• ६ चैत २०८०, मङ्गलबार

मोटरेवल पुल नहुँदा नागरिकलाई सास्ती

blog

सन्तोष सिग्देल

सिन्धुपाल्चोक, भदौ ९ गते । मेलम्ची नगरपालीका-१० का मनोज अधिकारीको दैनिकी व्यस्ततामै बित्नेगरेको छ । बिहानै उठेर फर्ममा पुगी कुखुरा तथा खसिको मासु तयार गर्नुपर्छ । दैनिक ३ सय किलोभन्दा बढी मासु उहाँले बेच्दै आउनुभएको छ । उहाँको घर मेलम्ची १० मा र पसल मेलम्ची ११ मा रहेको छ । उहाँले दैनिक बोकेर पसलसम्म मासु लग्ने गर्नुभएको छ । फर्मबाट बजारसम्म जाने एक मात्रै विकल्प हो झोलुङ्गे पुल । 

“दैनिक सामान बोकेरै ल्याउनुपर्ने बाध्यता छ । व्यवसाय नगरौं आम्दानीको स्रोत बन्द हुन्छ । गरौं पनि गाह्रो छ । झोलुङ्गे पुलमा गह्रौं सामान बोकेर आउन जान समस्या छ” उहाँले भन्नुभयो, “बिहान–बेलुका चाप धेरै हुँदा पुल धेरै हल्लिन्छ । हिड्न गाह्रो हुन्छ ।” 

मोटरेबल पुल नहुँदा बैकल्पिक रुपमा रहेको झोलुङ्गे पुलबाट आवात जावत गर्नुपर्ने समस्या रहेको छ । मेलम्ची नगरपालिकाका केही वडा र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकका लागि सो पुल मात्र विकल्प रहेको छ । गत असारमा आएको बाढीको वितण्डापछि नागरिकले अहीलेसम्म समस्या भोगिरहेका छन् । 

मेलम्ची बजारमा रहेको मोटरेवल पुल बगाएपछि बजार आउन झोलुङ्गे पुलबाट आउनुपर्छ कि बाहुनेपाटी हुँदै घुमेर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । पाँचपोखरी थाङ्गपाल गाउँपालिका वडा १ र २, मेलम्ची नगरपालिका वडा ७ र ८ का नागरिकका लागि गाडी प्रयोग गर्न भने हेलम्बु गाँउपालिकाको चनौटे पुगेर मेलम्ची आउनुपर्ने बाध्यता छ । हेलम्बु गाँउपालिकाको चनौटेमा बाढीले मोटरेबल पुल बगाएपछि नेपाली सेनाको सहयोगमा बेलीबृज निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।  

मेलम्ची १० का बिष्णुमणि भट्टराईको पनि समस्या उस्तै छ । उहाँले बाढी जानुभन्दाअघि ७ हजार कुखुरा हुर्काउन मिल्ने फार्म निर्माण गरी कुखुरा पाल्दै आउनुभएको थियो । “असार १ को बाढीले ३५ सय क्षमताको एउटा फार्म बगायो । अर्को फार्ममा रहेको कुखुरा पनि मुस्किलले बजारसम्म लगियो । घुमाउरो बाटो प्रयोग गर्दा गाडीभाडा पनि महँगो पर्छ । 

अघिल्लो बर्षको तुलनामा यो बर्ष व्यापार व्यवसाय पनि कम भएको मेलम्चीका व्यापारी दशरथ दनुवारले बताउनुभयो । बोकेर लान सक्ने सामानहरु पनि कमै मात्रामा बिक्री भइरहेको उहाँले बताउनुभयो । मोटर बाटो प्रयोग गर्दा घुमेर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता स्थानीयलाई छ । आकस्मिक सेवा लिनुपर्ने प्रकारका बिरामी र सुत्केरीलाई भने हेलीकप्टरमार्फत पनि सेवा दिँदैआएको हेलम्बु गाँउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।  

सिन्धुपाल्चोकको क्षेत्र २ को प्रमुख व्यापारिक केन्द्र समेत मेलम्ची हो । पाँचपोखरी थाङपाल गाउँपालिका, हेलम्बु गाउँपालिका र इन्द्रावति क्षेत्रका नागरिक मेलम्चीमा दैनिक उपभोग्य सामानदेखि निर्माणका सामानहरु समेत लिन आउनेगरेका थिए । पक्की पुल बाढीले बगाएपछि स्थानियलाई कठिन भएको छ ।