• ६ चैत २०८०, मङ्गलबार

बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार गौतमलाई प्रदान गरिने

blog

जननायक बीपी कोइराला

काठमाडौं, भदौ १६ गते । यस वर्षको बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार कृष्णप्रसाद गौतमलाई प्रदान गरिने भएको छ ।

जननायक बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बीपी साहित्य सम्मान पुरस्कार र बीपी सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ ।

यही भदौ २४ गते १०९ औँ बीपी जन्म जयन्ती मनाइँदै छ । सो अवसरमा ट्रष्टले काठमाडौंमा विशेष समारोहको आयोजना गरेको छ । सोही समारोहमा यस वर्षको साहित्य सम्मान पुरस्कार–२०७९ वरिष्ठ साहित्यकार गौतमलाई प्रदान गर्न लागिएको हो । गौतमलाई प्रदान गरिने पुरस्कार राशि एक लाख एक हजार रहेको छ ।

ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरू डा. धुब्रचन्द्र गौतम र सुशीलमान शेरचन समेतको सिफारिस समितिको सर्वसम्मतिबाट यो निर्णय गरिएको हो । 

त्यसरी, ट्रष्टले प्रतिवर्ष प्रदान गर्ने बीपी सेनानी सम्मान पुरस्कार–२०७९ यस वर्ष प्रजातन्त्र स्थापनाको संर्घषमा महत्त्वपूर्ण योगदान पुर्‍याउने ९१ वर्षीया श्रीमती शान्ति कार्कीलाई दिने निर्णय गरेको छ । पुरस्कारको राशि ५१ हजार रहेको छ ।

यसअघि विसं. २०७१ मा बीपी साहित्य सम्मान वरिष्ठ साहित्यकार स्व. रत्नशम्शेर थापा र बीपी सेनानी सम्मान पुरस्कार नृतन थपलिया, २०७२ मा साहित्यकार गोपाल पराजुली र सेनानी सम्मान स्व. तारानाथ कोइराला, २०७३ साहित्यकार भुवन ढुङ्गाना र सेनानी सम्मान श्यामलाल श्रेष्ठ, २०७४ मा साहित्यतर्फ प्रा.डा.अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैत, २०७५ मा साहित्यतर्फ रोचक घिमिरे र प्रजातन्त्र सेनानी सम्मान स्व. चक्रप्रसाद बास्तोला, २०७६ मा बीपी साहित्य सम्मान तिल विक्रम नेवाङलाई (वैरागी काइँला) र प्रजातन्त्र सेनानी सम्मान मधुकान्त सिंहलाई प्रदान गरी सकिएको छ ।

यसैगरी, विसं. २०७७ सालको वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिएको थियो । यसैगरी, बीपी सेनानी सम्मान पुरस्कार–२०७७ प्रजातन्त्र स्थापनाको संर्घषमा महत्त्वपूर्ण योगदान पुर्‍याउने होमनाथ दाहाललाई प्रदान गरिएको थियो । त्यस्तै, विसं. २०७८ को साहित्य सम्मान कवि मदन रेग्मी र सेनानी सम्मान भक्तपुर जिल्लाका प्रजातन्त्र सेनानी तिलक प्रकाश कायस्थलाई प्रदान गरिसकेको छ ।