• ६ चैत २०८०, मङ्गलबार

पाँच सय ४६ खेलाडीको नाम दर्ता

blog

जिल्ला खेलकुद विकास समितिको कार्यालय गुल्मी । तस्बिर : गोरखापत्र

रमेश विश्वकर्मा

गुल्मी, भदौ ९ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्लास्तरीय छनोट प्रतियोगिताका लागि गुल्मीमा पाँच सय बढी खेलाडीले नाम दर्ता गराएका छन् । जिल्ला स्तरीय छनोट प्रतियोगिताका लागि यहाँ विभिन्न खेलका ५४६ जना खलाडीले नाम दर्ता गराएको जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिनुभयो । जसमा महिला १४३ र पुरुष ४०३ जना छन् । 

कार्यालय प्रमुख विश्वकर्माका अनुसार फुटबल खेलमा महिला २६, पुरुष ५२, भलिबल खेलमा महिला २४, पुरुष ७८, क्रिकेट खेलमा पुरुष ५६, एथलेटिक्स खेलमा महिला महिला १२, पुरुष ४९, ब्याडमिन्टन खेलमा महिला ७, पुरुष २२, वक्सिङ्ग खेलमा पुरुष १०, कराँते खेलमा महिला १३, पुरुष २२, लनटेनिस महिला १, पुरुष १ जनाले दर्ता गरेका छन् । 

त्यस्तै, डब्लुटिएफ तेक्वान्दो खेलमा महिला २०, पुरुष २३, आइटिएफ तेक्वान्दो महिला १४, पुरुष २२, बास्केटबल खेलमा परुष ८, बुद्धिचाल खेलमा पुरुष ३, कबड्डी महिला ११, पुरुष ३०, खोखो महिला १५, पुरुष १५, सुटिङ खेलमा पुरुष २, शारीरिक सुगठन खेलमा पुरुष २, टेबलटेनिस पुरुष ६, रब्बी पुरुष २ जना जनाले दर्ता गरेका हुन् । 

गण्डकी प्रदेशको पोखरामा आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जिल्लाबाट खेलाडीहरु सहभागी गराउने उदेश्यले जिल्लास्तरीय छनोट प्रतियोगितालाई प्रभावकारी बनाउन पालिकका स्तरमा समेत पुगिएको जिल्ला खेलकुद विकास समिति गुल्मीका उपाध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो । 

जिल्लास्तरीय छनोट प्रतियोगिता तयारीका लागि अनुमानित खर्च विवरणसहितको प्रस्तावना पालिकामा पेश गरिएको हो । जिल्लास्तरीय छनोट प्रतियोगितामा सहभागी भई छनोट भएका खेलाडीहरुलाई समयानुकुल बन्द प्रशिक्षणको व्यवस्था मिलाउने बताइएको छ ।

जिल्लास्तरीय छनोट प्रतियोगिता यही भदौ ११ गतेदेखि १७ गतेसम्म तम्घासमा हुने जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष गिरीप्रसाद महाकिमले जानकारी दिनुभयो ।