• ६ चैत २०८०, मङ्गलबार

भुटानको महिला फुटबल टोली काठमाडौंमा

blog

काठमाडौं आईपुगेको भुटानी महिला टोली । तस्बिर सौजन्य : एन्फा

काठमाडौं, भदौ ९ गते । भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन भुटानको महिला राष्ट्रिय फुटबल टोली बिहीबार काठमाडौं आइपुगेको छ ।

काठमाडौंको मौसमसँग घुलमिल हुन र थप तयारीका लागि भुटानी महिला टोली दुई साता अघि नै काठमाडौं आएको हो । भुटानी टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए । दशरथ रङ्गशालामा सञ्चालन हुने साफमा ६ टोलीको सहभागिता रहनेछ । यसअघि साविक विजेता भारतसहित सात टोलीको सहभागिता तय भएको थियो ।

तर विश्व फुटबल महासङ्घ (फिफ) ले अखिल भारत फुटबल महासङ्घ (आइएफएफए)लाई निलम्बन गरेपछि भारतको सहभागिता अनिश्चित बनेको हो । साफमा भुटान समूह ‘बी’ मा  छ । यस समूहमा आयोजक नेपाल र श्रीलङ्का छ । यस्तै समूह ‘ए’ मा बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स छन् ।

लिग कम नकआउटमा आधारमा खेलाइने साफमा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । यसअघि विराटनगरका भएको अघिल्लो संस्करणको फाइनलमा भारत च्याम्पियन बनेको थियो ।

फाइनलमा भारतले नेपाललाई हराएको थियो । साफका लागि नेपालले पनि तयारी गरिरहेको छ । नेपाली टोलीका ३५ खेलाडीले अहिले बन्द प्रशिक्षण गरिरहेका छन् ।