ज्योतिषशास्त्रीय दृष्टिमा वि.सं. २०७३

Purushottam bhattraiपुरुषोत्तम भट्टराई

बृहस्पतिको मध्यमगति पाँच कला ० विकला हुन्छ । मध्यम गतिका हिसाबले बृहस्पतिले एक राशि (३० डिग्री) पार गर्न जति समय लगाउँछ, त्यसलाई एक संवत्सर भनिन्छ । संवत्सर भनेको वर्षको पर्याय शब्द हो । बृहस्पतिको गतिका आधारमा उत्पन्न हुने संवत्सरलाई बार्हस्पत्य संवत्सर भनिन्छ । एक राशिचक्र अर्थात् भगण पूरा गर्नलाई बृहस्पतिलाई लगभग १२ वर्ष लाग्छ, त्यसैले बृहस्पतिको मध्यम मानले एक राशि भोग गर्न जति समय लाग्छ, त्यसलाई नै एक संवत्सर भनिन्छ । यस्तो संवत्सरको प्रवृत्ति चैत्रशुक्ल प्रतिपदाबाट हुन्छ ।
वेदाङ्ग ज्योतिषको कालमा पञ्चसंवत्सरात्मक द्वादशयुग व्यवस्था थियो । विष्णु आदि गरिएका १२ देवता अधिपति भएका ती प्रत्येक युगमा पाँच–पाँच वर्ष हुन्थे । ती प्रत्येक युगका पाँच वर्षलाई नै क्रमशः संवत्सर, परिवत्सर, इदावत्सर, अनुवत्सर र इद्वत्सर गरी पाँच प्रकारका संवत्सरको गणना गर्ने पद्धति प्रचलनमा थियो । यो गणना परम्परा पौराणिककाल एवं महाभारतकालमा पनि थियो ।
बार्हस्पत्य मानअनुसार पाँच संवत्सरको एक युग मानिएको छ । यस्तै जसरी सूर्यले एक भगण पूरा गर्न लगाउने समयलाई वर्ष र भगणको द्वादशांश पूरा गर्न लगाउने समयलाई मास भनिन्छ, त्यसरी नै बृहस्पतिको भगण प्रदक्षिणाकाललाई संवत्सर र त्यसको द्वादशांशलाई मास भनिन्छ, जुन मास लगभग सौर वर्ष तुल्य हुन्छ । माथि उल्लेख गरिएको पञ्चसंवत्सरात्मक द्वादशयुग व्यवस्थामा प्रत्येक युगमा गणना हुने संवत्सर भनेका प्रभव आदि गरिएका ६० संवत्सर नै हुन् र ती बाह्र युगका अधिपति क्रमशः विष्णु, बृहस्पति, इन्द्र, अग्नि, त्वष्टा, अहिर्बुध्न्य, पितृ, विश्वदेव, सोम, इन्द्र+अग्नि, अश्विनीकुमार र भग (सूर्य) हुन् । यस्तै प्रत्येक युगका संवत्सर, परिवत्सर, इदावत्सर, अनुवत्सर र इद्वत्सरका अधिपति क्रमशः अग्नि, सूर्य, चन्द्र, प्रजापति र शिव हुन् । प्रभव आदि साठी संवत्सर अनादि परम्परादेखि चलिआएका हुनाले हिन्दु सनातन धर्मअनुसारका कृत्यमा सकाम सङ्कल्प गर्दा तिनै प्रभव आदि संवत्सरहरू कै उच्चारण गरिन्छ ।
वर्षलाई मास, दिन, घडी आदिमा विभाजन गरिएजस्तै भगणलाई पनि राशि, अंश, कला, विकलाका रूपमा विभाजन गरिन्छ । यसैगरी सात अहोरात्रको एक सप्ताह वा हप्ता, १५ अहोरात्र बराबर एक पक्ष, दुई पक्ष बराबर एक मास, दुई मास बराबर एक ऋतु, तीन ऋतु बराबर एक अयन र छ ऋतु वा १२ मास बराबर एक वर्षका क्रमले गणना गरिन्छ । यी गणना सबै सूर्यका गतिचक्रसँग सम्बन्धित छन् । यीमध्ये ऋतु गणनाका क्रममा भौगोलिक स्थितिअनुसार केही भिन्नता पाउन सकिन्छ भने सौरमास गणनामा पनि सर्वत्र एकरूपता देखिँदैन । सूर्यको स्पष्ट गतिमा हुने विचलनका कारण सबै मासमा बराबर दिन सङ्ख्या नभई केही फरक पर्न सक्छ । हाम्रो लोकव्यवहारमा प्रचलित वर्ष, अयन, ऋतु आदिको गणना सौरमानका आधारमा गरिन्छ भने मास, तथा तिथिको गणना चान्द्रमानका आधारमा गरिन्छ । आशौच निर्णय, औषधोपचार–चिकित्सा आदिमा दिनको गणना गर्दा सौरसावन दिन वा भूमिसावन दिनका आधारमा गरिन्छ भने घटिका आदिको गणना नक्षत्रमानबाट गर्नुपर्छ । सौरसावन दिन वा भूमिसावन दिन भनेको एक सूर्योदयदेखि अर्को सूर्योदयसम्मको समय हो । ज्योतिषशास्त्रमा वर्णन गरिएका विविध मान नै कालगणनाका आधार हुन् । प्रयोजनअनुसार कालगणनाका लागि मुख्यतः छुट्टाछुट्टै नौवटा मानका बारेमा सिद्धान्त ज्योतिषका ग्रन्थहरूमा वर्णन गरिएको पाइन्छ । गणना गर्दा आवश्यकताअनुसार सम्बन्धित मानबाट गर्नुपर्छ । ग्रहसाधना गर्दा आफ्नै मानबाट गर्नुपर्छ ।
सूर्यले राशिचक्र भोग गर्दा जति समय लाग्छ, त्यसलाई एक सौरवर्ष भनिन्छ, जुन १२ महिना (३६५दिन) को हुन्छ । एक सौर वर्ष बराबर देवता र दानवको एक अहोरात्र (रातदिन) हुन्छ तर देवता र दानवको रातदिन विपरीत क्रमले हुन्छ । अर्थात् देवताको रात हँुदा दानवको दिन र देवताको दिन हँुदा दानवको रात हुन्छ, जुन गोलीयरूपमा सिद्ध हुन्छ । यसैगरी चन्द्रमानअनुसार एक महिना अर्थात् एक औँसीदेखि अर्को औँसीसम्मको समय पितृहरूको एक अहोरात्र हुन्छ । त्यसैले औँसीमा श्राद्ध गर्दा पितृहरूलाई हरेक दिन प्राप्त हुन्छ । सौर वर्षको प्रमाणअनुसार चार लाख ३२ हजार वर्षको कलियुग, आठ लाख ६४ हजार वर्षको द्वापरयुग, १२ लाख ९६ हजार वर्षको त्रेतायुग र १७ लाख २८ हजार वर्षको सत्ययुग हुन्छ र यी सबैलाई मिलाएर अर्थात् ४३ लाख २० हजार वर्ष बराबरको एक महायुग हुन्छ र यस्तो ७१ महायुग बराबरको समयावधिलाई एक मन्वन्तर भनिन्छ । १४ मन्वन्तर बराबर अर्थात् ९९६ महायुगको
(सन्ध्या–सन्ध्यांशसहित एक हजार महायुग )को प्रमाण बराबर ब्रह्माजीको एक दिन र त्यति नै प्रमाण बराबरको रात हुन्छ ।
ग्रह गणनाका साथसाथै त्यसका आधारमा गरिने कालगणना (पञ्चाङ्ग गणना) लोकव्यवहारका लागि प्रत्यक्षरूपमा देखिने ज्योतिषशास्त्रीय उपलब्धि हो । पञ्चाङ्गमा तिथि, बार, नक्षत्र, योग र करण हुन्छन् । यी पाँच चीज (अङ्ग) भएकाले नै यसलाई पञ्चाङ्ग भनिएको हो ।
सूर्यको गतिचक्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने विशुद्ध वैज्ञानिक र पूर्ण प्राकृतिक अनि नेपाली जनमानसमा भिजेको लोकप्रिय संवत् हो विक्रम संवत् । कालगणनामा विक्रम संवत्को गणनाक्रमअनुसार चैत ३० गते मङ्गलबार २०७२ वर्ष व्यतीत भएर वैशाख १ गते बुधबारबाट नयाँ वर्ष अर्थात् २०७३ औं वर्षको प्रारम्भ हुँदैछ । पौरस्त्य मान्यताअनुसार सूर्यको भ्रमणमार्गमा रहेको काल्पनिक दीर्घ वृत्ताकार कक्ष (जसलाई क्रान्तिवृत्त भनिन्छ ) र सूर्य विम्बको खगोलीय अवस्थितिका आधारमा नै विक्रम संवत्अनुसार वर्ष, अयन, ऋतु, मास, दिन, एवं होरा (घण्टा) को गणना गरिन्छ । प्राकृतिक सूर्य विम्बको प्रत्यक्ष खगोलीय अवस्थिति र गतिको आधारमा गणना गरिने भएकाले नै यसलाई वैज्ञानिक एवं प्राकृतिक भनिएको हो ।
ब्रह्माण्डमा अवस्थित यावत् ज्योतिर्मय पिण्ड र तिनको प्रभावको अध्ययन गर्ने शास्त्र हो ज्योतिषशास्त्र । ब्रह्माण्डीय पिण्डमध्ये ग्रह तथा नक्षत्र नै त्यस्ता पिण्ड हुन्, जसले पृथ्वी र समग्र पृथ्वीवासीमा प्रत्यक्षरूपमा प्रभाव पार्न सक्छन् । वर्षचक्र परिवर्तनको क्रममा सूर्यलगायतका अन्य ग्रहपिण्डको अवस्थितिका आधारमा नयाँ वर्षभरि समग्र विश्व वा कुनै राष्ट्र विशेष एवं कुनै क्षेत्रविशेषमा के–कस्ता शुभाशुभ फल प्राप्त हुन्छन् भनेर ज्योतिषशास्त्रका आधारमा विचार गर्ने गरिन्छ ।
प्रभव आदि साठी संवत्सरमध्ये यस वर्ष (चैत्रशुक्ल प्रतिपदा, २०७२ चैत्र २६ गते शुक्रबारबाट) सौम्य नाम गरेको संवत्सर प्रवृत्त भएको छ । सौम्य संवत्सर त्रिचालीसाँैं संवत्सर हो । साठी संवत्सरमध्ये प्रत्येक पाँच–पाँच संवत्सरलाई एक युग मानी बाह्रवटा युगको एक चक्र मान्ने ज्योतिषीय परम्परा छ । त्यसअनुसार त्रिचालीसौँ सौम्य संवत्सर नवम युगको तेस्रो संवत्सर हो र नवम युगमा पर्ने पाँचमध्ये बयालीसौं र त्रिचालीसौं संवत्सर श्रेष्ठ अर्थात् शुभफलदायक मानिन्छ । स्वभावतः सौम्य संवत्सरमा शुभ फलको उदय हुनेछ । हरेक युगको तेस्रो संवत्सरलाई इदावत्सर भनिन्छ र यस वर्ष वर्षा एवं शरद् ऋतु (श्रावणदेखि कात्तिक)मा अत्यधिक वर्षा हुनेछ । बाह्र युगमध्ये नवौँ युगको अधिपति सोम हो ।
यस वर्ष वैशाख १९ गते आइतबार पूर्वमा अस्ताएको शुक्र असार २४ गते शुक्रबार पश्चिममा उदय हुनेछ भने पुनः चैत ८ गते मङ्गलबार पश्चिममा अस्ताएको शुक्र चैत १२ गते शनिबार पूर्वमा उदय हुनेछ । शुक्रको उदयास्तलाई विचार गर्दा बारका आधारमा धेरै हावाहुरी चल्ने, शत्रुबाधा, भयप्राप्तिजस्ता अशुभ फल हुनेछन् । मासका आधारमा चौपायाको नाश, अनावृष्टि, भूमिगत जलको शोषण हुनेछ भने जनताले कठोर शासनको सामना गर्नुपर्नेछ ।
यस्तै भदौ २५ गते शनिबार मूल नक्षत्रमा पश्चिममा अस्ताएको बृहस्पति असोज २१ गते शुक्रबार ज्येष्ठा नक्षत्रमा पूर्वमा उदय हुनेछ । बार्हस्पत्यमानअनुसार यस्तो वर्षलाई ज्येष्ठ वर्ष पनि भनिन्छ । ज्येष्ठ वर्षमा जाति, कुल धन, समूहका उच्च व्यक्ति एवं धार्मिक व्यक्तिलाई समेत हानी हुनेछ भने अन्न उत्पादनमा कमी हुनेछ ।
चैत्रशुक्ल प्रतिपदाको दिन जुन बार पर्छ त्यस बारको अधिपति ग्रह नै त्यस संवत्सरको राजा हुनेछ र वैशाख सङ्क्रान्तिमा जुन बार हुन्छ त्यस बारको अधिपति ग्रह त्यस वर्षको मन्त्री हुनेछ भन्ने ज्योतिषशास्त्रीय मान्यताअनुसार यस वर्ष चैत्रशुक्ल प्रतिपदा (चैत २६ गते) शुक्रबार परेकाले शुक्र राजा हुनेछ भने वैशाख सङ्क्रान्ति बुधबार परेकाले मन्त्रीपदमा बुध आसीन भएको छ । यस्तै ग्रहपरिषद्मा शुक्र राजा भएको वर्षमा अधिक वर्षा हुनेछ, जलाशय पूर्ण हुनेछन् । दूध, फल एवं अन्नको प्रशस्त उत्पादन हुनेछ र जनता सुखी हुनेछन् । ग्रहपरिषद्मा मन्त्री बुध भएकाले सबैमा विलासिता बढ्नेछ, जसका कारण राजनीतिक स्थितिसमेत प्रभावित हुनेछ । यस्तै मन्त्री बुध भएको वर्षमा जनता चोर डाँका र रोगका कारण आक्रान्त बन्नेछन् तर पनि जनतामा विजय र सुखको अनुभूति हुुुुुुुुनेछ । गाईको दूधको उत्पादन बढ्नेछ । जौ, मुसुरो, चनाजस्ता वस्तुको मूल्य बढ्नेछ ।
धनेश पदमा आसीन शनिका कारण व्यापारीवर्गमा पुँजीको चिन्ता हुनेछ । दुर्गेश पदमा बसेको बुधका कारण शासक वर्ग मनोरञ्जनमा रमाउनाले राज्यकोषको दुरूपयोग बढ्नेछ । आन्तरिक राजस्वको चुहावट हुनेछ । सूर्य आद्रा प्रवेश गरेको समय विचार गर्दा द्वितीया तिथि (२०७३ असार ८ गते) बुधबार, पूर्वाषाढा नक्षत्र, ब्रह्मयोग परेकाले लोकमा मिश्रित फल हुनेछ । जगल्लग्न कुण्डलीलाई विचार गर्दा वर्ष प्रवेशकालमा लग्नेश मङ्गल स्वगृही भई शनिका साथ लग्नमा नै बसेकाले नेतृत्व वर्ग र राज्यपक्ष निर्णयमा अडिगजस्तो देखिए पनि कार्यान्वयन पक्ष फितलो हुनेछ । निकटका शक्ति नै त्यसमा बाधकका रूपमा देखा पर्नेछन् । धार्मिक एवं सांस्कृतिक क्षेत्रमा हुने अतिक्रमणका प्रयास विफल हुनेछन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना