• ६ चैत २०८०, मङ्गलबार

पाकिस्तानी प्रधानमन्त्रीद्वारा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोगको अपिल

blog

इस्लामावाद, भदौ १५ गते । पाकिस्तानका प्रधानमन्त्री साबाज शरिफले पाकिस्तानमा बाढीले इतिहासमै सबैभन्दा खराबरुपमा प्रभावित पारेको बताउनुभएको छ ।

प्रधानमन्त्री शरिफले बाढीका कारण पाकिस्तानमा अहिले इतिहासमै सबैभन्दा बढी क्षति पुगेको बताउँदै सहयोगका लागि सबैसँग अपिल गर्नुभएको हो । उहाँले पाकिस्तानी नागरिकका साथै विदेशी दाता निकाय तथा देशसँग सो अपिल गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।  

बाढीका कारण विस्थापित भएका व्यक्तिको सङ्ख्या दशौँ लाख भएकाले उनीहरुको उद्धार, पुनःस्थापना र राहतका लागि ठूलो आर्थिक सहयोग आवश्यक रहेको भन्दै यसका लागि उहाँले आग्रह गर्नुभएको छ ।

यहाँका कैयौँ प्रान्तमा बाढीले गरेको क्षति न्यूनीकरणका लागि सरकारले प्रयत्न गरिरहेको भए पनि सबै नागरिकलाई बास र खानपिनको उचित व्यवस्थापन गर्न सम्भव हुन सकेको छैन ।  त्यसैले उनीहरुलाई राहात र पुनःस्थापनाका लागि ठूलो मात्रामा आर्थिक सहयोग आवश्यक परेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गर्नुभएको हो । 

पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर एक हजार एक सयभन्दा बढी मानिसको मृत्यु भएको छ । यो बाढीमा परेर तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । यहाँ गएको हप्तादेखि अविरलरुपमा वर्षा भएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर ती व्यक्तिको मृत्यु भएको हो । यहाँका एक हजार छ सय ३४ जना घाइते भई अस्पतालमा उपचाररत छन् ।

पाकिस्तानी अधिकारीका अनुसार यहाँका बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढी र त्यसपछि आएको पहिरोबाट बढी मात्रामा प्रभावित छन् ।

बाढी र पहिरोले सडक बगाएको, पशु चौपाया बगाएको, पुल भत्काएको तथा ठूलो क्षेत्रमा लगाएको बाली पनि नष्ट गरिदिएको बताइएको छ ।