• ६ चैत २०८०, मङ्गलबार

कोहलपुरमा पनि अवैध संरचना भत्काइँदै

blog

कोहलपुर न्युरोडमा अवैध संरचना भत्काउँदै नगरपालिकाको डोजर । तस्विर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, भदौ १३ गते । कोहलपुर नगर विकास समितिले नगरमा सरकारी जग्गा मिचेर निर्माण गरिएका अवैध संरचना भत्काउन शुरु गरेको छ । सोमवार विहानबाट प्रहरीको सहयोग लिएर डोजरको माध्यमले न्युरोडबाट अवैध निर्माण भत्काउने कार्य शुरु गरेको कोहलपुरका मेयर पूर्ण आचार्यले बताउनुभयो । 

यसअघि कोहलपुर नगरविकास समितिले नगरभित्रका सबै अवैध संरचना तीन दिनभित्र हटाउन तथा अवैध कब्जा गरिएका जग्गा खाली गर्न सर्वसाधारणलाई आग्रह गरेर सूचना जारी गरेको थियो । 

सूचनाको अवधि सकिए लगत्तै अवैध संरचना र कब्जा हटाउने अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ । सोमबार बिहान न्युरोडबाट दुई वटा अवैध टहरा भत्काएर अगाडि बढेको डोजरसहितको टोली बसपार्क क्षेत्रमा पुग्दा स्थानीयले अवरोध गर्न खोज्दा प्रहरीले सुरक्षा दिएको जनाएको छ । 

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार अवैध संरचना भत्काउन पुगेको टोली बसपार्क क्षेत्रमा पुग्दा केही स्थानीयले डोजरमाथि ढुंगा प्रहार गरेर त्यहाँबाट भगाएका थिए । सो स्थानमा सुरक्षाकर्मी थप गर्नुका साथै डोजरलाई केही बेरका लागि त्यहाँबाट हटाइएको थियो । स्थानीयको अवरोधले सो स्थानमा तनाव सिर्जना भएको प्रहरीले जनाएको छ । 

सो स्थानमा पुग्नु भएका मेयर आचार्य लगायतको टोलीसँग स्थानीयको छलफल भए पनि सहमति बनेको छैन । सुरक्षाकर्मी थपेर भए पनि अवैध संरचना हटाउने नगरपालिकाको अडान छ । 

यसअघि कोहलपुर नगरविकास समितिले सूचना प्रकाशित गरेर समितिको गत असार ३० गतेको बोर्ड बैठकबाट निर्णय भएअनुसार तत्काल सडकपेटी र फुटपाथमा बनाइएका अवैध संरचना हटाउन जानकारी गराएको थियो । सूचनालाई अटेर गरिएकाले फेरि तीन दिनको अन्तिम अल्टिमेटम दिइएको थियो । 

सो अवधिभित्र पनि संरचना हटाउने काम नभएपछि समितिले खालि गराउने र खाली गर्दा लागेको खर्च समेत सम्वन्धित ब्यक्ति संस्थाबाट सरकारी बाँकी सरह असूलउपर गर्ने सूचनामा उल्लेख गरिएको थियो । तर सो आग्रहको पनि वास्ता गरिएको छैन । सरकारी जग्गामा गरिएको अवैध कब्जा जुनसुकै हालतमा पनि हटाउने मेयर आचार्यले बताउनुभयो ।