वार्ताको वातावरण बनाऔँ– भट्टराई

Baburam Bhattaraiनारद गौतम,  काठमाडौं, माघ १५ गते । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले संविधानसभा नछाडेको र निःशर्त ढङ्गले वार्तामा बसौं भनेर वातावरण बनेमा अब पनि वार्ता हुनसक्ने बताउनुभएको छ ।
नेता भट्टराईले भन्नुभयो–‘‘माघ ११ गते बलजफ्ती गरिएको निर्णयलाई उहाहरुले फिर्ता लिनुपर्छ, निःशर्त ढङ्गले फेरि वार्तामा बसौं भनेर वातावरण बनाउनुपर्छ, त्यसो भयो भने वार्ता हुन सक्छ ।’’
त्यसका लागि बलमिच्याईंपूर्ण तरिकाले प्रक्रिया अघिबढाउने अनि वार्ता गरौं भन्नु त ‘आत्मसमर्पण गर्न आइज’ भनेजस्तो हुने धारणा राख्दै उहाँले त्यस्तो आत्मसमर्पणको वार्तामा भने कोही सहभागी हुन्छ जस्तो लाग्दैन भन्नुभयो ।  
रिपोर्टर्स क्लबले बिहीबार एमाओवादी पार्टी कार्यालय, पेरिसडाँडा, कोटेश्वरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता भट्टराईले सत्तापक्षले विगतका सहमति–सम्झौतालाई पूरै तोडेर संख्याको आधारमा नै संविधान जारी गर्छु भन्ने मुढेबल प्रदर्शन गरेको आरोप पनि लगाउनुभयो ।
वार्ता र सहमतिको सम्भावनाबारे नेता भट्टराईले भन्नुभयो–‘‘अझै पनि सत्तामा रहेकाहरुले हिजोका शासकहरुले जस्तो दम्भ प्रदर्शन नगरिकन देश फेरि द्वन्द्व र मुठभेडको दिशामा नजाओस् भनेर पहल गर्छन्, आफ्नो कमीकमजोरी सच्याउँछन् भने त म सम्भावना अझै पनि देख्छु ।’’
उहाँले थप्नुभयो, ‘‘१२ बुदे समझदारीदेखि यता निरन्तर शान्ति प्रक्रियामा संलग्न भएको व्यक्तिको नाताले संविधानसभामार्फत अग्रगामी संविधान बनोस्, यो देशका विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको स्वामित्व, अपनत्व कायम गर्ने गरी संविधान बनोस र देशमा दीगो शान्ति होस् भन्ने मेरो चाहना हो । त्यसैले म आफ्नो तर्फबाट निरन्तर प्रयत्न त गर्छु ।’’
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको सभापतिको हैसियतले आफूले निरन्तर प्रयत्न गरेको र राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायतका मुख्य विवादित विषयमा गत असोज १३ गते विभिन्न विकल्प दिएको स्पष्ट पार्नुभयो ।
उहाले भन्नुभयो–‘‘प्रमुख राजनीतिक शक्ति खासगरी कांग्रेस र एमालेले त्यसमा चासो देखाएनन् र अन्ततः बहुमतीय प्रक्रियाको दिशामा गए र माघ ११ गते संविधानसभाका अध्यक्षमार्फत जसरी बलमिच्याईं गरेर सहमतिको प्रक्रिया तोड्ने काम भयो त्यसले परिस्थितिलाई धेरै जटिल बनाएको छ । त्यसैले मैले तत्कालै सहमति बन्ने जस्तो स्थिति देखिराखेको छैन ।’’
संविधानसभाको कार्यनीति नै असफल भएको हो कि भन्ने प्रश्नमा नेता भट्टराईले भन्नुभयो–‘कार्यनीति नै गलत थियो भन्ने म ठान्दिन, अहिले पनि नेपालीको निम्ति संविधानसभाबाट संविधान बन्नु नै हितकारी हुन्छ ।’’
उहाँले अब बन्ने संविधानमा विगतका सहमति र सम्झौता प्रतिविम्वित हुनु र ती प्रमुख सरोकारवालाहरुको बीचमा समझदारी बन्नु बिल्कुल आवश्यक र अनिवार्य हुन्छ भन्नुभयो ।
पहिलो चरणको संघर्षअन्तरगत फागुन १६ गतेसम्मका लागि संविधानसभा र व्यवस्थापिका संसद्का सबै बैठक बहिष्कार गर्न लागिएको बताउदै उहाले यो संघर्षकै एउटा रुप भएको स्पष्ट पार्नुभयो । उहाले भन्नुभयो–‘‘सधैंका लागि संविधानसभा र व्यवस्थापिका संसद् छोड्ने भनेको होइन ।’’

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना