• ६ चैत २०८०, मङ्गलबार

पञ्चदान पर्वको हर्षोल्लास

blog

भक्तपुर, भदौ १० गते । पाँचवटा दीपङ्कर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराई बिहीबार भक्तपुरमा पञ्चदान पर्व मनाइएको छ। प्रत्येक वर्ष बौद्ध धर्मावलम्बी नेवारको ठूलो पर्व पञ्जरा अर्थात् पञ्चदान सांस्कृतिक उत्सवका रूपमा मनाउँछन्। 

बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन मनाइने पर्वका क्रममा भक्तपुर नगरको सूर्यमढीमा पाँचवटा दीपङ्कर बुद्धलाई भेला गराई नगर परिक्रमा गराउने परम्परा रहेको स्थानीय तथा महाकाली नाचका मूल नाइके तुलसीनारायण दण्डख्वाले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि नगरका पाँच छुट्टाछुट्टै स्थानमा राखिएका दीपङ्कर बुद्धलाई सूर्यमढीमा टोलस्थित डबलीमा बोकेर ल्याइने पनि जानकारी दिनुभयो। 

सूर्यमढी टोलस्थित आदिपद्म महाविहारमा मूल पुजारी (थाøपाजु)द्वारा पञ्चदान प्रारम्भ गरेपछि ती पाँच दीपङ्कर बुद्धलाई नगरका विभिन्न स्थानमा परिक्रमा गराइने दण्डख्वाले बताउनुभयो। नगरका विभिन्न टोल, चोकको ठाउँ–ठाउँमा स्वागत गर्ने, विराजमान गराई पूजा चढाउने, विशेष साङ्गीतिक बाजाको धुनमा नृत्य गराउने, स्त्रोत्रपाठ गरी परिक्रमा गर्ने गराइएको थियो। 

यस पर्वमा बौद्धमार्गीले आफ्नो वरपर रहेका विभिन्न विहार, बही, चोक र घरमा दानशाला बनाई अन्न, फलफूल र दक्षिणा दान दिन्छन्। बुद्ध धर्मका अनुयायी वज्राचार्य, बुद्धाचार्य, शाक्यलगायत अन्न, फलफूल र दक्षिणा दान लिन  परम्पराअनुसार पिण्डपात्र (गुलुपा) हातमा लिएर भिक्षाटनमा सहभागी हुने प्रचलन रहँदै आएको छ । भक्तपुरको पञ्चदानको प्रमुख विशेषता गुँलाबाजा बजाउनु रहेको भक्तपुर बौद्ध सम्पदा सङ्घका महेन्द्रराज शाक्य बताउनुभयो। उहाँ भन्नुहुन्छ, “बौद्धमार्गीका पञ्चदान पर्वमा मात्रै यो बाजा बजाइन्छ।”

बौद्धमार्गीले आफू बुद्धका अनुयायी भएका कारण आफूले आर्जन गरेको आयको केही अंश दानका लागि राख्ने र सोही दान पञ्चदान पर्वमा दान गर्ने प्रचलन रहँदै आएको उहाँको भनाइ छ। उहाँले नेपाल संवत् ७७५ मा मल्ल राजा नरेश मल्लको शासनकालमा जयदेव वज्राचार्यले पञ्चदान पर्व प्रचलनमा ल्याएको ऐतिहासिक प्रमाणमा उल्लेख रहेको बताउनुभयो। उहाँले नगर परिक्रमा गर्ने क्रममा हजारौँ नगरवासी सहभागी भएको प्रस्ट पार्दै भन्नुभयो, “दैनिक उपभोग्य वस्तु दान गर्ने परम्परा छ। धान, चामल, मकै, सानो केराउ, पैसालगायतका खाद्यान्न दान गर्ने गरिन्छ।” 

लोभलालच नराखी केही प्राप्त गर्ने मनसायले नभई शुद्ध मनले निःस्वार्थ रूपमा दान गर्दा पुण्य प्राप्त हुने विश्वासका साथ हजारौँ नगरवासी दानमा सहभागी भएको पनि शाक्यले जानकारी दिनुभयो। दण्डख्वाअनुसार यस पर्वको वास्तविक नाम पञ्जदान हो। पञ्ज संस्कृत शब्द हो। ‘प’ भनेको पृथ्वी हो भने ‘ज’ शब्दले उम्रिएको भन्ने जनाउँछ। पृथ्वीमा उम्रिएको वस्तु दान दिने पर्व भएकाले यसको नाम पञ्जदान रहेको उहाँले प्रस्ट पार्नुभयो। पर्व भक्तपुरमा फरक ढङ्गले मनाइने गरिन्छ। बौद्ध धर्ममा यो पर्व बुद्ध बोधिसत्वहरूको पूजा गर्ने र बुद्ध धर्ममा दीक्षित भएका सङ्घ सदस्यहरूलाई दान प्रदान गर्ने पर्वसँग सम्बन्धित छ। बौद्ध धर्मावलम्बी दीपङ्कर बुद्धलाई पञ्चदान गरिसकेपछि बालबालिकादेखि वृद्धवृद्धासमेत पञ्चदान भिक्षाग्रहण गर्न लामबद्ध भएर नगर परिक्रमा गरी भिक्षा ग्रहण गर्ने परम्परा छ। बौद्ध धर्मावलम्बीले यस दिन भिक्षा ग्रहण गर्नाले धन वृद्धि हुनुका साथै बुद्धत्व प्राप्त हुने जनविश्वास रहेको छ।