• ६ चैत २०८०, मङ्गलबार

अवैध कब्जा हटाउन नगर समितिको अल्टिमेटम

blog

अवैध कब्जा रहेको कोहलपुर चौराहा क्षेत्र । तस्विर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, भदौ ९ गते । कोहलपुर नगरविकास समिति कोहलपुरले सडकपेटी, फुटपाथ र सम्झौता समय समाप्त भएका सबै स्थान तीन दिनभित्र हटाउन अल्टिमेटम दिएको छ । नगरविकास समितिले एक सूचना प्रकाशित गरेर यसअघि नगर विकास समितिको गत असार ३० गतेको बोर्ड बैठकबाट निर्णय भएअनुसार तत्काल सडकपेटी र फुटपाथमा बनाइएका सबै अवैध कब्जा हटाउने जानकारी गराएको थियो ।   

कोहलपुर नगर विकास समितिभित्र व्यवसाय सञ्चालन गर्दैआएका व्यावसायीलाई जग्गा, फुटपाथ सडकपेटी तथा खुला स्थान खाली गर्न तीन दिनको समय दिइएको कोहलपुर नगरविकास समितिका सदस्य सचिव टीकाराम ढकालले बताउनुभयो । 

उक्त अवधिभित्र पसल कब्जा जग्गा खाली नगरेमा समितिले स्वयम्ले खाली गराउने र खाली गर्दा लागेको खर्च समेत सम्बन्धित व्यक्ति संस्थाबाट सरकारी बाँकीसरह असूलउपर गर्ने सूचनामा उल्लेख गरिएको छ । 

कोहलपुर नगर विकास समितिले पटक पटक प्रयास गरेको भए पनि विभिन्न राजनीतिक दलहरुको आडमा धेरै जनाले सरकारी जमिन र संरचनामा कव्जा जमाउँदै आएका छन् । कोहलपुर बसपार्क र क्रिकेट मैदान, कोहलपुरका ठूला होटलले सडकपेटी कब्जा गरेका छन् । 

कोहलपुर नगरपालिका र नगर विकास समितिका अध्यक्ष पूर्णप्रसाद आचार्यले कोहलपुर नगर विकास समितिको नाममा रहेको जमिन कब्जा गर्ने अधिकार कसैलाई नभएको जनाउँदै अवैध कब्जा बलपूर्वक हटाइने निर्णय भएको र सोही बमोजिम गरिने बताउनुभयो । 

सरकारी जग्गामा अबदेखि कसैले पनि अवैध कब्जा गरेर व्यवसाय सञ्चालन गर्ने वा अन्य कुनै कार्य गर्न नपाउने पनि उहाँले बताउनुभयो ।