• ६ चैत २०८०, मङ्गलबार

अझै धामीझाँक्रीकै भर

blog

हुम्ला समाचारदाता

हुम्ला, भदौ १३ गते । अहिलेको समयमा पनि हुम्लाका मानिस बिरामी हुँदा उपचारका लागि धामीझाँक्रीको भर पर्ने प्रचलन हटेको छैन। बिरामीलाई भूतप्रेत लागेको आशङ्कामा धार्मिक मान्यताअनुसार धामीसँग पु-याएपछि निको हुन्छ भन्ने अन्धविश्वासले यस्तो प्रचनल बढ्दै गरेको हो।

सिमकोट गाउँपालिका–५ की बाँचकली रावतले २३ वर्षकी छोरी बिरामी भएपछि घण्टपाल देवताको धामीकोमा पु-याएको बताउनुभयो। नबोल्ने, रुने, कराउने, हिँड्न नसक्ने भएपछि उहाँले छोरीलाई धामी बसाल्न लैजानुभएको हो। 

रावतको घरबाट जिल्ला अस्पताल १५ मिनेटमा पुग्न सकिन्छ। उहाँले शरीरको बिमार नभएर भूतप्रेत लागेकै कारण धामी बसालेर उपचार गरिएको जिकिर गर्नुभयो। उहाँले पाँच दिनदेखि बिरामी छोरीलाई अस्पताल पु-याउनुभएको छैन। 

खार्पुनाथ गाउँपालिका–४ का बबरजङ्ग हमालले अधिकांश गाउँलेले बिरामी भएपछि सुरुमा धामीसँग गराएर मात्र उपचार गर्ने बताउनुभयो । उहाँले साना बालबालिकालाई रुघाखोकी, ज्वरो आए, निमोनिया र पखाला लागे पनि सुरुमा बिरामी शिशुलाई उपचारका लागि धामी बसाल्ने गरेको बताउनुभयो। अदानचुली गाउँपालिका–२ का परबहादुर थापाले आठ दिनअघि प्रसूति हुन नसकेकी महिलालाई उपचारका लागि धामी बसाल्न लगिएको बताउनुभयो। उहाँले गर्भवती महिला बिरामी भएपछि परिवारका सदस्यले धामीको घरमा पु-याउने बताउनुभयो।