• ६ चैत २०८०, मङ्गलबार

खोेलाबाट पानी तान्न ऊर्जा नचाहिने

blog

राधाकृष्ण डुम्रे 

वालिङ, भदौ १३ गते । स्याङ्जाको गल्याङ नगरपालिका–११, लबरकोटमा आधुनिक हाइपम्पबाट लिफ्टिङ सिँचाइ योजनाको परीक्षण सुरु भएको छ। इन्धन तथा बिजुलीको प्रयोगबिना गरिने यो लिफ्टिङ नेपालकै पहिलो भएको गल्याङ जिल्ला सिँचाइ डिभिजन कार्यालयको दाबी छ। यो स्तरको जलाशयबाट पानी तान्ने मेसिन नेपालकै पहिलो भएको सिँचाइ डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हरिदत्त पौडेलको भनाइ छ। 

बिजुली तथा इन्धनको प्रयोगबिना पानी लिफ्टिङ हुन थालेसँगै बाँझो रहेको जमिनमा समेत खेती गर्न पाइने भएपछि स्थानीयवासी उत्साही भएका छन्। स्थानीय कृषक विमल खनाल भन्नुहुन्छ, “सिँचाइका लागि पर्याप्त पानी अभावका कारण गाउँको जग्गा बाँझै रहेकोमा अब हरियाली हुने भयो। पर्याप्त पानी उपलब्ध हुने भएपछि काम गर्ने उत्साहसमेत थपिएको छ।” 

खोला तथा नहरको पानीलाई पाइपको माध्यमबाट टर्वाइनमा खसाली गियरको माध्यमले मोटर घुमाउँदा मोटरले पानी फाल्ने प्रविधि नै हाइपम्प लिफ्टिङ प्रविधि हो। एक सयदेखि एक सय पचास लिटर प्रतिसेकेन्ड पानी फाल्ने यो प्रविधिले २० हेक्टर जमिनमा सजिलै सिँचाइ गर्न सकिने छ। ६० मिटर पानी पम्पिङ गरी बाह्र सय मिटरको दूरीसम्म सजिलै पानी पुग्ने हुँदा निम्न स्तरका कृषकका लागि अत्यन्तै राहत मिल्ने योजनाका इन्जिनियर अभिशेख डुम्रेले बताउनुभयो।

जिल्ला सिँचाइ कार्यालय स्याङ्जाको समन्वयमा यो योजना सञ्चालन भइरहेको हो। ७२ लाख रुपियाँ लागतमा आयोजना सम्पन्न हुने जिल्ला सिँचाइ कार्यालय स्याङ्जाका प्रमुख पौडेलले जानकारी दिनुभयो। योजनाको परीक्षण सफल भएमा नेपालको कृषि क्षेत्रमा निक्कै राम्रो प्रभाव पर्ने प्रमुख पौडेलको भनाइ छ। सिँचाइको अभावमा बाँझो भएका खेतीयोग्य जमिनका लागि यो प्रविधि वरदान हुने पौडेलको दाबी छ। 

लिफ्टिङ सिँचाइ आयोजना आटिस्टा कम्पनीले निर्माण गरिरहेको हो। चौबीसै घण्टा मेसिन सञ्चालन गर्न सकिने तथा मेसिनमा खराबी आएको खण्डमा कम्पनीले नै मर्मत गर्ने सहमति रहेको सिँचाइ कार्यालयका प्रमुख पौडेलले जानकारी दिनुभयो। आयोजना सुरु गर्दा लागत बढी भए पनि सम्पन्नपश्चात् खासै खर्च नआउने हुँदा कृषकलाई थप खेती गर्न ऊर्जा मिल्ने कार्यालयको भनाइ छ। करिब चार इन्चको पाइपबाट पानी तानेर सिँचाइका लागि प्रयोग गर्न सकिने भएपछि साउनेपानी लबरकोटका ८० घरपरिवार खुसी भएका छन्। 

गाउँको खेतीयोग्य जमिनलाई लक्षित गरी लिफ्टिङ आयोजना सञ्चालन गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो। उहाँ भन्नुहुन्छ, “सिँचाइको अभावमा लबरकोट गाउँका नागरिक विस्थापित हुने अवस्था थियो अब गाउँ नै हराभरा हुने भयो।”