ऋण लिएर घर बनाउँदै भूकम्पपीडित

नवलपरासी, चैत २७ गते । भूकम्प गएको झण्डै एक वर्ष पुग्न लाग्दा पनि नवलपरासीको पहाडी गाविसका झण्डै दुई सय घर अझै पुनः निर्माणको कुनै काम नहुने भएपछि यहाँका स्थानीय भूकम्पपीडितले आफैँ घर बनाउन थालेका छन् । 

गत वैशाख १२ गते गएको भूकम्पले नवलपरासीको पहाडी क्षेत्रमा मात्रै दुई सय घर पूर्णरूपमा क्षतविक्षत ढङ्गले भत्केका र हजारौँ घर चर्केर काम नलाग्ने अवस्थामा रहे पनि अहिलेसम्म राहतका नाममा पूर्ण क्षतिलाई १५ हजार र आंशिक क्षतिलाई तीन हजार रुपियाँ बाहेक त्यहाँका पीडितले सरकारी सहयोग केही पाउन सकेका छैनन् । अब वर्षा समय नजिक आउँदा पनि कुनै सहयोग पाउने छाँट नदेखेपछि आफैँ घर बनाउन बाध्य भएको डाँडाझेरीका स्थानीय भूकम्पपीडित रामचन्द्र रानाभाटले भन्नुभयो ।
सरकारीले ध्यान नै नदिएपछि वर्षा सुरु हुन दुई महिना मात्रै बाँकीछँदा यहाँका भूकम्पपीडितले आफ्नै जग्गा बेचेर, ऋण काढेर घर बनाउन थालेका बुलिङ्टार–६ पीपलछापका रामबहादुर मगरले गुनासो गर्नुभयो । भूकम्पले घर ध्वस्त भएको एक वर्ष हुन लाग्यो तर सरकारले बनाउन दुई लाख दिने भने पनि अहिलेसम्म नपाएपछि बाध्य भएरै बाँच्नका लागि आफैँ बनाउन थाल्यौंँ ।
पहाडी १३ गाविसमा रहेका भूकम्पपीडितको दुःखदायी अवस्थाप्रति सरकारी चासो नभएपछि यहाँका स्थानीय पीडितले आफैँ सरसापटी, ऋण खोजेर, साहुसँग सयकडा तीन रुपियाँमा ब्याजमा लिएर भए पनि घर बनाउन लागिपरेको कोटथरका स्थानीय रुम थापामगरले बताउनुभयो ।
यहाँका भूकम्पपीडित बासिन्दाका लागि सरकारी प्रयास शून्य रहेको र राहत वितरण भने केही हदसम्म निजी क्षेत्रले गरेर त्यहाँका बासिन्दाको पीडामा मलम लगाउने काम गरेको भन्दै त्यहाँका बासिन्दाले प्रशंसा गरेको कोटथर गाविसकी समाजसेवी मैना विश्वकर्माले बताउनुभयो । द्यौवादी, रुचाग, जौबारी, नरम, मिथुकरम, भारतीपुर, डेढगाउँ रतनपुर, कोटथर, डाँडाझेरी, बुलिङटार र अर्खलाका भूकम्पबाट आहत भएका घर परिवारलाई झण्डै २५ लाख बराबरको खाद्य सामग्री, लत्ताकपडा, वितरण गरिए पनि सरकारी प्रयास भने शून्य रहेको अर्खलाका भूपाल थापाले बताउनुभयो ।
भूकम्पले क्षतविक्षत बनाएपछि नजिकको बारीमा झण्डै एक वर्षदेखि पाल टाँगेर बस्न बाध्य कोटथरका भीमबहादुर सुरालीले जीवनमा पहिलोपटक यस्तो दुःख देखेको र सरकारी सहयोग भने केही नपाएकाले साहुसँग ब्याजमा पैसा लिएर घर बनाउन थालेको पीडा सुनाउँदै भन्नुभयो– सरकारको ध्यान गएन तर निजी क्षेत्रले भने राहत दिएर ठूलो काम गरेको छ ।
देवचुली नगरपालिकाको कीर्तिपुरमा क्षतविक्षत भएका ३५ घर परिवारसमेतले सरकारी राहत र दुई लाखसमेत अहिलेसम्म पाउनु त कता हो कता यहाँ कुनै निरीक्षण पनि नहुँदा उनीहरू आफैँ घर बनाउन लागिपरेको स्थानीय नौलासिंह मगरले बताउनुभयो ।
सरकारी ध्यान र चासो नपुगेको पहाडी १३ गाविसका घर पूर्णरूपमा क्षति भएका दुई सय घर परिवार नजिकको बारी, खेतमा पाल टाँगेर बस्न विवश भए पनि भूकम्पबाट पीडितले सरकारी प्रयास नपुगेकोमा दुःख व्यक्त गरेका छन् । आफैँ घर बनाउन लागिपरेका कोटथरका स्थानीयवासी बलबहादुर आलेले भन्नुभयो ।
गतवर्षको भूकम्पमा परी नवलपरासीमा घाँस दाउरा गर्न गएकी रुचाङ–२ की ५० वर्षीया सीतामाया सारुमगरकोे भूकम्पका कारण ज्यान गएको थियो भने भूकम्पका कारण जिल्लाका ५९ गाविस र छ नगरपालिकाका एक हजार दुई सय घर पूर्णरूपमा क्षति भएको र ती मध्ये पहाडी गाविसका धेरै घर पूर्णरूपमा क्षतिग्रस्त भएका थिए ।
कोटथर, रतनपुर, डाँडाझेरी, अर्खला, नरम, जौबारी, बुलिङटार, मिथकरम, रुचाङ, रकवा, डेढगाउँका अधिकांश घर क्षतिग्रस्त भएका छन् भने भूकम्पका कारण घर ध्वस्त भएका बासिन्दा अझै पनि घर नहुँदा चिन्तित बनेका र सरकारी आश मर्न थालेपछि आफैँ घर बनाउन बाध्य भएका बुलिङटारका शशिकिरण बस्ताकोटीले बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना