• ६ चैत २०८०, मङ्गलबार

पाँच वर्षमा बहत्तर विधेयक पारित

blog

बुटवल समाचारदाता

बुटवल, भदौ १४ गते । लुम्बिनी प्रदेश सभाका सदस्यले मुलुककै इतिहासमा पहिलो अभ्यास प्रदेश सभाको पाँचवर्षे कार्यकाल उपलब्धिमूलक रहेको जनाएका छन्। आगामी मङ्सिर ४ गतेलाई घोषित प्रदेश निर्वाचनको मिति घोषणा भएसँगै प्रदेश सभाको आयु अब चार महिना मात्रै बाँकी छ। लुम्बिनी प्रदेश सभाको पाँचवर्षे कार्यकालमा १० वटा अधिवेशन सम्पन्न भएका छन्। 

प्रदेश सभा स्थापनाको पाँचौँ वसन्तसम्म आइपुग्दा ८२ वटा विधेयक दर्ता भएकोमा ७२ वटा विधेयक पारित गरिसकेको छ। प्रदेश सरकारका लागि आवश्यक कुल १३९ वटा ऐन निर्माणको काम थाती रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। 

प्रदेश सभाको पहिलो अधिवेशन २०७४ साल माघ २१ गते बसेको थियो। पहिलो कार्यकालमै प्रदेशको नाम र राजधानीको टुङ्गो लागेकाले यो पाँचवर्षे कार्यकाल सफल रहेको दाबी प्रदेश सभा सदस्यहरूको छ।

नेपालमा सङ्घीयता कार्यान्वयनसँगै प्रदेश स्थापना र अभ्यासको हिसाबले प्रदेश सभाको संरचना नै पहिलो भएकाले पाँचवर्षे कार्यकाल चुनौतीपूर्ण भए पनि सिकाइका हिसाबले धेरै उपलब्धिमूलक भएको सदस्यहरूको अनुभव छ। 

लुम्बिनी प्रदेश सभा सदस्य रमा अर्यालले आम प्रदेशवासी जनताको भावना र परिवर्तनको चाहनालाई आत्मसात् गर्दै समृद्ध प्रदेश निर्माण गर्नु नै आफूहरूको मूल उद्देश्य रहेको बताउँदै पाँचवर्षे कार्यकाल सफल भएको दाबी गर्नुभयो। 

अर्का प्रदेश सभा सदस्य कृष्ण न्यौपानेले सङ्घीयता कार्यान्वयनमा आएसँगै यो पहिलो अभ्यास भएकाले आफूहरूका लागि प्रदेश सभाको पहिलो कार्यकाल अनुभव र अनुभूतिका हिसाबले संस्मरणयोग्य भएको बताउनुभयो।  

प्रदेश सभा सदस्य अष्टभुजा पाठकले पाँचवर्षे कार्यकाल धेरै सफल हुन नसकेको टिप्पणी गर्नुभयो। प्रदेश सभाका अर्का सदस्य तुलसीप्रसाद चौधरीले सङ्घीयता कार्यान्वयनका सवालमा प्रदेश सभाको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो। 

प्रदेश सभा सदस्यहरूले सडक यातायात, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका भौतिक पूर्वाधार विकास र अन्य सामाजिक विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। 

प्रदेश सभाको कृषि, वन तथा वातावरण समितिका सभापति जल्पा भुसालले प्रदेशको कानुन निर्माण र विकास निर्माणमा प्रदेश सभाका सदस्यहरूले पाँच वर्षको अवधिमा प्रभावकारी भूमिका निर्वाह गरेको धारणा राख्नुभयो।