• ६ चैत २०८०, मङ्गलबार

भदौ २२ भित्र उम्मेदवार सूची सिफारिस गर्न पार्टी कमिटीलाई निर्देशन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ ११ गते । नेकपा (एमाले) ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार सूची भदौ २२ गतेभित्र सिफारिस गर्न पार्टीको सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीलाई निर्देशन दिएको छ । शनिबार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले सो निर्देशन दिएको हो । बैठकले उम्मेदवारको अन्तिम टुङ्गो लगाउने जिम्मेवारी केन्द्रीय कमिटीमा रहने गरी सो निर्देशन दिएको हो । 

सम्बन्धित प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटीले प्रतिनिधिसभा र सम्बन्धित प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले सोही क्षेत्रको उम्मेदवार सिफारिस गर्न बैठकले निर्देशन दिएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार एक जना महिला अनिवार्य रहनेगरी दुवै निर्वाचनका लागि ३ जना उम्मेदवार सिफारिस गर्नुपर्नेछ । एमालेले उम्मेदवार छनाेटको मापदण्ड पनि तय गरेको छ । 

पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनको योगदान, सन्तुलन र समावेशिता, निर्वाचन कानुन बमोजिमको योग्यता पुगेको व्यक्तिलाई प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार तय गर्न सक्ने मापदण्ड तय गरिएको पनि प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङले बताउनुभयो । एमालेले सिफारिस गरेका कुनै पनि उम्मेदवारले पार्टीले अन्तिम निर्णय नगरेसम्म आफू उम्मेदवार भए भनेर गतिविधि नगर्न पनि सचेत गराएको छ । 

प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङले भन्नुभयो, ‘आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुको सिफारिस प्रक्रिया र उम्मेदवारहरुको छनौंटको मापदण्ड पनि सो दलले बताएको छ । मापदण्डअनुसार जिल्लाका सम्बन्धित क्षेत्रको क्षेत्रीय कमिटीले सम्बन्धित क्षेत्रको उम्मेदवार सिफारिस गर्ने, एउटा मात्रै निर्वाचन क्षेत्र रहेका जिल्लाहरुले जिल्ला कमिटीको बैठकबाट उम्मेदवार सिफारिस गर्ने, प्रदेशसभा निर्वाचनको उम्मेदवार पनि सोहीअनुसार सम्बन्धित निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले गर्ने, गरिएको सिफारिसमा सम्बन्धित कमिटीको अन्य राय भएमा सो समेत उल्लेख गरेर सिफारिस गर्ने भनेको छ ।

त्यस्तै, सिफारिसमाथिको अन्तिम निर्णय केन्द्रले गर्ने, प्रत्येक निर्वाचन क्षेत्रबाट तोकिएको मापदण्ड पूरा गरेका, कम्तिमा एक जना महिलासहित ३ जना उम्मेदवारको नाम सिफारिस गर्ने, निर्णय नभएसम्म सिफारिसमा परेका कुनै पनि व्यक्तिले आफ्नो उम्मेदवारी पक्का भएजस्तो व्यवहार गर्न नमिल्ने एमालेले निर्णय गरेको छ । समानुपातिकका लागि बन्दसूचिको उम्मेदवारको प्रस्ताव पठाउँदा सन्तुुलन, समावेशिता र अवसरको न्यायोचित वितरणलाई समेत ध्यानमा राखी सम्बन्धित जिल्ला कमिटीको बैठकबाट सिफारिस गर्नुपर्ने भनेको छ । 

सो सिफारिसमा सम्बन्धित प्रदेश कमिटीले आफ्नो अन्तिम कुनै राय भए सो समेत उल्लेख गरेर सिफारिस गर्न सो दलले भनेको छ । जनाधार भएका र निर्वाचन प्रयोजनलाई समेत ध्यानमा राखेर अन्य पार्टीबाट प्रवेश गराइएकाको हकमा विशेष निर्णय लिने पनि एमालेले निर्णय गरेको छ ।

स्थानीय तह निर्वाचनको छानबिन कार्यदलले विभिन्न व्यक्तिहरुको बारेमा परेको उजुरी र यसमाथिको छानवीन कार्य दलको कामको बारेमा संयोजक तथा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बैठकलाई जानकारी गराउनुभयो । 

एमालेले निर्वाचन परिचालनमा युवाहरुलाई समेटने गरी १५ देखि २५ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गर्ने निर्णय पनि गरेको छ । अनेरास्ववियू, राष्ट्रिय युवा सङ्घ, नेपाल, खेलकुद महासङ्घका आबद्ध युवाहरुलाई समेटेर निर्वाचन परिचालन कमिटी बनाउने निर्णय पनि बैठकले गरेको एमालेले जनाएको छ । बैठकले हरेक पार्टी सदस्यलाई २ भोट थप्न र ५ भोट संरक्षण गर्ने नीति आम रुपमा अघि बढाउने निर्णय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङले बताउनुभयो ।

उहाँका अनुसार बैठकले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार निर्वाचन आयोगका सिफारिस गर्ने अख्तियार पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ । बैठकमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको स्थानीय तह निर्वाचन छानबिन समितिले आफ्नो कामबारे बैठकलाई जानकारी गराएको थियो । त्यसैगरी पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय सल्लाहकार परिषद्, लेखा आयोगले पनि बैठकमा आफ्नो कामको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।