मर्यादापुरुष रामबाट लिने शिक्षा

Ram prashad dhitalरामप्रसाद धिताल


वैदिक धर्ममा उल्लेख आत्मज्ञान मार्ग अनुशरण वा पालना गर्न नसक्नेका लागि भक्ति मार्गको बाटो बताइएको छ । भक्ति मार्गअन्तर्गत लीलाअवतारको गुणकीर्तन गर्नु र उनीहरूमा भएका उत्तम गुण आफूमा विकसित गराउने प्रयास गरिन्छ । यस्तै लीलापुरुषको आराधना वा गुणकीर्तन गर्ने पर्व हो, रामनवमी । मर्यादापुरुष रामको धर्मपालक, प्रजापालक, पितृआज्ञापालक गुणको स्मरण गर्दै थोरैमात्र भए पनि अनुशरण गर्ने प्रेरणा यस्ता दिनले दिइरहेका हुन्छन् ।
पौराणिक ग्रन्थअनुसार चैत महिनाको शुक्ल पक्ष नवमी, पुनर्वसु नक्षत्रमा रामले जन्म लिएका हुन् । रामको जन्म भएकाले यस तिथिलाई उनको गुणस्मृति गर्ने पर्वका रूपमा लिइएको हो । रामनवमीका दिन शारीरिक वा मानसिकरूपमा शुद्ध भई रामको आराधना गर्ने विधान पुराणमा उल्लेख छ । रामको जन्म भएको दिनलाई उत्सवकै रूपमा मनाउने परम्परा छ । रामको जन्मभूमि अयोध्या र ससुराली जनकपुर क्षेत्रमा उत्सव चल्छ । नेपाल र भारतमा रहेका राममन्दिरमा उनका गुणकीर्तिन गरिन्छन् । लोकमा अन्याय–अत्याचार बढ्दा भगवान्ले विभिन्न अवतार लिई दुष्टको संहार गरेको र सज्जनको रक्षा गरेका सन्दर्भ पुराणमा आउँछन् । लोकका पालनकर्ता मानिने भगवान् विष्णुका आठौँ अवतारसम्मका लीलावर्णन श्रीमद्भागवतमा आउँछ । लोकमा रावणलगायतका राक्षस प्रवृत्ति भएकाको अत्याचार बढेपछि त्रेतायुगमा भगवान् विष्णुले सातौँं अवतार लिनुपरेको थियो । भारतवर्षको अयोध्या राज्यका राजा दशरथ र रानी कौशल्याका पुत्रको रूपमा जन्म लिएका थिए रामले । कैकेयीपुत्र भरत एवं सुमित्रापुत्र लक्ष्मण र शत्रुघ्न पनि भगवान्कै अंशावतारका रूपमा जन्म लिएका हुन् ।  धर्तीमा बढिरहेको दुष्टहरूको अत्याचारका कारण भगवान्ले जन्म लिएको गुरु विश्वामित्रलाई थाहा नहुने कुरा भएन । भर्खर व्रतबन्ध सम्पन्न भएका रामसहित चारै भाइलाई माग्न आउँदा दशरथ शोक गर्न थाले । यसबेला विश्वामित्रले दशरथलाई सम्झाएको सन्दर्भलाई आदिकवि भानुभक्त आचार्यले रामायणमा यसरी प्रस्तुत गरेका छन्,
हे राजन् तिमी रामलाई अहिले हुन् पुत्र मेरा भनी
भन्छौ पुत्र त हुन् तथापि इ त हुन् चौधै भुवनका धनी
भूभार् हर्ननिमित्त आज भगवान् यस् पृथ्बिलोकमा झर्या
कौशल्यातिर जन्मनू पनि थियो सो सत्य अ‍ैह्ले गर्या ।
(रामायण बालकाण्ड)
वनजङ्गलमा बसेर सामान्य जीवनयापन गर्ने ऋषिमहर्षिका कार्यमा दुष्ट प्रवृत्ति भएकाहरू बिघ्न हाल्थे । लोककल्याणकारी भावनाले गरेका यज्ञयज्ञादिमा बाधा पारी भाग्थे । रामको आगमनपछि यस्ता दुष्टहरूले सजाय पाए । ऋषिहरूले निश्चिन्त भएर विद्याअध्ययन–अध्यापन र यज्ञादि कार्य गर्न पाए । गुरुकुलमै रहेर रामका चार भाइले शिक्षा लिए । विद्याआर्जन गरी गुरु विश्वामित्रका साथ जनकपुर गए । राजा जनकले ठूलो उत्सव आयोजना गरी सीताको स्वयम्बर गर्न लागेका थिए । रामले ठूला वीरले नसकेको विशाल शिवधनु उचालेर देखाइदिए । यसै पराक्रमबाट प्रभावित भएर सीताले बरमाला पहि¥याइन् । अरू तीन भाइलाई पनि जनककै कुलकी कन्या दिइयो । पितृआज्ञा पूरा गर्न उनले अयोध्याको गद्दीसमेत त्यागे । पितृआज्ञाको उल्लङ्घन गर्नुभन्दा १४ वर्षको वनबास नै प्यारो ठाने । बाबुआमाप्रति गर्नुपर्ने कर्तव्यको ठूलो उदाहरण दिए, रामचन्द्रले ।
रामले आफ्नो कर्तव्य पूरा गरेकाले नै सीताले पनि पत्नीधर्मको पालना गरिन् । भाइ लक्ष्मणले पनि दरबारको सुख छोडी दाइलाई साथ दिए । आफूलाई राजा बनाउन माता कैकेयीले गरेको प्रपञ्चबाट मुक्त भाइ भरतले कर्तव्यको पालना गरे । पाएको गद्दी पनि रामको प्रतिनिधिमात्र भई बसे । राम चौध वर्ष वनवास बस्दा पनि भरतमा राजा हुने लालसा पलाएन ।  
 वनमा रहँदा रावणले सीताको हरण ग¥यो । रावणको लंकासम्म पुग्न धेरै कष्ट खेप्नुप¥यो । सुग्रीव र दूत हनुमानको सहयोगबाट राम लङ्कासम्म पुग्न सके । सीताहरण नगरेको भए लडाइँको आवश्यक्ता पर्दैनथ्यो होला । घनघोर लडाइँ भयो । सत्यको जित भयो । रावणको अन्त्य भयो । लङ्काजस्तो वैभवशाली राज्यको राजा भई बस्न पनि सक्थे तर रामले त्यसो गरेनन् । रावणका भाइ विभिषणलाई लंका सुम्पी जन्मभूमि फर्के । सुखसुविधा पाए पनि जन्म दिने आमा र जन्मभूमिभन्दा ठूलो केही हुन सक्दैन भन्ने ठूलो सन्देश दिए ।
‘रामराज्य’ । लोककल्याणकारी राज्यको उदाहरण दिनुप¥यो भने सबैले लिने नाम । श्रीमद्भागवत्लगायतका पुराण वा रामायणलाई आधार मान्ने हो भने रामराज्यमा लोकलाई कुनै किसिमका कष्ट थिएन । शासन गर्ने व्यक्ति धर्म (कर्तव्य) पालक भयो भने त्यसअन्तर्गत निकाय छाडा हुन सक्दैन भन्ने उदाहरण थियो रामराज्य । जनताले के चाहन्छन् भन्ने बुझ्न कर्मचारी खटिएका हुन्थे ।
रामले मानवजातिलाई कर्तव्यको महìव सिकाए । जुनसुकै भूमिकामा रहँदा पनि आफ्नो धर्म छोड्नुहुँदैन भन्ने शिक्षा दिए । मर्यादाबाट च्यूत नभएकाले उनी मर्यादापुरुषका रूपमा लोकप्रिय भए । रामको महिमाबारे ऋषि वाल्मीकिले सातकाण्डको रामायण नै लेखेका छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना