• ६ चैत २०८०, मङ्गलबार

अत्याधुनिक फलाम उद्योग सञ्चालन

blog

नवराज कट्टेल

विराटनगर, भदौ १० गते । सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा स्थापना भएको स्वस्तिक रोलिङ उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ ।  

दुहबी परास्टोकीमा १० बिघा क्षेत्रफलमा स्थापना भएको सो गोल्छा अर्गनाइजेसनका दुई घराना राजकुमार गोल्छा ग्रुप तथा हितेश–हिमांशु गोल्छाको हुलास स्टिल समूह र रमेश राठीको स्वस्तिक समूह, विराटनगरका युवा व्यवसायी जीवन रिजाल र इन्तकाब अहमद मियाँको साझेदार लगानीमा सो उद्योग स्थापना भएको हो । 

स्वस्तिकबाट व्यावसायिक उत्पादन सुरु भएको उद्योगका सञ्चालक रमेश राठीले जानकारी दिनुभयो । उद्योग विभागबाट नेपाल गुणस्तर चिह्न प्राप्त गरेर परीक्षण उत्पादनपछि व्यावसायिक उत्पादन थालिएको राठीले जानकारी दिनुभयो । 

उद्योगले ‘बजरङ्ग ब्रान्ड’मा टीएमटी छड, बिलेट, एङ्गल, च्यानल र आई बिमको उत्पादन सुरु गरेको हो । उद्योगमा दुई अर्बको फिक्स लगानी र ५० करोडको चालू पुँजीमा व्यावसायिक उत्पादन थालिएको छ । उद्योगको उत्पादन–क्षमता प्रतिदिन पाँच सय टन छ ।

उद्योगले टीएमटीको उत्पादन र बिक्री वितरणलाई बढी जोड दिइने भएको छ । उद्योगले सातदेखि ४० एमएमसम्मका टीएमटीको उत्पादन गर्दछ । सञ्चालकले नेपालमा सबैभन्दा नयाँ र अत्याधुनिक प्रविधिको उद्योग भएको दाबी गरेको छ । 

उद्योगले उत्पादन गरेको टीएमटीको ग्रिपिङ उच्चस्तर दाबी गरिएको छ । उद्योगका मुख्य कच्चा पदार्थमध्ये आइरन स्क्य्राप (फलामे पत्रु) नेपालमै उपलब्ध हुने भनाइ छ । स्पन्ज आइरन र पिग आइरन भने भारतबाट आयात गरिनेछ । स्वस्तिकले अन्य फलामे उद्योगलाई बिलेट बिक्री गर्नेछ । उद्योगको मुख्य बजार प्रदेश १ र मधेश प्रदेश हुनेछ । 

स्वस्तिक रोलिङले आफ्नै मेल्टिङ युनिटसमेत रहेको बताएको छ । दुई वर्षदेखि मुरारका समूहको पशुपति आइरनले मेल्टिङ युनिट सञ्चालनमा ल्याएको थियो । शारडा ग्रुप र एके राठी समूहको प्रिमियर स्टिल र राजलक्ष्मी गोल्छाको हुलास वायरले मेल्टिङ युनिट स्थापनाको काम गरिरहेको बताएका छन् ।