• ६ चैत २०८०, मङ्गलबार

कोटवाडा विमानस्थलका सैँतीस वर्ष

म्याद थपका लागि ठेकेदारको दौडधुप

blog

प्रेमराज सिम्खडा 

कालीकोट, भदौ १० गते । कालीकोटको कोटवाडा विमानस्थलमा हवाईजहाज अवतरण होला त ? भनेर प्रश्न गर्नेले सैँतीस वर्ष बिताइसकेका छन्। सो विमानस्थल २०४२ साल जेठदेखि निर्माण थालिएको थियो।

सदरमुकाम मान्मदेखि पाँच घण्टा टाढाको दूरीमा रहेको कोटवाडा विमानस्थल निर्माणमा ३५ जना मजदुरले ज्यानसमेत गुमाइसकेका छन्। २०५८ सालको त्यो त्रासदी घटनामा धादिङको जोगीमाराका १७ जना मजदुरले ज्यान गुमाएका थिए। 

स्थानीय कृष्ण विष्टको घरमा बसेका ती मजदुरलाई सशस्त्र द्वन्द्वरत माओवादीको आशङ्कामा सेनाले कारबाही गरेको थियो। सो घटनामा छ महिनाको बालकसहित ३५ जनाले ज्यान गुमाएका थिए। ती मृतकको शवसमेत सेनाले बन्दै गरेको विमानस्थल क्षेत्रभित्रै गाडेका थिए।

नरहरिनाथ गाउँपालिकाका पूर्वउपाध्यक्ष मनशोभा बुढाले भन्नुभयो, “त्यो विमानस्थल बनाउने क्रममा निकै मजदुरले ज्यान गुमाए। विमानस्थल निर्माण अझै पूरा नहँुदा दुःख लाग्छ।”

सुनथराली विमानस्थल सरोकार समाजका संयोजक धनराज वास्तविकले कालीकोटवासीको सुविधाका लागि मात्र होइन विमानस्थलभित्र गाडिएका ३५ जना मजदुरको आत्माको शान्तिका लागि पनि चाँडोभन्दा चाँडो सञ्चालनमा आउनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “एउटा विमानस्थल बनाउन ३७ वर्ष समय लाग्नु लाजमर्दो विषय हो। विमानस्थल नहुँदा ३७ वर्षसम्म हामीले कति दुःख भोग्यौँ ?” विमानस्थलका अरू संरचना निर्माण सम्पन्न भए पनि कालोपत्रेको काम भने अझै सुरु भएको छैन। सम्झौताअनुसार अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण व्यवसायीले विमानस्थल कालोपत्रे सम्पन्न गरिसक्नुपर्ने हो। विमानस्थल कालोपत्रेको ठेक्का गौरी/पार्वती/ श्याम एन्ड शङ्कर जेभीले पाएको छ। ६९० मिटर लामो र ६० मिटर चौडाइको धावनमार्ग कालोपत्रे र नाली निमार्णका लागि निर्माण कम्पनीले १३ करोड ८१ लाख रुपैयाँमा ठेक्का पाएको थियो।  निर्माण कम्पनीका प्रतिनिधि कमल केसीले भौगोलिक विकटता र कोरोना महामारीका कारण तोकिएको समयमा काम सम्पन्न गर्न नसकेको दाबी गर्दै आउनुभएको छ। उहाँले भन्नुभयो, “सुरुका दुई वर्ष कोरोनाका कारण काम गर्न सकेनौँ। कालीकोटको पनि विकट ठाउँ र मौसमी प्रतिकूलताका कारण समस्या हुँदै आएको छ ।”

विमानस्थल निर्माणका लागि हालसम्म ३९ करोड रकम खर्च भइसकेको छ। उहाँका अनुसार नागरिक उड्डयन प्राधिकरणले म्याद थप्ने वित्तिकै काम सुरु गरिने छ। नाला निर्माण, माटो कटिङलगायतका काम सम्पन्न भएका छन्। अब कालोपत्रेको मात्रै काम बाँकी छ। म्याद थप भएपछि बाँकी काम सम्पन्न हुने उहाँको भनाइ छ।  

नागरिक उड्डयन प्राधिकरणले भवन र टावर निर्माणको काम पीआर इन्फ्रास्टक्चरलाई तीन करोड ४७ लाख रुपैयाँमा ठेक्का दिएको छ। भवन र टावर निर्माणको काम भने सम्पन्न भइसकेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले विमानस्थल निर्माणका बाँकी काम सम्पन्न भए पनि मुख्य काम भने बाँकी रहेको बताउनुभयो।