• ६ चैत २०८०, मङ्गलबार

गृहमन्त्री खाणसँग बेलायती राजदूत पोलिटको शिष्टाचार भेट

blog

गृहमन्त्री बालकृष्ण खाणसँग शिष्टाचार भेट गर्नुहुँदै बेलायती राजदूत निकोला क्याथरिन पोलिट । तस्बिर : गृह मन्त्रालय

काठमाडौं, भदौ ९ गते । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले शिष्टाचार भेटघाट गर्नुभएको छ । गृह मन्त्रालयमा बिहीबार भएको भेटमा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको छ। 

भेटमा गृहमन्त्री खाणले बेलायतको सहयोगमा सन् २०१४ देखि २०२१ सम्म सञ्चालन भएको सुरक्षा र न्याय सम्बन्धी सुरक्षा सुदृढीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्नुभयो। उक्त कार्यक्रम दोस्रो चरणका लागि कार्यान्वयनका लागि स्वीकृत भइसकेकाले उक्त सहयोग कार्यान्वयन गर्न समझदारी पत्रमा हस्ताक्षर गर्ने सम्बन्धमा भेटवार्ता भएको गृह मन्त्रालयले जनाएको छ। 

मन्त्री खाणले परियोजनाले पहिलो चरणमा सुरक्षा र न्यायमा जनताको पहुँच बढाउन, लैङ्गिक हिंसा रोक्न तथा प्रहरी र समुदायको सम्बन्ध थप बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

यसकै निरन्तरतास्वरुप परियोजनाको दोस्रो चरण लागू गर्न आवश्य समझदारी पत्रको मस्यौदामा नेपाल प्रहरीलाई धेरै भन्दा धेरै उपकरण र भौतिक संचरचनामा सहयोग गर्ने गरी पुनरवलोकन गर्न नेपाल सरकारले गरेको आग्रहलाई बेलायतले सकारात्मक रूपमा लिएकोमा मन्त्री खाणले राजदूतमार्फत बेलायत सरकारलाई धन्यवाद दिनुभएको छ। 

भेटमा बेलायती राजदूत पोलिटले नेपालमा सङ्क्रमणकालीन न्यायबारे चासो व्यक्त गर्नु भएको थियो। मन्त्री खाणले राजनीतिक द्वन्द्व व्यवस्थापनका लागि सरकार विभिन्न राजनीतिक समूह र विद्रोहीसँग गरिएका सहमति कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ। 

नेत्रविक्रम चन्द ‘विप्लव’, जनमत पार्टी र थारु कल्याणकारी सभासँग भएका सहमति कार्यान्वयनको चरणमा रहेको मन्त्री खाणले बताउनुभयो। 

सरकार दिगो शान्ति स्थापना, लोकतन्त्रको सुदृढीकरणका लागि विभिन्न राजनीतिक दलसँग सहमति गरिएको र त्यो सहमति कार्यान्वयनको चरणमा रहेको बताउनुभयो। नेपालको सङ्क्रमणकालीन अवस्थालाई निराकरण गर्न अन्तर्राष्ट्रिय नियोग र विदेशी समुदायले प्रदान गरेको सहयोगको लागि मन्त्री खाणले बेलायती राजदूतलाई धन्यवाद दिनुभएको छ।