नेपाली भाषा मास्ने खेती

baldev shaarma Adhikariडा. बलदेव शर्मा अधिकारी

सरकारी संरक्षणमा त्रिभुवन विश्वविद्यालयका केही प्राध्यापकहरूले हामी सबैको नेपाली भाषालाई आक्रमण र अपमान गरिरहेका छन् । सम्पूर्ण नेपालको एकतासूत्र बन्दै र विश्वव्यापी हुँदै जाँदा कथित सरलता र एकरूपताको आवरणमा यस भाषाको गौरवशाली लेख्य परम्परा ध्वस्त पार्ने लिखित प्रतिबद्धता अभिव्यक्त गरेका छन् । २०४६ सालअगाडि लोकसेवा आयोग र विश्वविद्यालय तहसम्म यस भाषाले पाएको सम्मानित स्थान क्रमशः खोसिँदै छ । सरकारी वा सामुदायिक विद्यालयमा समेत अङ्ग्रेजी भाषाकै माध्यमबाट पठन–पाठन गर्ने योजना अगि सारेर नेपालका सम्पूर्ण राष्ट्रभाषालाई एकै खेपमा समाप्त पारिँदै छ । चीन, जापान, दक्षिणकोरिया र युरोपका अधिकांश राष्ट्रहरू आफ्नै राष्ट्रभाषाका बलमा समुन्नत भएका होइनन् ? अङ्ग्रेजी भाषा जादूको छडी हो ? लिपि, वर्णमाला र वर्णविन्यास भाषाका मूल हुन् । मूल छिनाइदिएपछि हाँगाबिगा स्वतः मारिन्छन् भन्ने बोध गरेरै योजनाबद्ध ढङ्गले अराजकताको खेती गरिँदै छ ।
लिपिले भाषालाई बाह्य तथा स्थूलरूपमा चिनाएको हुन्छ । अङ्ग्रेजी भाषाको स्थूल परिचय रोमन लिपिले दिएजस्तै नेपाली भाषाको स्थूल परिचय देवनागरी लिपिले दिएको छ । हाम्रा प्राचीन अभिलेखहरूमा देवनागरी लिपिका पारम्परिक संयुक्त अक्षरहरू पर्याप्त परिमाणमा भेटिन्छन् । आदिकवि, कविशिरोमणि, युवाकवि, महाकवि, युगकवि, जनकविकेशरी, नाट्यसम्राट्, राष्ट्रकवि आदि हाम्रा स्वनामधन्य साहित्यकारका रचनाहरूको वाचन गर्न वञ्चित गराइँदै छ । पारम्परिक संयुक्त वर्ण वा अक्षर चिनाउन छाडिदिनेबित्तिकै अतीतसँगको हाम्रो सम्बन्ध स्वतः विच्छेद हुनेछ ।
तमसुक आदि लिखतहरू तथा नागरिकता आदि प्रमाणपत्रहरूमा ‘पद्मनाथको नाति, बुद्धलालको छोरो, विद्याधर’ जस्ता नामहरू वादी, प्रतिवादी, अधिवक्ता, न्यायाधीश आदि सम्बन्धित व्यक्तिले नै चिन्न नसकेपछि त्यस्ता लिखत वा प्रमाणपत्रहरूको वाचक जनशक्ति पनि विदेशबाट झिकाउनुपर्ने लज्जाजनक अवस्था आउनेछ ।
आधुनिक छपाइ–प्रविधिको सहयोगबाटै देवानागरी लिपिको एकरूपता र स्थायित्व सम्भव छ । आधुनिक प्रविधिलाई अधिकतम उपयोग गरी ‘सफ्टवेयर’ बनाएर सबै लिपिचिह्नलाई एउटै फन्टमा समाविष्ट गर्न सकिन्छ । प्रीति फन्टमै एकचोटिमा टङ्कित हुने द्द, द्ध, द्य आदिलाई तीनचोटि लगाएर टङ्कन गराइनुमा सरलता पनि छैन । एकचोटिमा हुने कामलाई अब तीनचोटि लगाएर गर्नुपर्ने भएको छ यसकारण सरलताका नाममा जटिलता ल्याइएको छ । चिनियाँ, अरबी र रोमन लिपिमै पनि जटिलताहरू छन् । कुनै व्यक्ति वा व्यक्तिसमूहको अहंकार वा स्वार्थको पोषणका लागि मौलिक पुरातत्वलाई परिवर्तन गर्न पाइँदैन । कठिनतालाई निहुँ पारेर सगरमाथालाई सम्याइदिने कि आरोहण गर्ने उपाय खोज्ने ? संयुक्त अक्षर चिनाउनका लागि सरल उपायहरूको खोजी भइसकेको छ । ‘आधा माथि, सिङ्गो तल’ भन्ने एउटै सूत्र यस समस्याको समाधान हो । पाठ्यक्रम मिलाएर सिकाउँदा कक्षा २ मै सबै बालबालिकाहरू पूर्णसाक्षर बन्नेछन् ।
उच्चारणलाई निहुँ बनाउने हो भने ‘विद्यालय’ शब्दको शुद्ध उच्चारण ‘विद्यालय’ हो । क्रियापदमा बाहेक ‘य, र, ल, व’सँग संयुक्त हुने वर्णबीचमा हुँदा त्यसको उच्चारण दुईचोटि गरिन्छ । ‘अद्वितीय’ (अद्वितीय?)को उच्चारण ‘अद्.बि.ति.य’ भयो भने के गर्ने ? अन्तःस्थ भनेकै अर्धस्वर हुन् र अद्र्धस्वरहरू स्वर पनि हुन् । देवनागरी लिपि अक्षरात्मक भएकाले यसमा स्वर वा अद्र्धस्वरभन्दा अगाडि आउने एकल व्यञ्जनलाई स्वर वा अद्र्धस्वरसँगै लेख्नुपर्छ । नसिकाउञ्जेल अ–आ, ए–ऐ, ए–य, ड–ढ, ट–त, ड–र’ आदिको उच्चारणमा पनि भ्रम छ । वर्णमालाबाट ती वर्णहरूलाई पनि हटाइदिने हो त ! उच्चारणसम्बन्धी बहुसम्मत मानक निर्धारण गरी सुनाइ, बोलाइ, पढाइ र लेखाइ क्रियाकलापका लागि अङ्क विभाजन गरेर उक्त सीपहरूको मूल्याङ्कनसमेत गर्नुपर्ने अनिवार्य प्रावधानबाट सजिलै समाधान निस्किन्छ ।
संस्कृतमा र नेपालीमा उस्तै रूप देखिने शब्दलाई तत्सम शब्द भनेका छन् । तत्सम शब्दलाई संस्कृतकै नियमअनुसार लेख्नुपर्छ भन्ने नियमका नियामकबाटै सर्वसम्मत नियमको अवज्ञा हुनुलाई रहस्यका रूपमा बुझ्नु आवश्यक छ । ‘द्योतक, विद्यालय, बुद्ध, पद्म, उद्देश्य, द्वितीय, विद्वान’् आदि शब्दहरू तत्सम शब्द हुन् । यी शब्दलाई ‘द्योतक, विद्यालय, बुद्ध, पद्म, उद्देश्य, विद्वान्’ आदि कुरूपीकरण कसरी गर्न पाइन्छ ?
देवनागरी लिपि मानवीय तथा भाषिक सम्पत्तिमात्र होइन, दैवी तथा सांस्कृतिक सम्पत्ति पनि हो । बुद्ध र उनका मूर्तिहरूभन्दा प्राचीनतम शब्द ‘बुद्ध, विद्या, विद्वान्, पद्म’ आदिलाई ‘बुद्ध, विद्या, विद्वान्, पद्म’ बनाउनुपर्ने र नबनाए बालबालिकाले दण्डभागी हुनुपर्ने ? यही सिको गरेर नवमूर्तिकारले बुद्धको सालिकमा टाई, कोट र पाइँट हालिदियो भने के होला ? दुईसय वर्षसम्म पनि टिक्न नसकेको धरहरा चाहिँ पुरातत्व हुने, त्यसको मौलिकताको सुरक्षाका लागि प्रधानमन्त्रीसमेतले एकएक महिनाको पारिश्रमिक दान गर्नुपर्ने अनि प्राचीनतम पुरातत्व देवनागरी लिपिलाई चाहिँ परिवर्तन गराएरै छोड्ने ढिपी सनातन धर्मसंस्कृतिकै विरुद्ध छ । नेपालका ९० प्रतिशतभन्दा बढी सङ्ख्यामा रहेका हिन्दु, बौद्ध, जैन, सिख आदि धर्मावलम्बीका धार्मिक ग्रन्थहरू संस्कृत भाषामा छन् । पूर्ण साक्षर भई शास्त्रीय छन्दका नेपाली कविता वाचन गर्न सक्नेले धार्मिक ग्रन्थका सबै मन्त्र तथा श्लोकहरू सहजतापूर्वक वाचन गर्छन् र अब नगरून् भनेर पनि संयुक्त अक्षर हटाइएको हो ? यो लिपि प्राचीनतम मौलिक पुरातत्व हो । देवनागरी लिपिका प्रत्येक अक्षरहरूमा अनेकौँ देवी–देवता छन् । ऐतिहासिक पत्रिका ‘माधवी’को पहिलो अङ्कमा ऋकार र लृकारकै नाममा मङ्गलाचरण गरिएको छ । पौराणिक शास्त्रहरूअनुसार कमलमा लेखिएका हाम्रा वर्ण वा अक्षरहरूबाट आद्या शक्ति सरस्वती तथा ब्रह्मा आदि देवताका साथै सम्पूर्ण प्राकृत संसारको उत्पत्ति भएको देखिन्छ । शिवपुराणअनुसार अदेखि क्षसम्मका पचास अक्षरहरू पशुपतिनाथका दिव्याङ्ग हुन् । मन्त्रजपको अक्षमाला तिनै अक्षरसँग सम्बन्धित छ । सोह्रवटा स्वरवर्णले तिथिको प्रतिनिधित्व गर्छन् ।
देवनगर भन्ने शब्दसँग काठमाडौँ उपत्यकाको अनन्य सम्बन्ध छ । देवनागरी लिपि तान्त्रिक लिपि हो । अक्षरात्मक यन्त्रलाई देवनगर भन्छन् । मूर्तिपूजापूर्वदेखि नै नेपालका तान्त्रिकहरूले देवनागरी लिपिकै अक्षरहरूको पूजा गर्थे । तन्त्रका आदिस्रोत महादेवको भूमि काठमाडौँ देवपत्तन अर्थात् देवनगर हो । देवराज इन्द्र, इन्द्रचोक, इन्द्रदहसमेतले काठमाडौँ देवनगर हो । देवनागरी लिपि चित्रात्मक लिपि भएकाले थप पुष्टि चित्रकार थरले गर्छ । देवनागरी लिपिका मातृकाक्षरको तीर्थ अर्थात् मातृतीर्थ काठमाडौँमै छ ।
देवनागरी लिपि नेपालको मौलिक, सांस्कृतिक र संविधानतः राष्ट्रिय लिपि हो । यसमा विचलन ल्याउने कार्य स्वतः असांस्कृतिक, असंवैधानिक र अराष्ट्रिय हो । ‘नेपालको संविधान, २०७२’ नै पढ्न नसक्ने गरी प्रतिबन्ध लगाउन कसरी पाइन्छ ? परराष्ट्रको भोजन पचाउनु अथवा पदीय उन्माद र अहंकारको पोषण गर्नुबाहेक लिपिबिगारासँग अर्को कारणै छैन ।
लिपि, वर्णमाला र वर्णविन्यास दूध र दूधको सेतोपनजस्तै सम्बन्धित छन् । संसारका कुनै पनि भाषामा वर्णविन्यास र व्याकरण अपरिवर्तनीय विषय हुन् । व्याकरण तथा भाषाविज्ञानसङ्गत भई मानक शब्दकोशमा प्रविष्टि पाएर त्यस भाषाका शिक्षित प्रयोक्ता वा साहित्यकारबाट सहजतापूर्वक स्वीकार गरिसकिएको वर्णविन्यासलाई अशुद्ध मान्ने अधिकार कुनै पनि तहका अधिकारीलाई हुँदैन । त्रिभुवन विश्वविद्यालयका दुईचार जना तानाशाही तथा निरङ्कुश प्राध्यापकहरूले नै विभिन्न निकायमा प्रवेश गरी पदीय अधिकारको ठाडै दुरुपयोग गरेर भाषिक अराजकताको खेती गरेका छन् । कोही अपराध गरिसकेर वर्षौं बितेपछि प्रायश्चित्त गरेँ भन्दै छन् त कोही अपराध दोहो¥याउनुलाई नै गुरुभक्ति मान्दै छन् । भाषा मानवीय सम्पत्ति हो । विशिष्ट र सूक्ष्मतम अभिव्यक्तिको एकमात्र माध्यम हो । ‘मित–मीत, फुल–फूल, नशा–नसा, शहर–सहर’ आदि शब्दहरूले वहन गरेको विशिष्ट अर्थलाई सामान्यीकरण गर्ने गरी गरिएको नियमन भाषाविज्ञानको सिद्धान्तविपरीत छ । भाषा यादृच्छिक हुन्छ यसकारण भाषाको नियम भाषा आफैँले बनाउँछ । प्रयोक्ताले त्यसकै अनुसरण गर्छ । शिक्षित प्रयोक्तासँग सम्बन्धित वर्णविन्यास लेख्य भाषाको सर्वाधिक संवेदनशील विषय हो । मातृभाषी, शिक्षित र सचेत प्रयोक्ताहरूको सर्वस्वीकृतिजन्य प्रयोगका आधारमा मानक शब्दकोश बनाइन्छ । नेपाली भाषाका अनेकौँ दिग्गज विद्वान् वा विद्वच्छिरोमणिहरूको अनेक पुस्ताले सिङ्गो जीवनभरि नै अध्ययन, अनुसन्धान, चिन्तन र मनन गरी ‘नेपाली भाषा कसरी शुद्ध लेख्ने ?’ भन्ने पुस्तिका १९९२ मा तयार गरे । त्यसै नियमको संशोधन र परिमार्जनपछि लेख्य नेपाली भाषाको पहिलो मानक शब्दकोश ‘बगली कोष’ १९९८ मा प्रकाशित गराए । अराजकताका प्रणेता मानिएका बालकृष्ण पोखरेलसमेतले मुक्त कण्ठबाट ‘नेपाली भाषाको सर्वाधिक वैज्ञानिक शब्दकोश’ भनी उक्त शब्दकोशकै प्रशंसा गरेका छन् । त्यसपछिका संशोधनहरूमा प्रत्यक्ष र परोक्षरूपमा उनकै भूमिका रहेको र तिनकाप्रति उनी स्वयंले विभिन्न समाचारमाध्यमबाट प्रायश्चित्त गरिसकेकाले संशोधनहरूको अनौचित्य स्वतः स्पष्ट हुन्छ ।
नेपाली वर्णविन्यासको आधारभूमि ‘बगली कोष’ नै हो । त्यसैको मान्यताअनुरूप नेपाली साहित्यको श्रीवृद्धि गर्ने स्वनामधन्य तथा राष्ट्रिय उपाधिप्राप्त सबै साहित्यकारहरूले सहजतापूर्वक प्रयोग गरेर आधिकारिकताको परिप्ुष्टि गरिसकेका छन् । आधिकारिक र प्रतिनिधिप्रयोक्ताहरूबाट परम्पराकै पक्षमा हार्दिक समर्थन जनाएर हस्ताक्षर गरिसकिएको पुस्तिका ‘गौतम प्रकाशन’बाट प्रकाशित भइसकेको छ । अतः सम्बन्धित निकायबाट स्थापित र वैज्ञानिक लेख्य परम्पराकै पक्षमा अविलम्ब परिपत्र गरिनु आवश्यक छ । अन्यथा नेपाली भाषा बचाऔँ अभियान, २०७२’का अभियन्ताहरू वैकल्पिक उपाय अवलम्बन गर्न बाध्य हुनेछौँ ।

(लेखक देवनागरी लिपि तथा नेपाली वर्णविन्याससम्बन्धी विषयका अनुसन्धाता तथा ‘नेपाली भाषा बचाऔँ, अभियान–२०७२’का संयोजक हुनुहुन्छ । )

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना