• ६ चैत २०८०, मङ्गलबार

सन्दीप चम्किएपछि नेपाललाई केन्याको सामान्य लक्ष्य

blog

फाइल तस्बिर ।

काठमाडौं, भदौ १३ गते । कप्तान सन्दीप लामिछाने चम्किएपछि चौथो टी–२० खेलमा घरेलु टोली केन्याले नेपाललाई जितको लागि १०२ रनको सामान्य लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १०१ रन बनायो । 

केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाउनुभयो । कोलिन्स अबुयाले २० र कप्तान शेम एन्गोचेले १३ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । 

केन्यालाई सस्तैमा रोक्न नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले पाँच ५ विकेट लिनुभयो । आदिल अन्सारीले दुई तथा साहब आलम र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो । पाँच खेलको सिरिजमा नेपाल अहिले २–१ ले अगाडि छ ।

यस खेल जितेमा नेपाल एक खेल अगावै सिरिज च्याम्पियन बन्नेछ । केन्या पनि नेपाललाई रोक्दै सिरिज बराबरी गर्ने दाउमा छ । यसअघि नेपाल पहिलो खेलमा पाँच विकेट र तेस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।

कमजोर ब्याटिङका कारण नेपाल दोस्रो खेलमा केन्यासँग १८ रनले पराजित भएको थियो । टी–२० सिरिजको अन्तिम तथा पाँचौं खेल नेपालले मंगलबार खेल्नेछ । त्यसपछि दुई टोलीबीच भदौ १७, १८ र २० गते एकदिवसीय सिरिज हुनेछ ।