नावाकै नियममा चल्छ अझै खुम्जुङ गाउँ

सोलुखुम्बु,  चैत  २६ गते । बालीनाली जोगाउनका लागि नावा पद्धति प्रभावकारी भएको किसानले बताएका छन् । यो परम्परागत पद्धति रहेको किसानले बताएका छन् ।
 सोलुखुम्बुको चौँरीखर्क तथा नाम्चेबाट नावा पद्धति प्रायः हराइसकेको भएपनि खुम्जुङ गाविसको सबै गाउँमा भने यथावत् रहेको पाइन्छ । आलु र फापर मात्र उत्पादन हुने यस क्षेत्रको बालीनाली जोगाउने नावा पद्धति त्यस क्षेत्रको निकै पुरानो विधि अर्थात् शेर्पा संस्कृतिको नमुना हो ।

खुम्बु क्षेत्रमा पर्यटन व्यवसाय सुरु हुनुपूर्व पशुपालनको साथमा आलु र फापर उत्पादन गरेर जीविका चलाउँदै आएका त्यहाँका शेर्पाले गाईवस्तुबाट बालीनाली जोगाउन नावा पद्धति विकास गरेको र यो शेर्पा संस्कृतिको नमुना भएको स्थानीय अगुवा तेन्जिङ टासी शेर्पा बताउनुहुन्छ । बालीनाली जोगाउने मात्र नभई सारा गाउँ चलाउने जिम्मा नावाको हुन्छ । असार, साउन र भदौ तीन महिना नावाको सक्रियता बढी हुन्छ । प्रत्येक वैशाखमा गाउँले जम्मा भएर नावा चुन्छन् ।

गाउँ चलाउन चुनिएको नावाको पदावधि एक वर्षको हुन्छ । त्यस अवधिमा गाउँमा हुने सबै कामको नेतृत्व नावाले गर्नुपर्छ । गाउँमा नावा बन्नुलाई गौरवका रुपमा हेरिने हुनाले नावा बन्ने चाहना धेरैले राख्ने गरेका खुम्जुङ–९ फार्चेका पासाङनुरु शेर्पा बताउनुहुन्छ ।

नावाले बाली लगाएपछि वस्तुभाउलाई चरन भएको खर्कमा पठाउने र गाउँमा वस्तुभाउ फर्काउने समय तोक्ने काम गरेर वस्तुभाउबाट बालीनाली जोगाउने काम गर्छन् । नावाको कामबाट बालीनाली संरक्षणको साथमा चरिचरन व्यवस्थापन हुने तथा प्राकृतिक स्रोतसाधनको संरक्षणसमेत हुने खुम्जुङका तेन्जिङ टासी शेर्पाले बताउनुभयो ।

उहाँका अनुसार नावा गाउँलेको अधिकार प्राप्त व्यक्ति भएकाले उसले गरेको निर्णय हरेक गाउँलेले मान्नुपर्छ र अन्य समस्याका बारेमा पनि नावासँगै छलफल गरिन्छ । अहिले खुम्जुङ गाविसको ग्रिनभ्याली भनेर चिनिने खुम्जुङ, फोर्चे, खुन्दे, पाङबोचे, त्याङ्बोचेलगायतका गाउँमा यो प्रथा कायम छ ।

शेर्पा संस्कृतिका रुपमा रहेको यो पद्धतिलाई सगरमाथा राष्ट्रिय निकुञ्जले पनि मान्यता दिएको छ । नावासँग समेत नियमित छलफल गर्ने गरेको र नावाको समयअनुसार नै राष्ट्रिय निकुञ्जले समेत खर, मालिंगो तथा खर्क खुल्ला गर्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना