवकुमार गुर्मछाने, उद्धवप्रसाद पौडेल र सन्देश आचार्यले दाबेदारी प्रस्तुत गर्नुभएको हो । यस्तै, समानुपातिकतर्फ भवानीकुमारी कोइराला, सत्यदेवसिंह दनुवार, रजनिकान्त झा, मरनीदेवी साह, सुरेन्द्रबहादुर प्रधान र सुशीला कार्कीले दाबेदारी प्रस्तुत गर्नुभएको छ ।

छलफलमा आएका नाममाथि क्षेत्रीय कार्य समितिको बैठक बसेर छलफल गरी जिल्ला कार्य समितिमा सिफारिस गर्ने क्षेत्रीय सभापति हरिबहादुर लुङ्गेलीले बताउनुभयो । यस्तै, क्षेत्र नं. १ बाट प्रदेश क्षेत्रीय कार्य समितिले (क) र (ख) दुवै क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक दुवैतर्फ नाम सिफारिस गरेको छ । 

उम्मेदवार सिफारिस गर्न क्षेत्र ३ को क्षेत्रीय कार्य समितिको बैठक शुक्रबार बस्दैछ । कांग्रेसले उम्मेदवार सिफारिस गर्न थाले पनि मङ्सिर ४ को निर्वाचनमा गठबन्धन हुँदा कांग्रेसले सर्लाही क्षेत्र ४ मात्रै पर्ने सम्भावना रहेको कांग्रेस नेताले बताएका छन् ।