• ६ चैत २०८०, मङ्गलबार

टी–२० सिरिज : केन्यामाथि नेपालको सहज जित

blog

फाइल तस्बिर ।

काठमाडौं, भदौ ९ गते । नेपालले केन्याविरुद्धको टी–२० सिरिजमा सुखद सुरुवात गरेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली केन्यालाई पाँच विकेटले हरायो । केन्याले दिएको एक सय ३१ रनको विजय लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ३३ रन जोड्दै पूरा गरेको थियो । 

नेपालको सहज जितमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाउनुभयो । आरिफ शेखले अविजित २४, ज्ञानेन्द्र मल्लले २३, आसिफ शेखले १९ र रोहित पौडेलले १३ रन बनाउनुभयो । बलिङमा केन्याका लुकास ओलुओच र भिराज पटेलले दुई दुई तथा नेहिमिहाले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३० रन बनाएको थियो । केन्याका लागि इफरान करिमले सर्वाधिक ३४ रन बनाउनुभयो । लुकास अलुओचले ३१, नेल्सन ओढीयाम्बोले १९, सचिन भुडियाले १७ र कोलिन्स ओबुयाले १२ रन बनाउनुभयो ।

बलिङमा नेपालका तीव्र गतिका बलर सोमपाल कामीले तीन विकेट लिनुभयो । कप्तान सन्दीप लामिछानेले दुई तथा आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो । यससँगै नेपालका नवनियुक्त प्रशिक्षक मनोज प्रभाकरले पनि जितबाट नेपालको डेब्यु गर्नुभएको छ ।

पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपालले दोस्रो खेल शुक्रबार खेल्नेछ । नेपालले भदौं १२, १३ र १४ गते टी–२० खेल खेल्नेछ । त्यसपछि दुई टोलीबीच भदौ १७, १८ र २० गते एकदिवसीय सिरिज हुनेछ ।