• ६ चैत २०८०, मङ्गलबार

कन्चनिया पुल निर्माणमा ढिलाइ

blog

जानु पाण्डे

कपिलवस्तु, भदौ १३ गते  । कपिलवस्तुको शिवराज नगरपालिका–११, लालपुर र शीतलापुरलाई जोड्ने कन्चनिया खोलामा पुल निर्माण समयमा सम्पन्न नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ। नगरपालिकाको खरेन्द्रपुर हुँदै नेपाल–भारत सीमावर्ती कृष्णनगर बजार जोड्ने खण्डमा सडक कालोपत्रेसँगै पुल निर्माण कार्य भइरहेको छ। पूर्व–पश्चिम राजमार्गदेखि उत्तरका जनता लाभान्वित हुने गरी पुल निर्माणका लागि सङ्घीय सरकारले हुलाकी राजमार्गअन्तर्गत बजेट विनियोजन भएको थियो। 

निर्माण समय अवधि सकिन लाग्दासम्म पुलका दुई छेउका पर्खाल मात्र निर्माण भएको छ। पुलको छत हाल्न अझै बाँकी रहेको छ। यता वर्षाका कारण आउजाउ गर्न बनाइएको डाइभर्सनसमेत बाढीले बगाएको छ। डाइभर्सन बगाउँदा स्थानीयलाई आउजाउ गर्न जोखिम मोल्नु परेको लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले बताउनुभयो। 

सो पुल सात करोड ९४ लाख रुपियाँको लागतमा निर्माण हुन लागेको हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका प्रमुख विष्णुबाबु पाण्डेले बताउनुभयो। सडकका लागि जग्गा व्यवस्थापन गर्न स्थानीयले नदिएपछि एउटा खोलामा दुई स्थानमा पुल बनाइन लागेको हो। काम सुरु गर्न ढिलाइ भएका कारण निर्धारित समयमा योजना सम्पन्न नभएको प्रमुख पाण्डेले बताउनुभयो। पछिल्लो समयमा निर्माण कार्यले गति लिएको र हाल वर्षाको कारणले पुल निर्माण कार्य स्थगन गरिएको पाण्डेको भनाइ थियो।

सो पुल २०७६ साल फागुन १८ गते ३० महिनाभित्र सम्पन्न गर्ने गरी सिरुवा कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको थियो। कोरोना सङ्क्रमणले गर्दा पुल निर्माणको काम ढिलाइ भएको निर्माण कम्पनीका ठेकेदार दिनेश पौडेलले बताउनुभयो। कम्पनीले म्याद थप मागी एक वर्षभित्र काम सक्ने बताएको छ।