नयाँ नेतृत्व पुरानै चुनौती

Shreemanश्रीमन नारायण

नेपाली काँग्रेसको हालै सम्पन्न महाधिवेशनले पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई अत्यधिक बहुमतले पार्टी सभापतिको पदमा निर्वाचित गरायो । महाधिवेशनले सभापति देउवालाई एकमना रूपमा पार्टीको काम सञ्चालन गर्न सहजता होस् भने ध्येयले बहुमत प्रदान गरेको छ । सामान्यरूपमा हेर्दा नवनिर्वाचित पार्टी सभापतिको निम्ति परिस्थिति निकै अनुकूल एवं सहज देखिन्छ तर राजनीतिमा सामान्यजस्तो देखिने अवस्था पनि कहिलेकाँही विकट परिस्थितिलाई निम्त्याउने गरेको तथा विकट परिस्थितिमा पार्टी नेतृत्व सम्हालेकाले पनि सहज अवस्थामा पार्टी हाँकेका उदाहरण छन् । नेपाली काँग्रेसको यस तेह्रौँ महाधिवेशनलाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ ।
झण्डै दुई दशकको अन्तरालपश्चात् पार्टीको नेतृत्व कोइराला परिवारभन्दा बाहिर गएको छ । यति मात्रै होइन पार्टी केन्द्रीय कार्यकारिणीमा पनि कोइराला परिवारको दबाब अथवा भूमिका अब विगतको जस्तोे छैन । किनभने पार्टी विधानअनुसार नवनिर्वाचित केन्द्रीय सदस्यद्वारा चयन गरिने पार्टीको उपसभापति महामन्त्री एवं सहमहामन्त्रीको एकएक पदमा पार्टी सभापति देउवाले मन पराएका नेता नै आउने निश्चित छन् । पार्टीको केन्द्रीय समितिमा पार्टी सभापति देउवा समर्थकहरू बहुमतमा छन् । नेपालका प्रायः सबै जसो राजनीतिक पार्टीको विधान अध्यक्षमुखी हुने गरेको कारण पार्टीका पदाधिकारीको भूमिका विना विभागीय मन्त्रीसरहको हुने गरेको छ । बी.पी.कोइरालाको पुत्र भएका नाताले डा. कोइराला महामन्त्रीको पदमा निर्वाचित हुन सफल हुनुभएको हो । तथापि डा.कोइरालाको विजयले पार्टीमा बी.पी.कोइरालाप्रति आस्था राख्ने एवं समर्थन जनाउनेको पङ्क्ति अहिले ठूलै रहेछ भने प्रस्ट हुन्छ । यो जित कोइराला परिवारको निम्ति सञ्जिवनी सावित हुन सक्छ । डा.शशाङ्क कोइराला परिवारको विरासतलाई पुनः सगौरव पुरानै अवस्थामा फर्काउने महत्ती दायित्व पति उनको काँधमा हुनेछ । पार्टी सभापतिको पदमा पराजित उम्मेदवार एवं बरिष्ठ नेता रामचन्द्र पौडेलले प्राप्त गरेका समर्थन र विश्वासलाई आफूतिर आकर्षित गर्न सक्ने क्षमता उनमा हुन सक्नुपर्छ होइन भने गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंह र सभापतिका एक अन्य पराजित उम्मेदवार कृष्णप्रसाद सिटौला यस दिशमा अगाडि बढ्ने निश्चित छ ।
हुन त काम गर्न सहज पार्टी सभापति देउवालाई पनि छैन । किनभने उपसभापति एवं महामन्त्रीको एकएक पदमा कसलाई मनोनित गर्ने भने विषयमा निर्णय लिनु साह्रै कठिन काम हुनेछ । खुमबहादुर खड्का के.बी.गुरुङ, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ फरमुल्लाह मन्सुर आदि नेताहरू उपरोक्त पदका स्वभाविक दाबेदार मानिन्छन् । खुमबहादुरले खड्का गत संविधान सभाको निर्वाचनमा हिन्दुत्वको मुद्दालाई चर्कोरूपमा उठाउनु भएको थियो । पार्टी सभापतिको निर्वाचनमा पनि उहाँको भूमिका निकै प्रभावकारी देखिएको थियो । पार्टी सभापति र उपसभापति दुवैको पदमा एकै जातिका नेता आसिन हुनु वर्तमानको सामाजिक सन्तुलनमुखी राजनीतिको निम्ति सकारात्मक सङ्केत पनि हुन सक्छ तर विगतमा पनि सुशील कोइराला, रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाले उपरोक्त महìवपूर्ण पदहरूको जिम्मेवारीलाई निर्वाह गरेको उदाहरण छदैछ तर खुमबहादुर खड्काको बाटोमा आउने सबैभन्दा ठूलो अवरोध भनेको उहाँप्रति लाग्ने आरोपमा हो ।
कथमकदाचित पार्टी सभापति देउवा यदि अर्कोबाट उपसभापतिको पदमा ल्याउने साहस गर्नुहुन्छ भने यो उहाँको तर्फबाटै मास्टर स्ट्रोक हुनेछ किनभने यसले एकातिर उहाँको निर्णयलाई सर्वत्र प्रशंसाको विषय बनाइदिनेछ साथै पार्टी एकताको निम्ति यो उचित सन्देश पनि हुन पुग्नेछ । अर्को तर्फ पौडेल समूहलाई कमजोर बनाउनमा पनि यसले ठूलो भूमिकाको निर्वाह गर्नेछ ।
नेपाली काँग्रेसको यस महाधिवेशनमा पनि पुराना नेता एवं अनुहार नै बढी सङ्ख्यामा निर्वाचित भएर आएका छन् । यद्यपि तकारानाथ रानाभाट चिरञ्जिवी वाग्ले रामकृष्ण ताम्राकार र लक्ष्मणप्रसाद घिमिरेजस्ता नेता भने पराजित नै भएका छन् । युवालाई नेतृत्वमा ल्याइनुपर्छ भने माँग चारैतिरबाट उठी रहेको भए पनि खुला तर्फको केन्द्रीय सदस्यको निर्वाचनमा नगण्य सङ्ख्यामा मात्रै युवाले जित्ने सकेका छन् । ने.वि.सङ्घ र तरुण दलका केन्द्रीय अध्यक्षहरू तथा युवा नेता गगन थापा पनि पराजित भए । खुलातर्फमा चार जना जनजाति र एक जना मधेसी नेता मात्रै जित्न सफल भए । केन्द्रीय सदस्यमा एक मात्र महिला सुजाता कोइराला चुनाव जित्नमा सफल भइन । कोषाध्यक्षको पद अवश्य पनि महिलाको हातमा गएको छ तर देशका राजनीतिक दलको आर्थिक कारोवार अपारदर्शी तरिकाको हुने गरेको तथा अध्यक्षको खल्तीबाट पार्टी चल्ने प्रथा रहेको हाम्रो देशमा महिला कोषाध्यक्षको पद पनि शृङ्गारिक नै सावित हुनेछ ।
प्रादेशिक तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य पदको निर्वाचनमा जातिवाद अथवा क्षेत्रगत भावनाको प्रभाव देखिएन । प्रदेश नम्बरबाट आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजालको निर्वाचन यसैको सङ्केत हो ।
महाधिवेशनको पूर्व सन्ध्यामा डा.शशाङ्क कोइरालाले सङ्घीयता धर्मनिरपेक्षता एवं गणतन्त्रको विषयमा पुनर्विचार गरिनुपर्ने सार्वजनिक वक्तव्य दिनुभएको थियो । यो वक्तव्य त्यतिबेला आएको थियो जतिबेला नेपाली काँग्रेसका नेताले संविधानसभाबाट जारी भएको संविधानको निम्ति सम्पूर्ण श्रेय आफूहरू एकलौटिरूपमा लिन अगाडि बढेका थिए र नयाँ संविधानको कार्यान्वयनको नेतृत्व पनि नेपाली काँग्रेसले नै लिनुपर्ने वकालत गरिरहेका थिए । हुन त उपरोक्त तीनवटै विषय कहिल्यै नेपाली काँग्रेसको आफ्नो एजेण्डा थिएन । केवल वाध्यातात्मक अवस्था तथा तीव्र गतिमा विकसित हुँदै गएको राजनीतिक घटनाक्रमका कारण मात्रै यसमा सहमति जनाउन वाध्य भएको हो । अब जवकि उपरोक्त तीनवटै विषय नयाँ संविधानको प्रमुख अङ्ग बन्न गएको छ यस्तो अवस्थामा कुनै पनि पार्टीका नेता अथवा सिङ्गो पार्टीले चाहेमा पनि यसमा पुनर्विचार गर्न सक्ने अवस्था रहेको देखिँदैन । तीनवटै ठूला दलले चाह्यो भने मात्रै यो सम्भव हुन सक्छ । यो तत्कालको निम्ति भने असम्भवजस्तै देखिन्छ ।
तराई मधेस नेपाली काँग्रेसको निम्ति आधार क्षेत्र रही आएको छ । आन्दोलन मात्रै होइन कि अहिलेसम्म भएका आम निर्वाचनमा पनि पार्टीले यस क्षेत्रबाट ठूलो सफलता हात पार्दै आएको छ । विगत सात आठ वर्षदेखि तराई मधेसमा सुरु भएको आन्दोलनका कारण पार्टीको लोकप्रियतामा कमी आएको विश्लेषण पार्टीका नेताको रहेको छ । यसपालि महाधिवेशनको तयारीका क्रममा भएको साङ्गठिक निर्वाचनमा पनि तराई मधेसमा त्यति बढी उत्साह नदेखिनुले पार्टीको नयाँ नेतृत्व समक्ष मधेसको सबालमा समयानुकूल नीति बनाएर अगाडि बढ्न चुनौती थपेको छ ।
नेपाली काँग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा विगतमा तीन पटकसम्म देशको प्रधानमन्त्रीको रूपमा काम गरिनु भएकोले हो । वर्तमानको व्यवस्थापिका संसद्मा सबैभन्दा ठूलो दल भएको नाताले सरकारको नेतृत्व आफ्नो पार्टीको हातमा हुनुपर्ने उनको चाहनालाई स्वभाविक नै मान्नु पर्छ । तत्काल सरकारको गठन र विघटनमा लाग्नुभन्दा पार्टीलाई एक ढिक्का राखेर बलियो बनाउनु देउवाको प्रमुख दायित्व हुनुपर्ने हो । आफ्नै कारणले सरकार ढल्छ भने उहाँको टिप्पणीले राजनीतिक कूटनीतिलाई सङ्केत गर्छ । यथार्थमा यसको अर्थ भनेको वर्तमान सरकारलाई अस्थिर बनाउनमा नेपाली काँग्रेसले पनि आफ्नो तर्फबाट सक्रिय भूमिकाको निर्वाह गर्ने सङ्केत हो । नेपाली काँग्रेसको नयाँ नेतृत्व समक्ष आन्तरिक र बाह्य चुनौती छन तर कुशल नेतृत्वको निम्ति यो कुनै ठूलो विषय होइन । नयाँ सभापति समक्ष चुनौतीहरू भने पुरानै छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना