• ६ चैत २०८०, मङ्गलबार

वन्यजन्तु उद्धार केन्द्र निर्माण हुँदै

blog

शालिग्राम नेपाल

चितवन, भदौ १४ गते । चितवन राष्ट्रिय निकुञ्जले पश्चिम चितवनको देवनगरमा वन्यजन्तु उद्धार केन्द्र निर्माण सुरु गरेको छ। विभिन्न कारणले बिरामी भएका तथा नियन्त्रणमा लिएर केही समय निगरानीमा राख्नुपर्र्ने जनावरलाई राख्न वन्यजन्तु उद्धार केन्द्र निर्माण कार्य अगाडि बढाएको हो। 

पछिल्ला केही महिनायता मानिसलाई आक्रमण गर्ने बाघको सङ्ख्या वृद्धि भएपछि त्यसलाई नियन्त्रण गरेर राख्ने स्थानको अभाव भएको थियो। त्यस्तै बिरामी जनावरलाई राखेर उपचार गर्ने र राखिएका जनावर हेर्न पर्यटक आउने वातावरणसमेत सिर्जना गर्ने उद्देश्यले उद्धार केन्द्र निर्माण भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो। 

निर्माणाधीन केन्द्रमा अहिले पशु चिकित्सकको आवासीय भवन निर्माण पूरा भएको छ। आर्थिक वर्ष २०७८/७९ मा एक करोड ८० लाख रुपियाँको लागतमा संरचना निर्माण भएको प्रमुख आचार्यले जानकारी दिनुभयो। 

चालू आर्थिक वर्षमा १० वटा बाघ राख्न मिल्ने गरी खोर निर्माण गर्ने तयारी रहेको छ। दुईवटा हात्तीको सेड, दुईवटा गैँडा राख्ने स्थान, मृग प्रजातिका जनावर राख्ने ठाउँ निर्माण गरिने उहाँले जानकारी दिनुभयो। विभिन्न कारणले बाघलाई नियन्त्रणमा लिएर राख्नुपर्दा कसरामा रहेको खोरमा अटाउन नसकेको, अरू खोरको आवश्यक परेको, त्यस्तै घाइते अन्य जनावरलाई राख्न उपयुक्त स्थान अभाव भएकाले केन्द्र निर्माण सुरु भएको उहाँले बताउनुभयो। 

यसअघि सामान्य पशु अस्पतालका रूपमा सौराहामा निर्माण भए पनि उपयुक्त स्थान नभएकाले त्यहाँ जनावर लैजान ल्याउन असहज भएको निकुञ्ज प्रमुख आचार्यले जानकारी दिनुभयो। 

निर्माणाधीन उद्धार केन्द्रमा रहने बाघ, गैँडा, हात्ती, मृगलगायतका जनावर पर्यटकलाई अवलोकनका लागि खुला गरिने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो। पर्यटकीय क्षेत्रका रूपमा समेत विकास गर्ने उद्देश्यले निर्माण भइराखेको उद्धार केन्द्रमा निश्चित शुल्क तिरेर जङ्गली जनावर हेर्न सकिने उहाँले बताउनुभयो। 

उद्धार केन्द्र निर्माणले यस क्षेत्रको पर्यटनको विकास हुने मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले बताउनुभयो। निकुञ्जको बीसहजारी ताल, बाटुली पोखरी, अम्रेला स्ट्रिट, छितामाई, विक्रमबाबालगायतका पर्यटकीय क्षेत्रलाई जोड्न उद्धार केन्द्र निर्माणले महìवपूर्ण योगदान पुग्ने उहाँले बताउनुभयो।