• ६ चैत २०८०, मङ्गलबार

ज्यान लिँदै र गुमाउँदै छाडा चौपाया

blog

धनगढी समाचारदाता

धनगढी, भदौ १० गते । धनगढीको छ लेन सडकमा सोमबार राति छाडा चौपायासँग मोटरसाइकल ठोक्कियो। राजपुर क्षेत्रमा भएको सो दुर्घटनामा एउटा गाईमात्रै मरेन, सवारीचालक धनगढी उपमहानगरपालिका–१३ हिमालीटोलका ३० वर्षीय गङ्गा बोगटीको पनि ज्यान गयो। अत्तरियाबाट धनगढीतर्फ आउनेक्रममा छ लेन सडकमा रहेका चौपायामाथि मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा परी गङ्गाकी श्रीमती सर्मिला राई घाइते हुनुभएको छ। 

गएको साउन १२ गते पनि छ लेन सडकको सोही स्थानमा त्यस्तै दुर्घटना भएको थियो। अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको मोटरसाइकल छाडा चौपायामा ठोक्किँदा पछाडि सवार धनगढी उपमहानगरपालिका–१ का ५५ वर्षीय निर्मल हमालको ज्यान गयो। मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ विशालनगरका ४४ वर्षीय वीरेन्द्र शर्मा घाइते हुनुभएको थियो। 

पछिल्लो एक महिनायता छाडा चौपायाका कारण भएका यी त केही प्रतिनिधि दुर्घटनामात्रै हुन्। सुदूरपश्चिम प्रदेशमा अहिले छाडा चौपायाले गर्दा सडक दुर्घटना विकराल बन्दै गएको छ। यो समस्या सबैभन्दा बढी तराईका जिल्ला कैलाली र कञ्चनपुरमा छ। छाडा चौपायाकै कारण सवारी दुर्घटना बढिरहेको छ। दुर्घटनामा मान्छेले ज्यान गुमाइरहेका छन्। साथै सवारीसाधनको ठक्करबाट छाडा चौपायाको मृत्यु हुनेक्रम पनि बढ्दो छ। क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत आर्थिक वर्षभरि छाडा चौपायाकै कारण कैलाली र कञ्चनपुरमा ३० वटा सडक दुर्घटना भए। जुन दुर्घटनामा दुई जनाको ज्यान गएको थियो। ३३ जना सवारीचालक र सवार व्यक्ति घाइते भए । 

सो आर्थिक वर्षभरि सवारीसाधनमा ठोक्किएका २५ छाडा चौपायाको ज्यान गएको थियो भने पाँच छाडा चौपाया घाइते भएका क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। चालू आर्थिक वर्षको हालसम्म छाडा चौपायाले गर्दा पाँचवटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ती दुर्घटनामा दुई जनाको ज्यान जानुका साथै पाँच जना घाइते भएका छन्। 

यसैगरी सवारीसाधनसँग ठोक्किएर आठ चौपाया मरेका छन्। तीन छाडा गाईगोरु घाइते भएका जनाइएको छ। सडक, खेत, वन क्षेत्रमा जथाभावी छोडिएका छाडा चौपाया किसानका लागि मात्रै नभई, ट्राफिक प्रहरी, स्थानीय तह सबैको टाउको दुखाइको विषय बनेका छन्। 

दूध दिँदा र हलो जोत्ने कार्यमा प्रयोग आउँदासम्म घरमा राख्ने तर दूध दिन र हलो जोत्न नसक्ने भएपछि जथाभावी गाईगोरु छाड्ने प्रवृत्तिले कैलाली, कञ्चनपुरमा छाडा चौपाया बढ्दै गएका छन्। राति राजमार्ग, चोक र सडक कब्जा गरेर बस्ने चौपाया दुर्घटनाको मुख्य कारक बनिरहेका छन्। राजमार्ग, सडक र सहरमा लस्करै देखिने छाडा चौपाया सडक दुर्घटना न्यूनीकरणमा ठूलो चुनौती बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वकिल सिंहको भनाइ छ। छाडा गाईगोरुका कारण दिनानुदिन दुर्घटना भइरहेको उहाँले बताउनुभयो। 

“छाडा चौपाया व्यवस्थापन नभएसम्म यो समस्या न्यूनीकरण हुँदैन,” उहाँले भन्नुभयो, “ट्राफिक प्रहरी एक्लै लागेरमात्रै दुर्घटना न्यूनीकरण हुँदैन। हामी सक्दो प्रयास गरिरहेका छौँ। तर नियम बनाउने, नियमन गर्ने सबै निकायसहित हरेक तह र तप्काबाट छाडा चौपाया व्यवस्थापन हुन जरुरी छ।’

मुलुक नयाँ संरचनामा गएपछि धेरै स्थानीय तह र जनप्रतिनिधिले छाडा चौपाया व्यवस्थापनलाई प्राथमिकतामा राखेका थिए। छाडा चौपाया व्यवस्थापनका लागि बर्सेनि करोडौँ बजेट पनि खर्च गरियो। तर समस्या समाधान हुनुको सट्टा झन् बल्झँदै गएको छ। एक ठाउँबाट मात्रै नभई, अन्य पालिका, जिल्ला र भारतबाट समेत छाडा चौपाया आउने कारणले व्यवस्थापन गर्न कठिन रहेको धनगढी उपमहानगरपालिकाका पशु शाखा प्रमुख समीर ठाकुर बताउनुहुन्छ। “छाडा चौपाया एक ठाउँको मात्रै नभई, देशकै ठूलो समस्या हो,” उहाँले भन्नुभयो, “भारतबाट समेत यतै छाडा गाईगोरु आउने कारणले व्यवस्थापन गर्न गाह्रो छ।”