नेपाली काँग्रेसमा सार्थक बहस

pradip nepalप्रदीप नेपाल

नेपाली काँग्रेसको महाधिवेशन खुमबहादुर खड्काका कारण विशेष चर्चामा रह्यो । अहिले सामाजिक सञ्जाल, बहसको केन्द्र बनेको छ । हानाहान, तानातान सबै त्यहीं भेटिन्छ । खुमबहादुर खड्काले दोस्रो मत ल्याएपछि मैले नै लेखेँ – म नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन सक्दिनँ । मेरा काँग्रेस मित्रहरूको प्रतिक्रिया फरक फरक रह्यो । तिनमा धेरैले लज्जाबोध गरे । केहीले राजनीति बिग्रियो भनेर चित्त बुझाए । केहीले तपाईंका नेताहरू पनि खुमबहादुरभन्दा कम भ्रष्टाचारी छैनन् भनेर आक्रोस पोखे । केहीले खुमबहादुर त भ्रष्टाचारको अभियोगमा जेल परेर, सजाय पूरा गरेर, शुद्ध भएर आएका हुन् भनेर लाज पचाउने कोसिस पनि गरे ।
यसैबीचमा स्वयं खुमबहादुर खड्काले – मैले वामदेव गौतमलाई पार्टी फुटाउन सहयोग गरेको हुँ भनेर नैतिक भ्रष्टाचारको अर्को रहस्योद्घाटन गर्नुभयो । यो कुबेलामा खड्काले किन ०५४ सालमा फुटेको नेकपा (एमाले) को जिम्मेवारी लिनुभएको हो, मैले जान्ने कुरा आएन ।
अघिल्लो हप्ता अकस्मात प्रकाश कोइरालाको अन्तर्वार्ता पढ्न पाइयो सामाजिक सञ्जालमै । उहाँले तीन कुरा उठाउनुभएको छ त्यहाँ । पहिलो, नेपालमा राजतन्त्र पुनर्वहाली हुन्छ । उहाँको भनाइअनुसार बुझ्ने हो भने, राजालाई लगाम लगाउन गाह्रो भएको हुनाले भारतले ०४६ मा बहुदल ल्याउन पार्टीहरूलाई सहयोग गरेको हो तर पार्टीबाट पनि भारतले बाञ्छित लाभ लिन सकेन । अब फेरि त्यसले राजतन्त्र पुनःस्थापनाको कार्ड खेल्नेछ । दोस्रो, भारत हिन्दु राज्यको माग गर्नेवाला छैन । तेस्रो अभियोग सबैभन्दा गम्भीर छ । उहाँले पार्टीको विनाशको कारण राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष रामशरण महत हुन् भनेर ठ्याङ्गै भनिदिनुभएको छ । उहाँले व्याख्या पनि गर्नुभएको छ – बीपी कोइरालाको समाजवादलाई तिरस्कार गरेर उदारीकरणको गलत बाटोमा लैजाने डाक्टर महतका कारण काँग्रेस कमजोर भयो, कम्युनिस्ट मौलाए ।
सामाजिक सञ्जालमा तेह्रौं महाधिवेशनले ‘कोइराला लिगेसी’ तोड्यो भनेर खुशी मनाएको पनि पढियो तर महाधिवेशनको परिणामले लिगेसीलाई झन बलियो बनाएको देखायो । विचारमा फरक फरक मान्यता राख्ने कोइराला परिवारका शशाङ्क, शेखर र सुजाता कोइरालाहरूलाई शक्तिशाली नेता बनाएर पार्टीको केन्द्रमा पठायो । काँग्रेसबाट नाम काटिएका प्रकाश कोइराला फेरि जागे ।
पाठकलाई झर्को लाग्न सक्छ यो खुनखोत्रो पढ्नुपर्दा तर यसले वर्तमान नेपालको राजनीतिको जटिलतालाई प्रकट गरेको छ ।
मैले खुमबहादुर खड्कालाई बधाइ दिन सकिनँ भनेर लेख्दा आफ्नो पार्टीको अनुहार पनि ऐनामा हेर्नुस् भन्ने प्रतिक्रिया दिनेको आसय म बुझ्छु । यो जवाफ एमालेमा पनि भ्रष्ट नेताहरू छन् र तिनीहरू पनि महाधिवेशनबाटै चुनिएर आएका हुन् भन्ने जनाउ दिने गरी आएको हो । यसप्रति मेरो कुनै टिप्पणी छैन । आरोपको भ्रष्टाचार र प्रमाणित भ्रष्टाचारको बीच पाटिन नसक्ने भेद हुन्छ तर भ्रष्टाचारको मामिलामा कसैलाई पनि छुट दिनु हुँदैन भन्नु राष्ट्रहितको पक्षमा उठाइएको आवाज हो यो भने ठीकै छ ।
हिन्दु राज्य वा हिन्दु राष्ट्र नेपाली राजनीतिको एउटा विवादित मुद्दा हो । हामीले लहडमा धर्म निरपेक्षताको पक्षपोषण गरेका होइनौँ । लोकतान्त्रिक गणतन्त्रको सार्वभौम सिद्धान्त भनेको नागरिक सर्वोच्चता हो । नागरिकको सम्प्रभुता हो । मदन भण्डारीको एउटा भनाइ यहाँ स्मरण गर्नुपर्छ । उहाँले भन्नुभएको थियो – ‘हिजो मुलुकको सम्प्रभुता राजामा निहित थियो । राजा हिन्दु भएको हुनाले राज्य पनि हिन्दु नै थियो तर अहिले मुलुकमा नागरिक सम्प्रभु भएका छन् । ती नागरिकहरू भिन्न धर्ममा विभाजित भएका छन् । यस्तो अवस्थामा कुनै एउटा धर्मलाई राज्यधर्म मानियो भने राज्यले नागरिक सम्प्रभुता स्वीकार नगरेको प्रमाणित हुन्छ । ’ यो संसदीय प्रजातन्त्रको बेलामै उहाँले भन्नुभएको हो । अहिले त गणतन्त्र भइसक्यो नेपाल । सबै धर्म र जातिका जनता यो लोकतान्त्रिक गणतन्त्र नेपालमा बराबर हक छ । सबैको सार्वभौमिकता बराबर छ । धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र भन्ने एउटा उट्पट्याङ अवधारणा पनि बजारमा आएको थियो । यो जनता ढाँट्ने नारा हो । यसको सार हुन्छ – हिन्दुहरू विशेष हुन्, अरु सबै दयाका पात्र हुन् । अर्को त्यस्तै बेकामे दाबी पनि सुनिन्छ घरिघरि – नब्बे प्रतिशत हिन्दु भएको मुलुकलाई हिन्दु राष्ट्र नभन्नु कहाँको न्याय
हो ? पहिलो त यहाँ नब्बे प्रतिशत हिन्दु छैनन् । एकासी प्रतिशत मात्र छन् । अनि गणतन्त्र नेपालको संविधानले एकासी प्रतिशतले बाँकी उन्नाइस प्रतिशतमाथि शासन गर्नुपर्छ भन्ने मान्यतालाई अस्वीकार गरेको छ । धार्मिक खरिद जस्ता अपराधलाई नेपालको संविधानले पक्षपोषण गरेको छैन ।
नाक लुकाउन राजनीतिक दलहरूले आपूmलाई एक अर्काबाट भिन्न देखाउने कोशिस गरेका छन् । यतिबेला सिद्धान्त मरेको राजनीतिको शिकार भएको छ हाम्रो देश । सबैभन्दा बढी विग्रिएको भनिएको काँग्रेसमा पनि समाजवाद समाप्त भएको छैन । उदारीकरणको विपक्षमा त्यहाँ पनि जनमत छ । ०५३ देखि कोमामा सुतेको नेकपा एमालेको जनताको बहुदलीय जनवाद ०७३ सालमा बौरिएको छ । कम्तीमा त्यसले जनताको बहुदलीय जनवादसम्बन्धी चर्चा आरम्भ गरेको छ । नेकपा एमाले, नेता होइन कार्यकर्ताको पार्टी हो । कार्यकर्ताले जनताको बहुदलीय जनवादलाई बिर्सिएका छैनन् । त्यसैले त्यसको समाजवाद यात्रा पनि निरन्तर हुने कुरो सुनिश्चित गर्न सकिन्छ ।
रह्यो एनेकपा (माओवादी)लगायतका अन्य कम्युनिस्ट पार्टीहरू । हामी त नौलो जनवादी हौँ भनेर अहिले जति ठूलो भेद देखाउन खोजिए पनि ती सबैको यात्रा समाजवाद नै हो । उसै पनि नौलो जनवाद पुँजीवादकै एउटा अंश हो । हामी अहिले त्यही पुँजीवादको अभ्यास गरिरहेका छौँ र यो अभ्यासमा अहिलेसम्म दलाल पुँजीवादले जितेको छ र राष्ट्रिय पुँजीवादले हारेको छ । यो हारलाई जितमा बदल्न शासनको लोकतान्त्रिक पद्दतिलाई सम्पूर्णतामा पार्टीका नेता, कार्यकर्ताले आत्मसात गर्नुपर्छ । पछिल्लो समयमा नेपालमा नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजवाद, कम्युनिस्ट पार्टीको समाजवादी प्रजातन्त्रबीचको मैत्रीपूर्ण अन्तरविरोध नै नेपाली समाजको प्रमुख अन्तरविरोध हुनेछ र लामो समयसम्म यो अवस्था रही रहनेछ ।
अरु सिद्धान्त नभएका र एक पार्टी एक संसदीय सिटवाला पार्टीहरू भविष्यमा क्रमशः तुरिंदै जानेछन् । कसैको दयाले अथवा कसैको टेकोपुँडोले तिनको अस्तित्व जोगिने छैन । जाति, धर्मजस्ता मुद्दा लिएर जन्मिएका पार्टीहरू एकाध पटक हुनहुनाएर आए पनि अन्तिम निष्कर्ष तिनीहरू कतै मिल्नेछन्, अथवा समाप्त हुनेछन् ।
हाम्रो आजको राजनीतिक समस्या सिद्धान्तको होइन, व्यवहारको हो । देश लोकतान्त्रिक गणतन्त्रमा गइसक्यो तर नेपालको एउटा पनि पार्टीले यो लोकतान्त्रिक अभ्यासलार्ई आफ्नो पार्टीमा छिर्न दिएको छैन । ठूला ठूलै छन्, साना सधैँभरि सानै रहिरहनु पर्छ भन्ने मान्यतामा बाँचेका छन् शीर्ष नेताहरू । यो तरिकाले चलेका पार्टीले मुलुकलाई कहिल्यै पनि लोकतान्त्रिक गणतन्त्रको उपहार दिन सक्दैनन् ।
त्यसैले, हामी व्यक्तिले आपूmलाई रूपान्तरण गर्नैपर्छ । नेताको काम भाषण गर्ने मात्र होइन, काम पनि गर्ने हो । पार्टीको अध्यक्ष÷सभापति अनि महासचिव÷महामन्त्रीको काम बेला बेलामा निर्देशन जारी गर्ने, भेलाहरूमा प्रमुख अतिथि भएर भाषण गर्ने होइन । सिङ्गो पार्टी पङ्क्तिलाई समाजवादी मार्गमा अग्रसर गराउने हो । पार्टी प्रमुख हुनु भनेको पार्टीको बडाहाकिम हुनु होइन । पार्टी सम्पूर्ण सदस्यहरूको विद्वान एवं विवेकी साथी हुनु हो । पार्टी पदाधिकारी हुनु भनेको पार्टीको सिद्धान्त र कार्यकर्ता नीतिमा महारथ हासिल गर्नु हो ।
गाह्रो छ यो काम तर असंभव छैन । हामी अहिले पनि देखिरहेका छौँ । समाजवादप्रति आस्था भएका राष्ट्रपति, प्रधानमन्त्री वा मुख्यमन्त्रीहरूको जीवन शैली । उनीहरू आफ्नो काम आफैँ गर्छन् । भारतजस्तो मारकाटको बाहुल्य भएको देशमा पनि त्रिपुराका मुख्यमन्त्रीले राज्यबाट कुनै अतिरिक्त सुविधा लिएका छैनन् । हाम्रो जस्तो गरिब मुलुकमा जहिले पनि ठूला मान्छेका लागि सुविधा बढाउने बहस चलिरहन्छ । राष्ट्रपतिले आफ्नो कार्यकालभरि पाएको सुविधालाई व्याज बनाउनु हुँदैन । राष्ट्रपतिको पदावधि सकिएपछि उनी नागरिक हुनुपर्छ । संसारका धेरै अनि धनी मुलुकमा पनि एकपल्ट राष्ट्रपति भएबापत कसैलाई पनि जीवनभरको भरणपोषणको खर्च राज्यले दिएको छैन ।
कार्यकर्तालाई सिकाएर आपूmलाई ठूलो बनाउने अहिलेसम्मको चलनलाई चट्टै बन्द गर्नुपर्छ । अधिकांश कार्यकर्ता नेताको व्यवहारबाट सिक्छन् । नेतामा ‘सादा जीवन उच्च विचार’ देखियो भने कार्यकर्ता स्वतः त्यो बाटोमा लाग्छन् ।
यो सत्यलाई समाजवादको लक्ष्यमा पुग्ने सपना सँगालेका पार्टीहरूले स्वीकार गरुन् । तदनुरूपको कार्य गरुन् । भ्रष्टाचारमा डामिएकालाई दण्ड दिने कुरामा नेताहरू पहिले सहमत होउन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना