• ६ चैत २०८०, मङ्गलबार

पानी नपर्दा खेतको धानबाली सुक्यो, किसान मर्कामा

blog

सर्लाहीको चन्द्रनगरमा पम्पसेट चलाएर धानमा पानी लगाउँदै किसान । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, भदौ ११ गते । सर्लाहीसहित तराईका जिल्लामा लामो समयदेखि पानी पर्न छाडेपछि रोपेको धानबाली सुक्न थालेको छ । धान सुक्न थालेपछि किसान चिन्तामा परेका छन् ।  बेलाबेलामा सिमसिमे पानी परे पनि ठूलो वर्षा नभए पछि रोपिएका धानबाली सुक्न थालेका छन् । पानी नपर्दा धान खेतमा धाँजा फाटेको किसानले बताएका छन् ।

तराईका किसान रातदिन आकाशतिर हेर्दै वर्षा कुरेर बसेका छन् । ईश्वरपुर नगरपालिका –१२, कालिञ्जोरका किसान गोपाल उमाराले मध्य भदौ भइसक्दा समेत पर्याप्त वर्षा हुन नसकेको गुनासो गर्नुभयो । मलखाद नपाएर आजित भएका किसानलाई वर्षा नहुँदा पीडा थपिएको उमाराले बताउनुभयो । “यो वर्ष पानी पर्नै सकेन, धान बाली हेर्नुस् सुकेर गइसक्यो” उमाराले भन्नुभयो, “मलखाद नपाएर हैरान भएका हामी किसानलाई वर्षाले पनि साथ दिएन ।” 

साउन मध्यतिर केही दिन सामान्य झरी पर्दा किसानले हतार हतारमा धान रोपे पनि त्यसपछि पानी नपरेको किसानको भनाइ छ । यो वर्ष असार, साउनमा पनि ठूलो पानी नपरेको र भदौंमा पनि खडेरी लागेको उमाराले भन्नुभयो ।    

“आजभोलि भन्दाभन्दै पानी पर्नै सकेन, धान सुकेर गइसक्यो, अब त पानी पर्ला भनेर आश पनि लाग्न छाड्यो” पराजुलीले भन्नुभयो ।

सिंचाइको सुविधा नरहेको क्षेत्रमा वर्षा नहुँदा महङ्गीको मलखाद र कामदार लगाएर रोपेको धान बाली सुकेर जाँदा निराश भई बस्नुपरेको लालबन्दी नगरपालिका –७, का किसान रङ्गनाथ पराजुलीले बताउनुभयो । “आजभोलि भन्दाभन्दै पानी पर्नै सकेन, धान सुकेर गइसक्यो, अब त पानी पर्ला भनेर आश पनि लाग्न छाड्यो” पराजुलीले भन्नुभयो ।

खोलामा पानी घटेकाले नहर तथा कुलोको पानी लाग्ने क्षेत्रमा पानी लगाउनकै लागि किसानबीच हानाथाप छ । पम्पसेट चल्ने ठाउँका किसानले महङ्गीको डिजेल खर्चेर धानमा पानी लगाइरहेका छन् । 

मङ्गो डिजेल खर्चेर सिंचाई गरिएको धानबालीबाट यो वर्ष खर्च उठाउन समेत मुस्किल पर्ने अवस्था रहेको किसानले गुनासो गरेका छन् । धानखेती हुने फाँटमा अहिले सिंचाइका लागि ठाउँ ठाउँमा पम्पसेट चलेका देखिन्छ ।  

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार सर्लाहीमा धानखेती हुने ४६ हजार ५०० हेक्टर जग्गामध्ये ९० प्रतिशतभन्दा बढी खेतमा रोपाइँ भएको छ । पानी नपर्दा अधिकांश क्षेत्रमा धानबाली सुकेर गइरहेको कार्यालयले जनाएको छ । सरकारले कृषि सिँचाइको लागि भन्दै बर्सेनि बजेट विनियोजन गरे पनि वास्तविक किसान लाभान्वित भएका छैनन् ।