• ६ चैत २०८०, मङ्गलबार

प्रहरी कार्यालय सुविधासम्पन्न बन्दै

blog

मकवानपुर समाचारदाता

हेटौँडा, भदौ ९ गते । भौतिक संरचना र सुविधाका दृष्टिले कमजोर रहेका बागमती प्रदेशका प्रहरी इकाइहरूले पछिल्लो समय सुविधासम्पन्न पूर्वाधार पाएका छन् ।

बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा रहेका प्रहरी इकाइका लागि सुविधासम्पन्न भौतिक पूर्वाधार बनाउने नीति लिएसँगै प्रहरी इकाइको भवनलगायतका भौतिक संरचना निर्माण भएको हो । सङ्घीय सरकारमातहत रहेका प्रहरी इकाइहरूको भौतिक संरचना निर्माण र सवारीसाधन खरिदमा प्रदेश सरकारले खर्च गरेको भन्दै प्रश्न उठाइँदै आए पनि प्रदेश सरकारले प्रहरी इकाइहरूलाई सुविधासम्पन्न बनाउन कार्यक्रम र बजेटलाई निरन्तरता दिँदै आएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेक बागमती प्रदेशका १० जिल्लामा हालसम्म ४४ वटा प्रहरी इकाइको सुविधासम्पन्न भवन निर्माण भइसकेको छ । नागरिकको शान्ति सुरक्षा दिने, सरकारको काम र सम्पत्ति संरक्षण गर्ने प्रहरी टिनको पाताले बेरेको, खरले छाएको र सुकुम्बासीको जस्तै दुरावस्थामा बसेर प्रहरीले सेवा दिइरहेको पाइएपछि प्रदेश सरकारले प्रहरी भवन निर्माण सुरु गरेको थियो ।

मन्त्रालयका सूचना अधिकारी ज्ञानदीप राईले गत आर्थिक वर्ष २०७८÷७९ सम्ममा ४४ वटा भवन निर्माण सम्पन्न भएको र दुई भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार सिन्धुपाल्चोकमा निर्माण सम्पन्न भएको एउटा प्रहरी चौकी भवन भने गत वर्षको बाढीले बगाएको थियो । पहिलो चरणमा प्रदेशका विभिन्न जिल्लामा ४६ वटा 

प्रहरी चौकी निर्माण गर्ने योजना बनाइएकोमा रसुवा जिल्लाको प्रहरी चौकी हाकु र प्रहरी चौकी पारच्याङ निर्माणको अन्तिम चरणमा रहेको हो । प्रदेश सरकारको लगानीमा हालसम्म सबैभन्दा बढी काभ्रेमा आठ र सिन्धुपाल्चोकमा सबैभन्दा कम तीनवटा प्रहरी चौकी निर्माण सम्पन्न भएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेश सरकारमा प्रवक्ता कृष्णप्रसाद शर्मा खनालले भौतिक संरचना अभावमा प्रहरी सङ्गठनलाई काम गर्न समस्या भएकाले प्रहरी इकाइ भवन निर्माण सहयोग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीलाई भौतिक संरचना एवं साधन र स्रोत अभाव हुन नदिन अभियानका रूपमा भवन निर्माण र सवारीसाधन उपलब्ध गराइएको हो ।”

यस्तै प्रदेश सरकारको लगानीमा बहुवर्षीय योजनाअन्तर्गत २१ वटा प्रहरी भवन निर्माणाधीन रहेको छ । मकवानपुरमा बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय, बागमती प्रदेश ब्यान्ड गुल्मसहित पाँचवटा, रामेछापमा तीनवटा, काभ्रे, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट र चितवनमा दुई–दुईवटा तथा धादिङ जिल्लामा एउटा प्रहरी भवन निर्माण हुनेछ । बहुवर्षीय योजनाअन्तर्गत निर्माणाधीन २१ वटा प्रहरी भवन निर्माण लागत ८६ करोड ३९ लाख ४२ हजार ३११ रुपियाँ रहेको छ ।