• ६ चैत २०८०, मङ्गलबार

बाजुराका ग्रामीण सडक सञ्चालनमा ल्याउँदै स्थानीय तह

blog

बर्खाले अवरुद्ध बुढीगङ्गा नगरपालिका–१० को डाब खप्तड पर्यटकीय सडक । तस्बिर : गोरखापत्र

शेरबहादुर सार्की

बाजुरा, भदौ ११ गते । बाजुरामा लामो समय देखि अवरुद्ध बन्दैगएका ग्रामीण सडक यतिबेला स्थानीय तहले पुन सञ्चालनमा ल्याउने भएका छन् । बाजुुराका नौ वटै स्थानीय तहमा हिउँदमा सुचारु हुँदैआएका सडक गत असारको पहिलो साताबाट अवरुद्ध बन्दै आएका थिए ।

बूढीगङ्गा नगरपालिका वडा न.–१० का वडा अध्यक्ष दलबहादुर साउँदले, अविरल वर्षाका कारण बाढीपहिरोले भत्किएका गाउँका सडकलाई भदौबाट नै सुचारु गर्ने गरी मर्मतको काम सुरु गरेको बताउनुभयो । उहाँले, गत बिहीबार भत्किएका गाउँका सबै सडकको अनुगमन गरेपछि मात्र शुक्रबारदेखि ती सडक मर्मतका लागि डोजर प्रयोग गरेको बताउनुभयो ।

बर्खाको समय यातायातको सास्ती खेप्दै आएका बाजुराका स्थानीयबासी यतिबेला गाउँका सबै ग्रामीण सडक सुचारु हुने भएपछि निकै हर्षित बनेका छन् । बाजुराका नौ वटै स्थानीय तहले यातायातमा सहज हुनेगरी यतिबेला गाउँका सबै ग्रामीण सडक सञ्चालनमा ल्याउने भएपछि स्थानीयबासी पनि खुसी छाएको हो । 

छेडेदह गाउँपालिका–२ का रामबहादुर बुढाले, गाउँमा गाडी नपुग्दा व्यापारीहरुलाई सामान ढुवानी गर्न असहज भएको बताउनुभयो । उहाँले, व्यापारीहरुले भरियामार्फत सामान ढुवानी गर्दा उपभोक्ताले पनि चर्को मुल्यमा दैनिक उपभोग्य सामग्री खरिद गर्नु परेको बताउनुभयो । 

यतिबेला स्थानीय तहले सडक पुनः सुचारु गर्ने तयारी गरेको छ । गाउँमा यातायातका सहज भएपछि स्थानीयबासीले पनि सस्तो मुल्यामा सामान खरिद गर्ने व्यापारी बुढाले बताउनुभयो । बुढाका अनुसार छेडेदह गाउँपालिका र जवाग्यश्वरीका स्थानीयवासीहरुको मुख्य कृषि पेशा आलु खेती हो । आलुले असार साउनमा राम्रो बजार लिने गथ्र्यो । लामो समय बाटो अवरुद्ध हुँदा गाउँमा उत्पादन भएका आलु स्थानीयले बजारसम्म लैजान सकेका छैनन् । 

स्थानीय तहले भदौबाट बाटो सुचारु गर्ने भएपछि यसले काँडा र जयवाग्यश्वरीका कृषकलाई पनि आलु बजारसम्म ढुवानी गर्न निकै सहज हुने भएको छ । जिल्लाको पूर्वीउत्तर क्षेत्र हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा नगरपालिका लगायतका ग्रामीण सडक पनि लामो समयसम्म अवरुद्ध बन्दै आएका छन् ।

बुढीनन्दा नगरपालिका–७ का स्थानीय व्यापारी बले रोकायाले, बर्खा बाढीपहिरो र हिउँदमा हिमपातका कारण सडक अवरुद्ध हुँदा यहाँका स्थानीयले सँधै सास्ती खेप्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हिउँदका केही दिनका लागि मात्र सडक सुचारु गरेपनि पुस माघमा हिमपात भएपछि सडकको हातल फेरि उस्तै हुन्छ । यसमा सङ्घीय सरकारको ध्यान जानु पर्ने हो तर सरकारले कुनै चाँसो देखाएको छैन ।’’

पुस, माघ र फागुन सम्मका लागि यतिबेला नै खाद्यान जोहो गर्नु पर्ने हुन्छ । त्यसका लागि अहिले बाटो सुचारु हुँदा त्यो सामान ढुवानी गर्न निकै सहज हुने रोकायाले बताउनुभयो । गौमुल, बडिमालिका, बुढीगङ्गा, त्रिवेणी र  छेडेदह लगायतका स्थानीय तहले यती बेला गाउँका सबै सडक सुचारु गर्ने भएका छन् । दशै र तिहारलाई लक्षित गरी स्थानीय तहले भदौबाट नै गाउँका सडक सुचारु गर्न खोजेको वडा अध्यक्ष साउँदले बताउनुभयो ।

त्रिवेणी नगरपालिका नगर प्रमुख कर्ण थापाले, स्थानीयहरुको सबै भन्दा पहिलो रोजाइ बाटो भएकोले उनीहरुको मागलाई ध्यानमा राखि दशै आगवै ग्रामीण सडक सुचारु गर्न जोड दिँदै आएको बताउनुभयो ।